१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

नेता गिरीको पैतृक घर जीर्ण,आश्रम सुनसान

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

न्यूजमधेश डेस्क
लहान ,५ भाद्र। दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्नाटा छाएको थियो । लहान बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको बस्तीपुर काँग्रेस नेता प्रदीप गिरीको शोकमा डुबेको थियो । कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन । उनीहरुका आँखा ओभाना थिएनन् ।

समाजवादी चिन्तक स्व गिरीको पुख्र्यौली घर पुग्दाँ ढोका बन्द थियो । उहाँको पैतृक घर जीर्ण अवस्थामा थियो । उक्त पक्की घर गिरिका बुवा स्व मित्रलाल गिरीले बनाएका हुन् । घरको माथिल्लो भागमा बिरुवासमेत उम्रिएका छन् । सबै आफन्त राजधानी काठमाडौँ र विराटनगरमा बस्न थालेपछि पैतृक घर जीर्ण बनेको गाउँलेले बताए ।

“दाजुभाईहरु धेरै पहिलादेखि नै बाहिरै बस्न थाल्नुभएको छ”, स्थानीय चेतबहादुर भुजेलले भने, “घरको स्याहार गर्ने कोही हुनुहुन्न, उहाँका आफन्तहरुले पनि धेरै पहिला नै गाउँ छोडिसक्नुभएको छ ।” पुख्र्र्यौली घरमा स्व गिरीकी बहिनी डा मन्जुला गिरी कहिले काँही आएर बस्ने गरेको उनले बताए । “घरको स्याहार हुन सकेको छैन”, भुजेलले भने ।

पञ्चायतकालमा गाउँको पञ्चायत गर्न स्व गिरिका बुवा मित्रलालले बताएका ऐतिहासिक कचहरी घर संरक्षणको पर्खाइमा छ । स्व गिरिले पैतृक घर छाडेर गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए । कुनै बेला गाउँका नेता कार्यकर्ताको बाक्लै उपस्थिति रहने उक्त आश्रममा आज दिउँसो पुग्दा सुनसान थियो ।

सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित स्व गिरीले शान्त रुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै उक्त आश्रम बनाउनुभएको स्थानीयले बताए । मूल व्यक्ति नै सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएकाहरु शोकमा डुबेका थिए । शुभेच्छुक तथा नेता कार्यकर्ता स्व गिरीलाई श्रद्धाञ्जली दिन राजधानीतर्फ हिँडेका आश्रममा बस्दै आउनुभएका दीप परियारले बताए ।

“प्रदीप सर यहाँ हुँदा दिनहुँ भीड लाग्थ्यो । उहाँको निधनको खबर सुनेपछि यहाँका धेरै व्यक्ति गए राति नै राजधानी गइसक्नुभयो”, उनले भने, “उहाँ आएको खबर पाउने बित्तिकै गाउँले तथा विभिन्न पार्टीका नेता कार्यकर्ता भेट्न आश्रममा आउनुहुन्थ्यो ।”

“अब हाम्रो बिजोग हुने भयो, हामी अभिभावक विहीन भएका छौँ”, आश्रमको रेखदेख गर्दै आएका रामकृष्ण चौधरीले भने, “पहिला भीडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाई बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि आश्रममा आउनै छाडे ।”

करिब ६ बिघा क्षेत्रफलमा फैलिएको उक्त आश्रममा स्व गिरीले थुप्रै दलित तथा सुकुम्वासीलाई जग्गा दिएर बसाउनुभएको छ । इट्टाको पर्खाल र जस्ताले छाएको उक्त आश्रममा बसेर नै स्व गिरीले राजनीतिक र सामाजिक गतिविधि गर्दै आएका चौधरीले बताए ।

“प्रदीप दाईले आश्रमभित्रै बैठक कक्ष बनाउनुभएको छ । अब उहाँको निधनपछि आश्रमको भविष्य के हुन्छ भन्ने अन्यौलता बढेको छ ।”, उनले भने । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]