१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

जनकपुरधाम भ्रष्टाचारको अखाडा उदाहरण मात्रै कि?

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१० साउन।
स्थानीय तहमा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ। जहाँका जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन्। यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ।

नगरसभामा उपस्थितहरूको विवरणसमेत नखुलाई मासुमा नै यतिको खर्च गरेको महालेखापरीक्षकको तथ्यांकले पुष्टि गर्छ। उक्त तथ्यांकअनुसार नगरसभाका सहभागीहरूले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन्। यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको मासु ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन्। जसको खर्च ५७ हजार पर्छ। जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा सञ्चालनकै लागि ५० लाख बजेट विनियोजन गरिएको थियो। जसमध्ये ४३ लाख ८ हजार २८ रुपैयाँ खर्चसमेत गरिएको उल्लेख छ।

यो जनकपुरधाम उपमहानगरपालिका भित्रको अनियमितताको एउटा उदाहरण मात्रै हो। यहाँ आर्थिक वर्ष २०७७/७८ को आर्थिक कारोबारमा व्यापक भ्रष्टाचार र अनियमितता गरेको सार्वजनिक भएको छ। तत्कालीन नगरप्रमुख लालकिशोर साहबाट निर्देशित भएर नगर कार्यपालिकाको कार्यालयबाट भएका अधिकांश काम कारबाही अपारदर्शी र आर्थिक अनुशासन विपरीतको रहेको हालै सार्वजनिक भएको महालेखापरीक्षकको वार्षिक तथ्यांकले पुष्टि गर्छ। उपमहानगरपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचासमेत पूर्णरूपमा प्रयोग नगरी वित्तीय विवरण तयार गरेको प्रतिवेदनमा उल्लेखित छ।

गत वर्षको लेखापरीक्षणबाट जनकपुरधाम उपमहानगरपालिकाको जम्मा बेरुजु १ अर्ब ५ करोड १७ लाख ४९ हजार रुपैयाँ छ। जसमध्ये गत वर्षको ३३ करोड ७४ लाख ११ हजार रुपैयाँ बेरुजु देखिएको छ, जसको प्रतिक्रिया र प्रमाणसमेत पेस भएको छैन। उक्त बेरुजुमध्ये असुल गर्नुपर्ने २ करोड ३९ लाख ८४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १४ करोड ९५ लाख ५३ हजार, नियमित गर्नुपर्ने ११ करोड १५ लाख ६६ हजार र पेश्की ५ करोड २३ लाख ८ हजार छ।

भात पकाएको ज्याला १ लाख २५ हजार

नगरसभामा दुुई दिनको खाना बनाए बापतको ज्याला १ लाख २५ हजार रुपैयाँ खर्चिएको छ। त्यसैगरी जानकी टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गराउन ९५ हजार रुपैयाँ खर्च गरेको छ। नगरसभामा सहभागीहरूलाई केशरिया गम्छा ओढाउन ३ सय ६० थान गम्छा खरिद गर्न १ लाख ४२ हजार खर्चिएको छ भने खाजा, कोल्ड ड्रिक्सहरूमा छुट्टै ७ लाख ९० हजार खर्चिएको मलेपको तथ्यांकले देखाउँछ।

नगरसभामा लाखौं खर्चेको पालिकाले सो बेला बजेटसमेत पारदर्शी नगरेको र उद्घाटन सत्रमै तामझाम गरी लाखौं रकम सकाएको आरोप तत्कालीन वडा अध्यक्ष सुदर्शन सिंह लगाउँछन्।

डटपेन खरिदमा समेत कमिसन

नगरसभाका लागि खरिद गरिएको डटपेनमा समेत कमिसनका लागि बढी मूल्य तिरिएको पाइएको छ। २०७८ असार ११ मा नगरसभाका लागि न्यू माता दि स्टोर्स जनकपुरबाट खरिद गरिएको २ सय ८० थान पाइलट पेन १ सय १० रुपैयाँका दरले किनिएको छ भने ०७८ असार २६ मा मायालु ट्रेडर्स जनकपुरबाट ३ सय थान पाइलट पेन १ सय ५७ रुपैयाँका दरले खरिद गरेको देखिन्छ। उक्त पाइलट पेनको बजार मूल्य अधिकतम १ सय १० रुपैयाँ रहेकोमा मायालु ट्रेर्डसबाट खरिद गरेको ३ सय थानलाई प्रतिथान ४७ रुपैयाँ बढीमा खरिद गरी १४ हजार १ सय २१ रुपैयाँ भुक्तानी गरिएको छ।

पालिकाको बजेटबाट छोराको नाममा पुस्तक छपाइ

जनकपुरधामस्थित विभिन्न सम्पदाहरूको ५ सय २८ थान फोटोसहितको जनकपुरधाम नामको पुस्तक छपाइ गरेबापत एलिएन्स प्रिन्टर एन्ड मिडिया प्रालिलाई ४ लाख ८३ हजार भुक्तानी गरिएको छ। पालिकाको बजेटबाट छापिएको सो किताबको वितरण कति जनालाई भयो त्यसको कुनै प्रमाण छैन। तर, किताबको कभर पेजमा कार्यालयको नाम राख्नुको साटो पूर्वनगरप्रमुख लालकिशोर साहका छोरा सुमित सबिता शेखरको नाम राखेर छापिएको छ। उक्त किताब हेर्दा सार्वजनिक निकायले प्रकाशन गरेको भन्दा पनि व्यक्तिगत प्रकाशन जस्तै देखिन्छ।

लामखुट्टे नियन्त्रमा २३ लाख खर्च

जनकपुरको सबैभन्दा ठूलो समस्या नै लामखुट्टे र फोहोर रहेको छ। यहाँ आउने पर्यटक वा नवआगन्तुकहरू लामखुट्टेको प्रकोपका कारण आजिज हुन्छन्। लामखुट्टे नियन्त्रका लागि वर्षभरीमा दुई चार दिन नगरभरि स्प्रे गर्नुबाहेक उपमहानगरपालिकाले केही नगरेको जनगुनासो छ। तर, उपमहानगपालिकाको आर्थिक विवरणमा गत वर्षमा लामखुट्टे नियन्त्रणका लागि ४० लाख बजेट विनियोजन गरिएको र त्यसमध्ये २३ लाख २४ हजार २ सय २३ रुपैयाँ खर्चसमेत भइसकेको देखिन्छ।
आगामी वर्षमा उपमहानगरपालिकाका खर्चहरू पारदर्शी हुनेछन् : नगरप्रमुख साह

पूर्वनगरप्रमुख लालकिशोर साहको पालामा भएका खर्चहरू नियमसंगत र अव्यावहारिक रहेको स्वीकार्दै जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साह आगामी दिनमा खर्चहरू पारदर्शी हुने दाबी गर्छन्। ‘सबैको कार्यशैली फरक हुन्छ। मभन्दा अगाडि यो नगरपालिका कसरी चलेको थियो त्यो तपाईं हामी सबैलाई थाहा छ तर, अब मेरो कार्यकालमा सबै खर्चहरू पारदर्शी हुनेछन् र अनावश्यक खर्चमा कटौती गरिने वाचा गर्छु,’ नगरप्रमुख साहले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]