२५ भाद्र २०८२, बिहिबार
11-09-2025 , Thu
×

ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ,९ श्रावण ।नेपाली पत्रकारिताको इतिहासमा ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको हो।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकारत्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको छ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त वृत्ति रकमबापतको चेक प्रदान गरेर ज्येष्ठ पत्रकार वृत्ति वितरणको प्रारम्भ गरेका हुन्। पहिलो वृत्ति पाउने ७६ वर्षीय पत्रकार अर्याललाई पाँच हजार रुपैयाँ, पाण्डेलाई सात हजार र ७७ वर्षीय खरेललाई १० हजार रुपैयाँ प्रदान गरिएको हो। उनीहरुलाई साउन महिनादेखि हरेक महिना बैंक खातामा जम्मा हुनेगरी वृत्ति रकम उपलब्ध गराइने सूचना तथा प्रसारण विभागले जनाएको छ।

पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ बमोजिम ज्येष्ठ पत्रकार वृत्ति वितरण गरिएको हो। मापदण्डमा ६५ देखि ६९ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक सात हजार र ७६ देखि ८० वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ। कोषमा हाल रु छ करोड रकम जम्मा भइसकेको छ । उक्त रकमको ब्याजबाट वृत्ति वितरण गरिने जनाइएको छ।

ज्येष्ठ, द्वन्द्वपीडित र द्वन्द्वमा परी मुत्यु भएका पत्रकारको परिवारका सदस्यलाई आर्थिक तथा अन्य सहयोग प्रदान गर्न र पत्रकारको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले पत्रकार वृत्ति कोष सञ्चालनमा ल्याइएको हो ।

उक्त कोषमार्फत पत्रकारको क्षमता अभिवृद्धि र आर्थिकरुपमा विपन्न पत्रकारलाई आर्थिक सहयोग गरिने मापदण्डमा उल्लेख छ। तीस वर्ष निरन्तर पत्रकारिता गरेका ६५ वर्ष उमेर पूरा भएका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिइनेछ।

पहिलो वृत्ति प्राप्त गर्ने वरिष्ठ पत्रकार पदमभक्त खरेलले पत्रकारिता पेशाको सम्मानस्वरुप राज्यले पत्रकारको वृत्ति वितरणको राम्रो कामको सुरुआत गरेको बताए। उनले रकम सानै भए पनि राज्यकातर्फबाट पत्रकारिता पेशाप्रति इज्जत र प्रतिष्ठा बढाउन यसले प्रेरित गर्ने उल्लेख गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]