१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

काठमाडौंको मेयरमा बालेनको जित सुनिश्चित हुँदा पुर्ख्यौली गाउँ महोत्तरीमा खुसीयाली

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

किरण कर्ण
जनकपुरधाम,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् ।

मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगर प्रमुखमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् ।

बालेनको पुर्ख्यौली घरमा अहिले एकडारा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । उनीहरु गाउँमा आउँदा आफन्तको घरमा बस्ने गर्दछन् । पहिलो पटक मधेसको एउटा ठिटो काठमाडौं महानगरपालिकाको प्रमुखमा दोब्बर मतले अगाडि रहँदा एकडाराका बासिन्दा गद्गद् छन् ।

बालेन निर्वाचित भएपछि उनलाई सम्मान र बधाई ज्ञापन गर्नकै लागि भए पनि यहाँका युवाहरु काठमाडौं जाने योजना बुनिरहेका छन् ।​ बालेनका हजुरबुबा मुनिलाल साह यो गाउँका जमिनदार मानिन्थे । मुनिलालका छोरा डा.रामनारायण साह करिब चार दशक अघि नै काठमाडौंको सिंहदरबारस्थित आयूर्वेद औषधालयमा चिकित्सको रुपमा काम गर्न गएका थिए । त्यही बेलादेखि उनी काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

उनले त्यहीँ विवाह गरे । रामनारायणका दुई छोरा जन्मिए । जसमध्ये जेठो कौशलेन्द्र साह र कान्छो बालेन्द्र साह हुन् । एकडारा गाउँमा बस्दै आएका बद्रीनारायण साह नाताले बालेनका हजुरबुबा पर्दछन् । बालेन काठमाडौं महानगरको प्रमुखमा जित उन्मुख भएको सुनेपछि आफूमा एक किसिमको कौतुहलता जागेको बद्रीनारायण बताउँछन् ।

स्थानीयवासी सुजित कुमार यादवले बालेन साहले काठमाडौं महानगरको प्रमुखमा फराकिलो अग्रता बनाएकोमा आफूहरुलाई खुसी लागेको बताए । उनका अनुसार बालेनको परिवार जमिनदार भएकाले विगतमा गाउँका थुप्रै गरिबलाई आफ्नो जमिनमा बसोबास गर्न दिएको, गाउँमा बजार लगाउनका लागि जग्गा दिएको र गाउँघरमा हुने सामाजिक कार्यहरुमा समेत अग्रसरता लिने गरेको छ ।

उनले भने, ‘बालेनको घरपरिवारले यो गाउँमा धेरै गुन लगाएको छ, यो गाउँसमाजमा उहाँहरुको धेरै योगदान छ ।’ स्थानीयवासी राजकुमार यादवले पनि बालेन काठमाडौं महानगरको प्रमुखमा विजयउन्मुख हुँदै गएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै मोहम्मद इमुमामुदिन राइनले भने अहिलेसम्म बालेनलाई प्रत्यक्ष रुपमा नदेखेको बताए । यद्यपि उनको चर्चा गाउँमा दिनहुँ हुने गरेको उनी बताउँछन् । उनले काठमाडौं महानगरको मतगणना सम्पन्न भएपछि बालेनको भव्यरुपमा सम्मान गर्न, स्वागत गर्न र बधाई ज्ञापन गर्न आफू लगायत गाउँका धेरै जना काठमाडौं जाने तयारीमा रहेको बताए ।​ कुरेशा खातुनले पनि बालेन विजयी भएको खबर सुन्न आफूहरु आतुर रहेको बताइन् ।साभारः राटोपाती

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]