३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

जयनगर–कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तार हुँदै

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,५ साउन।
भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको हाे ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको जानकारी दिए । उनले भने, “कुर्थादेखि १७.५ किलोमिटर रेल सञ्चालनका लागि लिक (पटरी) हल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल र भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी हुँदैछ ।” यद्यपि थप सेवा उद्घाटनको मिति भने टुङ्गो नलागेको उनले बताए ।

उनले यसअघि कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरिनुपर्ने भएकाले त्यो प्रक्रिया पनि अगाडि बढिसकेको बताए । महाप्रबन्धक झाले भारतीय इर्कन कम्पनीले करिब तीन करोड लागतमा बिजलपुरा खण्डको रेल मार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको जानकारी दिए । यस मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने उनले जानकारी दिए ।

“नेपाल सरकारले बिजलपुरादेखि बर्दिवाससम्म रेलको लिकसहित भौतिक पूर्वाधार संरचनाका लागि जग्गा हस्तान्तरण गरेपछि तुरुन्त काम सुरु हुन्छ”, महाप्रबन्धक झाले भने, “यस खण्डमा जग्गाको मुआब्जाको विषयमा पनि टुङ्गो लागिसकेकोले अब तुरुन्त निर्माण काम सुरु हुन्छ ।” सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो । भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएको भारतीय इर्कन इन्टरनेसनल कम्पनीले निर्माण थालेको थियो । जयनगरदेखि बर्दिवाससम्म ७० किलोमिटर छ ।

गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जयनगर–जनकपुर कुर्था रेल सेवाको भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । त्यस दिनदेखि जयनगर–जनकपुर कुर्थासम्म ३४.९ किलोमिटर नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा ५२.४ किलोमिटर हुनेछ ।

बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेल सञ्चालनको भौतिक पूर्वाधार र लिक निर्माणको काम बाँकी छ । यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७.५ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजनाअन्तर्गत सो कार्य भएको हो ।

बिजलपुरासम्म रेल सेवा विस्तारको लागि महाप्रबन्ध झाको नेतृत्वमा सशस्त्र प्रहरी प्रमुखसहित टोलीले निरीक्षण गरेको थाहा पाएपछि त्यस भेगका लोहारपट्टी, बलवा, भङ्गाहा, पिपरा क्षेत्रका स्थानीयवासीमा खुसीयाली छाएको छ । रेल सेवाले आफ्ना सेवा विस्तार गरेर बिजलपुरासम्म पु¥याउने भएपछि त्यस त्यसक्षेत्रका जनतामा खुसीयाली छाएको छ ।

उक्त क्षेत्रका कृषि उपज सोझै जनकपुरधामका साथै भारतीय बजारसम्म पु¥याउन सकिने आश जागेको किसान बताउँछन् । विसं १९९४ जुद्धशम्शेरका पालामा सुरु भएको न्यारोगेजको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो र पछि उक्त सेवा पनि बन्द भएको थियो ।

भारत सरकारको सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेलवे विस्तारको सन् २०१९ भित्रै रेल सञ्जाल विस्तारको निर्माण काम सम्पन्न गरिने प्रारम्भिक लक्ष्य लिएको थियो । राजनीतिक उतारचढाव, भेलबाढी र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले जनाएको छ ।

नेपालमा पहिलो रेल सेवा विसं १९८४ मा चन्द्रशम्शेरका पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो । अहिले जयनगर–जनकपुरसम्म सञ्चालन भइरहेको नेपाली रेल, २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकणले कर्पोरेशनसँग ८४ करोड ६५ लाखमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको हो । यस रेलमा एक हजार ३०० जनासम्म यात्रु बसेर तथा उभिएर यात्रा गर्न सक्ने क्षमता रहेको छ भने यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । अब यहीँ रेल जयनगरदेखि बिजलपुरासम्म सञ्चालन हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]