२३ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

धनुषाको विदेहका निर्वाचित मेयर र उपमेयरले जब प्रतिद्वन्द्वीलाई अंगालो हाले

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ जेष्ठ ।तरार्ईमधेसको चुनावी प्रतिस्पर्धा मित्रवत् हुँदैन । प्रतिस्पर्धीहरूका बीच एकअर्कालाई सत्तोसराप गर्ने, इज्जतप्रतिष्ठा खुइल्याउने र जिउज्यानलाई घात पुर्याउनेसम्मका काम सामान्य कुरा हो । तर, मंगलबार धनुषाको विदेह नगरपालिकामा अचम्मपर्ने खालको अनाठो दृश्य देखियो ।

मेयर पदमा दोहोरिएका ५० वर्षीय बेचनदास तत्माले ३७ वर्षका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का राजकिशोर रोहिता यादवलाई सम्मान गरे । अंगालो हाले । विजयोत्सव मनाउन तत्मालाई पर्खिरहेका हजारौंको भिडमा पुग्नुअघि उनले यादवका कानमा सानो स्वरमा भने, ‘चुनाव न हो । कोही जित्छन् र केही हार्छन् । तर, यो जित तपाईंकै हो । हामी दुवैका उद्देश्य समान छन् । जनताका हितमा हातेमालो गरौंला ।’

तत्माका कुरा सुनेर पराजयपछि निराश र चिन्तित बनेका यादवको मुहारमा अलिकबेर मुस्कान आयो । र, उनले पनि विदेहवासीका पक्षमा जुटेरै काम गर्ने प्रतिबद्धता जनाए ।

यादव तत्माका निकटतम प्रतिद्वन्द्वीमात्र होइनन् । कुनैबेला सँगै काम गरेका सहयात्री पनि हुन् । नगरपालिका नेतृत्वमा फेरबदल भएको भए आशलाग्दा मेयर पदका उम्मेदवार पनि । चुनावी पण्डितहरूले अन्तिम समयसम्म यादवले जित्ने अनुमान गरेका थिए । तर, जनादेश भने अघिल्लो कार्यकालका मेयर तत्माकै पक्षमा गयो ।

दलित समुदायका तत्मा पनि एमालेको किल्ला भत्कन दिएनन् । विदेह नगरपालिकामा यसपालि उम्मेदवार परिवर्तन गर्ने एमालेका केही नेताका दबाबलाई अस्वीकार गर्दै तत्मालाई नै उम्मेदवार बनाउने वातावरण बनाएका एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झा सुरजको विश्वास र भरोसालाई उनले कायम राखे ।

अघिल्लो कार्यकालमा दलित सामन्तीका रूपमा दोखबात लागेका तत्माले प्रतिस्पर्धीलाई अंगालो हालेर सबैलाई विश्वासमा लिएर अघि बढ्ने सुरुवात गरेको टिप्पणी स्थानीयले गरेका छन् । तत्माले प्रशोधक डटकमसँग भने, ‘म नगरवासीका हितमा सबै राजनीतिक शक्तिलाई समेटेर जान चाहन्छु ।’

मेयरमा निर्वाचित तत्माले मात्र होइन, उपमेयरमा जितेकी ५१ वर्षीया आशादेवी झाले पनि असल संस्कार र व्यवहार प्रदर्शन गरिन् । उनले पनि आफ्ना निकटतम प्रतिद्वन्द्वी २५ वर्षीया संजना अधिकारीसँग घाँटी जोडिन् ।

स्थानीय पत्रकार विपिन यादवले भने, ‘उमेरले जेठा विजितहरूले कान्छा प्रतिद्वन्द्वीहरूलाई गरेको यो व्यवहार अनुकरणीय छ । यसले विदेहको भविष्य एक्यबद्ध भएर कोर्ने बाटो खुलेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]