२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

१४ लाख ऋणको ४४ लाख तिरिसक्दा पनि जेलमा

Logo
प्रकाशित बिहिबार, भाद्र १६, २०७९

क्रान्ति शाह
वीरगन्ज,१६ भाद्र। मिटरब्याजीको चंगुलमा फसेर छोरो ३ महिनादेखि जेलमा परेपछि आमा ७३ वर्षीया सुनैनादेवी यादव बिलखबन्दमा परेकी छन्। घर व्यवहार चलाउन भन्दै रौतहटको मौलापुर नगरपालिका–२ सोनरनियाकी सुनैनाका छोरा दयाशंकरप्रसाद यादवले २०७६ असोजमा नातामै पर्ने बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसँग १४ लाख रुपैयाँ ऋण लिएका थिए। अनिल बाराकै प्रसौनी गाउँपालिका–३ नौतन गण्डकस्थित रामजानकी आधारभूत विद्यालयमा कार्यरत शिक्षक पनि हुन्।

उक्त ऋणको ब्याजबापत दयाशंकरका परिवारले अनिललाई ४४ लाख रुपैयाँ तिरिसकेका छन्। तर, ऋण लिँदाका बखत पटक–पटक गरी दिएको चेक बाउन्सको मुद्दामा दयाशंकर गत जेठदेखि गौर कारागारमा कैदी जीवन बिताइरहेका छन्।

बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरेकी वृद्धा सुनैनादेवीले गहभरि आँशु पार्दै भनिन्, ‘१४ लाखको कर्जाको ब्याज ४४ लाख रुपैयाँ तिरिसकेका छौं। तैपनि छोरो ३ महिनादेखि जेलमा छ।’

अनिललाई ब्याजबापत आफूहरूले १० लाख, ८ लाख र २६ लाख गरी तीनपटकमा ४४ लाख रुपैयाँ बुझाइसकेको भए पनि ऋण लिँदाका बखत धितो स्वरूप दिएको चेक बाउन्सको मुद्दा हालेर अनिलले छोरालाई जेलमा हालेको सुनैना बताउँछिन्। उनी भन्छिन्, ‘ऋण लिँदा धितो भनेर अनिलको आफ्नै साला रामदिनेश यादवको नाममा २८ लाखको चेक काट्यांै। अनिलको भान्जी रुबी कुमारीको नाममा पनि ११ लाखको चेक काटेर दियौं। दुईवटा चेक बाउन्स गराएर अनिलले मुद्दा हाल्यो अहिले छोरो जेलमा छ।’

पीडित सुनैनाको परिवारले १४ लाख रुपैयाँ ऋणको ब्याज तिर्ने क्रममा १२ कट्ठा खेत बेचेर र २ बिघा खेत दृष्टिबन्धकमा राखेर ऋण लिई अनिललाई तीनपटकमा गरी ४४ लाख रुपैयाँ बुझाइसकेका हुन्। पत्रकार सम्मेलनमा सुनैनाकी बुहारी सन्ध्या यादवले भनिन्, ‘ऋण लिने बेलामा अनिल आफ्नै नातामा पर्ने र सरकारी विद्यालयको शिक्षक पनि भएकाले विश्वास गर्‍यौं। तर, अहिले आएर १४ लाख ऋणको ४४ लाख रुपैयाँ तिरिसक्दा पनि चेक बाउन्स गराएर मेरो श्रीमान्लाई जेलमा हालेको छ।’

हालै सरकारले मिटरब्याजीविरुद्ध उजुरी हाल्न आह्वान गरेपछि शिक्षक अनिलविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा सुनैनासँगै तीन जनाको उजुरी परेको छ। अनिलविरुद्ध सुनैनासँगै बाराकै कलैया उपमहानगरपालिका–१ का युगलकिशोर यादव र महागढीमाई नगरपालिका–७ का किशोरीप्रसाद यादवले पनि उजुरी हालेका छन्। तीनै जनाको उजुरीमा शिक्षक अनिलले आफ्ना सालासमेत रहेका सिम्रौनगढ नगरपालिका–८ का वडाध्यक्ष रामदिनेशप्रसाद यादव र साथी कलैया उपमहानगर–८ का सुनिलकुमार ठाकुरसँगै मिलेर मिटरब्याजीको धन्दा चलाउँदै आएको उल्लेख छ।

उजुरीकर्ता युगलकिशोरका अनुसार शिक्षक अनिल, उनका साला वडाध्यक्ष रामदिनेश र साथी सुनिलले गरी २७ लाख रुपैयाँ ऋण दिएर ८१ लाख रुपैयाँको कपाली तमसुक बनाएका छन्। ऋणबापत लिएको सावाँ र त्यसको ब्याजबापतको सबै रकम चुक्ता गरिसकेको भए पनि ती तीनै जनाले कपाली तमसुकको कागज भने फिर्ता नगरेको पीडित भनिएका युगलकिशोरको आरोप छ। युगलकिशोर भन्छन्, ‘ऋणमा लिएको सावाँ र ब्याज सबै चुक्ता गरिसकें तर उल्टै उनीहरूले ऋण तिरेको छैन भनेर कपाली तमसुक गराएको कागज फिर्ता नगरि अदालतमा मुद्दा हालि दिएका छन्।’

अर्का उजुरीकर्ता किशोरीप्रसाद यादवका अनुसार उनले अनिलसँग मिटरब्याजमा ७५ लाख रुपैयाँ ऋण लिएका थिए। तर, उक्त ऋणको ब्याज मात्रै ५ करोड रुपैयाँ तिरिसक्दा पनि अनिलले ऋणको सावाँ र ब्याज अझै तिर्न बाँकी रहेको भन्दै आएका छन्। किशोरी भन्छन्, ‘१ दिनको १ लाख रुपैयाँ ब्याज तिर्ने सर्तमा ७५ लाख लिएको थिएँ। अहिलेसम्म ५ करोड रुपैयाँ बुझाइसकेको छु। तैपनि उसले अझै सावाँ र ब्याज तिर्नुपर्छ भन्दै आएको छ।’ किशोरीले वडाध्यक्ष रामदिनेशको नाममा १ करोड १० लाखको र उसको साथी सुनिलको नाममा ४२ लाख रुपैयाँको चेक काटेर दिएको प्रमाण आफूसँग सुरक्षित रहेको पनि बताए।

यसका अतिरिक्त अनिलको श्रीमती रम्भादेवीको नाममा आफूले तीन कट्ठा जग्गा पास गरिदिएको पनि किशोरीले बताए।

किशोरी भन्छन्, ‘अनिलले रामदिनेश र साथी सुनिलसँग मिलेर वर्षांैदेखि मिटरब्याजीको धन्दा चलाउँदै आएको छ।’ यता शिक्षक अनिलले भने आफू मिटरब्याजीको धन्दा चलाउने व्याक्ति नै नभएको दाबी गरेका छन्। बुधबार अन्नपूर्णकर्मीसँग कुरा गर्दै यादवले आफूलाई बदनाम गर्न केही व्याक्तिहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको बताए। अनिलले भने, ‘दयाशंकरलाई मैले ८ लाख रुपैयाँ सापटीको रूपमा दिएको थिएँ। पछि उसले रकम फिर्ता गर्‍यो। मैले उसँग एक रुपैयाँ पनि ब्याज लिएको छैन। सबै आरोप निराधार हुन्।’

अर्का उजुरीकर्ता युगलकिशोर र किशोरीका सम्बन्धमा अनिलले भने, ‘उनीहरू त आफै ठग हुन्। गाँउका मान्छेको करोडौं रुपैयाँ ठगी गरेर बसेका छन्। मलाई बदनाम गर्न उनीहरूले झुटा उजुरी हालेका छन्। अनिलले आफूविरुद्ध लगाइएका आरोपको खण्डन गर्न आफूले पनि केही दिनमै पत्रकार सम्मेलन गर्ने बताए। उनले भने, ‘म पनि पत्रकार सम्मेलन गरेर उनीहरूको पर्दाफास गर्छु।’ उनले पीडित भनिएकाहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालिसकेकाले प्रहरी प्रशासनले गर्ने छानबिनबाटै सत्यतथ्य बाहिर आउने पनि बताए। अन्नपूर्ण पोष्टमा छाडिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]