१९ पुष २०८२, आइतबार
04-01-2026 , Sun
×

जनकपुरका मतदाता भन्छन्– मत होइन, मन जित्ने मेयर चाहियो

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९

कमलेश ठाकुर
जनकपुरधाम,१९ बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । उमेदवारहरूको प्रचार प्रसार तीव्र छ । घरदैलोमा नेता कार्यकर्ताको दौडधुप पनि उस्तै छ । मतदाता रिझाउँने गतिविधिहरू पनि व्यापक रूपमा भइरहेको छ । मधेश आन्दोलनको विगुल फुक्ने सहरले कस्तो नेतृत्व पाउला ? आकलन सुरु भइसकेको छ । यसपाली जनकपुरधामको मतदाता भने केही सचेत देखिएका छन् । जनमुखी मेयरको खोजीमा छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीका श्याम साहले गत चुनावमा नगरवासी अभिभावको चयनमा चुकेको बताउँछन् । यसपाली जनता केही जागरुक र अनुभवी भएकाले योग्य उमेदवार चयन गर्ने उनको विश्लेषण छ । “पछिल्लो चुनावबाट अधिकांश अयोग्य उेमदवार निर्वाचित भएका थिए,” उनले भने, “जनतालाई धेरै कुरा थाहा पनि थिएन । तर यसपाली जनप्रतिनिधिले दिएको दुःख र काम गराउँदा हुने समस्याको अनुभव पनि छ, जनतासँग ।” सोही वस्तीका ३४ वर्षीया रिना देवी राउत छोराछोरी पढेको नीजि शैक्षिक संस्थाको शुल्क र्तिदार्तिदै दिक्क छिन् । उनले शिक्षामा सुधार गर्ने मेयरलाई मतदान गर्ने बताउँछिन् ।

जनकपुरधाम उपमहानगरपालिका पुलचोकस्थित मुसहर वस्तीका मतदाता पनि सचेत देखिएका छन् । उनीहरू यसपाली पैसा दिनेभन्दा गरिबको सुख दुःखमा साथ दिने नेता खोजिरहेका छन् ।नेताहरूले एक दिन पैसा दिएर पाँच वर्ष पैसा असुल्ने गरेको ४४ वर्षीया घुरनी देवीले आरोप लगाइन् । “नेताहरू घरदैलोमा आउँदा एकदिन पैसा दिन्छन् । पछि जनताले काम लिएर जाँदा विभिन्न बहाना बनाएर पैसा असुल्छन्,” उनले भनिन्, “यसपाली विकास गर्ने, घर बनाइदिने र हाम्रो छोराछोरी पढाउने व्यक्तिलाई भोट दिन्छु ।” उनले नेताहरूले मत जित्न अनेकन आश्वासन बाँडेको बताएपनि आश्वासनको मुद्दा र उमेदवारको बारेमा खुलाउन चाहिनन् ।

जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरकी भिखारी देवीले पनि मत जित्नेलाई नभइ मन जित्ने उमेदवारलाई जिताउने बताउँछिन् । गएको साउनमा हवाहुरीले उनको घर उडाएपनि उनले राहत नपाएको दुखेसो पोखिन् । “पटक पटक वडाध्यक्षलाई ध्यानाकर्षण गरायौँ । घरमा आएर लेखेर पनि जानुभयो । तर खोइ मैले केही पाइन,” उनले भनिन्, “अझै भत्किएको घरमै बसिरहेको छु ।” दैनिक मजदुरी गरेर बनाएको घर भत्किएपछि पैसा अभावमा घर बनाउन नसकेको उनले बताइन् । करिब तीन लाखको समान घर भत्केर नष्ट भएको थियो ।

कसको नेतृत्वा आउला ?

जनकपुरधाममा एक सय २७ पदको लागि एक हजार ८२ जनाले उमेदवारी दिएका छन् । मेयरमा ३९ र उपमेयर २७ जना प्रतिस्पर्धामा छन् । २५ वडाको अध्यक्षको लागि तीन सय २३ जना र एक सय वडासदस्यको लागि ६ सय ८९ जना उमेदवारी दिएका छन् ।

पार्टीभित्र अकांक्षी धेरै भएपछि व्यवस्थापन हुन नसक्दा दलभन्दा बढी स्वतन्त्र उमेदवारी परेको छ । यस्तो अवस्थामा जनकपुरधामले कस्तो नेतृत्व पाउला भनी आकलन गर्न कठिन छ ।

यद्यपि, गत चुनावी प्रतिस्पर्धालाई हेर्ने हो भने जनकपुरधाममा मेयर/उपमेयरसहित १२ वडाध्यक्ष जितेको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) विलीन भइसकेको छ । पुर्व राजपाका नेताहरू अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरी चुनावी मैदानमा छन् ।

लोसपाका केही नेताहरू तीन टुक्रामा विभाजित भएका छन् । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपाबाट नगरप्रमुखमा निर्वाचित लालकिशोर साह अहिले जनता समाजवादी पार्टी (जसपा)मा छन् । ०७४ को निर्वाचनमा उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज साहभन्दा दोब्बर बढी मतले विजय भएका थिए ।

साह नहुँदा लोसपालाई असर गर्ने नेताहरूको विश्लेषण छ । जनकपुरका केही परिचित अनुहारहरू पनि लोसपाबाट अलग्गिएर तमलोपा गठन गरि चुनावी प्रतिस्पर्धामा छन् । यो अवस्थामा लोसपा निकै कमजोर रहेको धेरैको बुझाइ छ ।

सत्तारुढ दलले गठबन्धन गरेर उमेदवार उठाएपनि जनकपुरमा त्यसको पालना नहुने आशंका गरिएको छ । जनकपुरको मेयर जसपालाई दिने निर्णय भएपछि नेपाली काँग्रेसका नगर सभापति मनोज साह पार्टी त्याग गरी स्वतन्त्र उमेदवारी दिएका छन् । सत्तागठबन्धनबाट उमेदवारी दिएका लालकिसोर साहको कार्यकाल धेरै आलोचित र विवादै विवादामा बितेको अवस्थामा बागी उमेदवार साहले काँग्रेसीको साथ पाउने सम्भावना बढी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]