११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

‘मधेस आन्दोलनका हिमायती थिए प्रदीप गिरि’

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,५ भाद्र।‘कुनै समयमा सिरहा जिल्लाकै सबैभन्दा ठूलो जमिन्दार भनिने सम्भ्रान्त परिवारका सदस्य प्रदीप गिरिले गाउँकै कथित पानी नचल्ने खट्टर चमारको छोरालाई पाँच दशकअघि नै भान्से राख्नुभएको थियो । यो काम छूवाछुत विरुद्धको कुनै सर्वोच्च अन्तर्राष्ट्रिय सम्मेलनमा भाषण गर्नुभन्दा हजारौँ गुणा बढी प्रभावकारी थियो,’ प्राज्ञ धीरेन्द्र प्रेमर्षी यही एक उदाहरण प्रदीप गिरिलाई बुझ्न काफी रहेको बताउँछन् ।

प्रदीप गिरि पहाडी समुदायका थिए तर उनको रहनसहन, बोली व्यवहार र विचार खाँट्टी मधेसीसँग मेल खान्थ्यो । उनी आफै खस समुदायका थिए तर विभेदमा परेका आदिवासी जनजाति, मधेसी, दलितका आवाज थिए उनी ।

उनी काँग्रेसका नेता थिए तर विचार र व्यवहार वामपन्थीजस्तै थियो । त्यसैले त्यत्रो मधेस आन्दोलन हुँदा पनि प्रदीप गिरि मधेसका प्यारा भएर बसे । त्यतिबेला थुप्रै पहाडीहरु मधेस छाड्न बाध्य भएका थिए तर प्रदीप गिरि मधेसी मुद्दा र एजेण्डाका साथ भएका कारण मधेस आन्दोलनको एउटा हिस्सा भएर बसे ।

नेपालको संविधान २०७२ अधुरो छ, अपुरो छ । मधेसी आदिवासी जनजातिको माग सम्बोधन गरिएको छैन भन्दै उनले संविधानमा हस्ताक्षर गरेनन् । यसरी पार्टी ह्वीपलाई उनले उल्लघंन गरेका थिए ।

मधेसको माग संविधानमा सम्बोधन नगरेको भन्दै मधेसवादी दलका नेताहरु संविधान निर्माणलाई बहिष्कार गर्दै जारी संविधानमा हस्ताक्षर गरेका थिएनन्, त्यसमा काँग्रेसका नेता प्रदीप गिरिले साथ दिएका थिए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदीप गिरिलाई मधेस आन्दोलनको हिमायतीको संज्ञा दिन्छन् । उनी भन्छन्, ‘मधेस आन्दोलन सफल बनाउनुमा प्रदीप गिरिको ठूलो सहयोग थियो । उहाँ मधेस आन्दोलनको हिमायती हुनुहुन्छ, उहाँ हरहमेशा मधेसी जनताको साथमा रहनु भयो ।’

त्रुटिपूर्ण संविधानमा हस्ताक्षर नगरेर उनले आफू मधेसी जनताको साथमा रहेको प्रमाण दिएको अध्यक्ष यादवको ठहर छ । उनले भने, ‘असली समाजवादी नेता उहाँ नै हुनुहुन्थ्यो, यहाँ अरु सबै देखावटी हुन् ।’

मधेस आन्दोलन मात्र होइन, २०३६, २०४२, २०४६ को जनआन्दोलन, जनयुद्ध, जनविद्रोह, २०६३ को जनआन्दोलन पनि सफल बनाउन उनको ठूलो भूमिका थियो । तर, उनी आफू दृश्यमा कहिले नआउन नचाहेको अध्यक्ष यादव बताउँछन् । हरेक आन्दोलन, हरेक पीडित समुदायको आवाज उनी थिए ।

मधेस मामिलाका जानकार तुलानारायण साह भन्छन्, प्रदीप गिरिले संविधानमा हस्ताक्षर नगर्नु नै एउटा आन्दोलन हो, प्रदीप गिरि मधेस र मधेसीको साथमा हुनुहुन्छ भने कुराको प्रमाण यो भन्दा अरु केही हुनै सक्दैन ।’ मधेसवादी दलका नेताहरुको बारेमा उनको सोच र बुझाई फरक हुन सक्छ होला तर मधेसको मुद्दा र एजेण्डाको बारेमा स्पष्ट रहेको बताउँदै उनले खस आर्य भएर पनि प्रदीप गिरि जस्ता व्यक्तिले मधेसको एजेण्डाको बारेमा बोल्दिनु, केही लेख्दिनु ठूलो कुरा रहेको बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव तत्कालीन अवस्थामा आफू भारतमा प्रवासी हुँदा प्रदीप गिरिले उनलाई लिएर भारतीय नेताको घरघरमा गएर चिनजान गराएको सम्झिन्छन् । त्यसबेला उपेन्द्र यादव नेपाली राजनीतिका लागि निकै सम्भावना भएका नेता भएको कुरा पनि उनले उल्लेख गरेका थिए ।

​काँग्रेसका एक नेताका अनुसार उपेन्द्र यादव जतिबेला विहारको पटनामा भूमिगत थिए, त्यतिबेला प्रदीप गिरिले प्रत्येक महिना ६ हजार भारु उनलाई पठाउन पर्साका काँग्रेसी नेताहरुलाई भनेका थिए । र, उनले भनेअनुसार त्यो सहयोग पनि भएको थियो ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘मधेस आन्दोलनमा होमिएका समकालीन नेतामा प्रदीप गिरि मधेसको एजेण्डाप्रति कैयौं गुणा इमान्दार र प्रतिवद्ध थिए ।’ उनले मधेसलाई राष्ट्रिय, अन्तराष्ट्रिय परिवेशसँग जोड्ने काम गरेको बताउँदै जतिबेला राज्य मधेसप्रति कडा थियो, अन्य समुदायले मधेसलाई घृणाको नजरले हेर्थे, त्यतिबेला मधेसलाई राष्ट्र र राज्यसँग जोड्ने काम गिरिले गरेको चन्द्रकिशोरको जिकिर छ ।

लेखेर होस् वा बोलेर होस्, मधेसलाई सर्वस्वीकार्य बनाउने काम गिरिबाट भएको बताउँदै चन्द्रकिशोरले मधेस आन्दोलनको समयमा मधेस र राज्यको बीचमा उनी सहजकर्ताको भूमिकामा रहेको धारणा राख्छन् । मधेस आन्दोलनको क्रममा पहिलो चरण भएको २२ बुँदे सम्झौता गराउनमा प्रदीप गिरिको ठूलो भूमिका थियो । पछिसम्म मधेस आन्दोलनलाई सही ढंगले अवतरण गराउन उनी सहजकर्ताको भूमिकामा रहे ।-रातोपाटी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]