१७ साउन २०८२, शनिबार
02-08-2025 , Sat
×

सर्लाही र सप्तरीबाट चुनाव लड्न दबाब, महतोको भित्रि इच्छा धनुषा–३ बाटै चुनाव लड्ने

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

 

महतोलाई धनुषा बाहेकको क्षेत्रबाट निर्वाचन लड्न दबाब, भित्रि इच्छा धनुषा–३ बाटै लड्ने
न्युजमधेस डेस्क
जनकपुरधाम,१३ साउन।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गर्ने दिन नजिकिँदै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई दबाब बढिरहेको छ । उनलाई धनुषा छाडेर विभिन्न चुनाव क्षेत्रबाट निर्वाचन लड्न दबाब आइरहेको छ ।

यसअघि धनुषा–३ बाट चुनाव जितेका महतोलाई यस पटक सर्लाही र सप्तरीबाट समेत चुनाव लड्न दबाब आइरहेको छ । महतोको भित्रि इच्छा धनुषा–३ बाटै चुनाव लड्ने हो । उनले यसका लागि आन्तरिक तयारी पनि गरिसकेका छन् तर उनलाई गृहजिल्ला सर्लाही र नेपाल सद्भावना पार्टीका संस्थापक स्व.गजेन्द्रनारायण सिंहको जिल्ला सप्तरीको क्षेत्र नम्बर २ बाट चुनाव लड्न दबाब आइरहेको छ ।

पार्टीभित्रकै नेता तथा कार्यकर्ताहरुबाट यस्तो दबाब आइरहेको उनी निकट नेताको भनाइ छ । महतोको घर सर्लाही क्षेत्र नम्बर १ मा छ । उनलाई सो क्षेत्रबाट उम्मेदवारीका लागि दबाब आएको छैन । सर्लाहीको क्षेत्र नम्बर १ बाट जसपा नेपालका प्रमोद साह प्रतिनिधिसभा सदस्य छन् । महतोलाई भने सर्लाहीको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न दबाब आइरहेको छ । सो क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका नेता डा.अमरेश कुमार सिंह निर्वाचित भएका थिए ।

त्यो क्षेत्र लोसपाका अध्यक्ष महन्थ ठाकुरको पुरानो चुनावी क्षेत्र हो । ठाकुर अहिले महोत्तरी सरेका छन् । अघिल्लो चुनाव (२०७४) मा सर्लाही–४ बाट लोसपा (तत्कालीन राजपा) का नेता राजेश मिश्र चुनाव लडेका थिए । उनलाई अमरेश सिंहले पराजित गरेका थिए । अहिले सोही क्षेत्रबाट राजेन्द्र महतोलाई चुनाव लड्न दबाब आइरहेको छ ।

लोसपाका नेता सन्तोष मेहताले भने, ‘सो क्षेत्रका केही नेता तथा कार्यकर्ताहरु दैनिकजसो भेट्न आइरहेका हुन्छन्, त्यहाँबाट चुनाव लड्न दबाब दिइरहेका हुन्छन् । तर महतोजीले अहिलेसम्म कुनै आश्वासन दिनुभएको छैन ।’

यद्यपि, राजेन्द्र महतो बेलाबेला सर्लाही क्षेत्र नम्बर ४ मा पुग्ने गरेका छन् । पार्टी अध्यक्ष ठाकुरसहित विभिन्न नेताहरुका साथ महतो सो क्षेत्रमा पटक पटक पुगेका छन् ।

केही दिनदेखि महतोलाई सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्नका लागि दबाब आइरहेको छ । सप्तरी क्षेत्र नम्बर २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दछन् । आगामी प्रतिनिधिसभाको चुनावमा महतोलाई सोही क्षेत्रबाट चुनाव लड्न दबाब आइरहेको छ । सप्तरीका लोसपा नेता तथा कार्यकर्ताहरूले महतोलाई भेटेर सप्तरी–२ बाट चुनाव लड्न आग्रह गर्दै आए पनि महतोले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सप्तरी–२ बाट लोसपाको तर्फबाट जेपी ठाकुर चुनाव लड्ने तयारीमा छन् । यसैबीचमा सोही पार्टीका नेताहरु महतोलाई क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउन खोजिरहेका छन् । नेपाल सद्भावना पार्टीका नेता गजेन्द्रनारायण सिंह सप्तरीका हुन् । उनको आदर्श र विचारलाई मान्ने अहिले पनि थुप्रै नेता तथा कार्यकर्ता त्यहाँ छन् । र, महतो गजेन्द्रनारायण सिंहको अनुयायी भएकाले उनलाई चुनाव जित्न सजिलो हुने भन्दै नेताहरुले कन्भिन्स गरिरहेका छन् ।

त्यहाँ जातीय समीकरण पनि अनुकुल रहेको भन्दै कार्यकर्ताहरूले महतोलाई मनाउन खोजिरहेका छन् । राजविराज बजार सोही क्षेत्रमा पर्छ । त्यहाँ हरेक समुदायका मान्छे बस्दै आएका छन् । त्यसैले महतोलाई सो क्षेत्रमा चुनाव जित्न सहज हुने लोसपाका कार्यकर्ताहरुको भनाइ छ ।

महतो निकट एक नेताका अनुसार महतोले सप्तरीबाट चुनाव लड्ने सोच बनाएकै छैनन् । उनका लागि धनुषा नै उपयुक्त हुने, धनुषा छाड्नै पर्ने अवस्था भएमा सर्लाही दोस्रो रोजाइमा परेको ती नेताको भनाइ छ ।

महतोले धनुषाबाट चुनाव जिते यता आफ्नो गृहजिल्लालाई भन्दा पनि बढी समय धनुषालाई दिने गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्य पनि अघि बढाएका छन् । उनी धनुषा–३ मा जनताको घरघर पुगेका छन् । सो क्षेत्रमा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरे यता उनले आफ्नो राजनीतिक पकड बढाउन हरेक गतिविधि गर्दै आएका कारण उनी फेरि सोही क्षेत्रमा काँग्रेस नेता निधिसँग भिड्न तम्तयार रहेको स्रोत बताउँछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]