१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

धनुषाको कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउने तयारी

Logo
प्रकाशित मंगलबार, भाद्र २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ भाद्र। जयनगर-बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ ।

रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए ।

सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको इञ्जिनीयर साहले बताए । रेल सञ्चालनको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन गरिने उनको भनाइ छ ।

बिजलपुरादेखि बर्दिवाससम्मको १८ किमी रेलमार्ग निर्माणमा भने जग्गा मुआब्जा विवादले काम प्रभावित भएको छ । ‘जग्गा मुआब्जाको समस्यालगायतका कारण बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको ‘, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने, ‘कतिपय ठाउँमा व्यावहारिकरुपमा सडक देखिएको छ, तर नक्सामा सडक छैन तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् ।’

उनका अनुसार सो क्षेत्रका कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती रहेका र उनीहरूसँग जग्गा स्वामित्वको कुनै कागज नहुँदा पनि मुआब्जा मागेर विवाद गरिरहेका कारण रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ । आफूहरूले चाहेर पनि समस्या समाधान गर्न नसकिरहेको महाप्रबन्धक झाले बताए । उनले भने, ‘मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म रेल चल्न थाल्छ, मुख्यतः हामीलाई रेलमार्ग निर्माणका लागि अहिलेदेखि ठूलो समस्या यही नै हो ।’

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार सन् २०११ महिनामा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

महाप्रबन्धक झाका अनुसार नेपाललाई रेल सञ्जालमा जोड्ने सरकारको नीतिअनुरूप महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्मको रेलमार्ग निर्माणका लागि माटो फिलिङको कार्य भइरहेको छ । यस्तै निजगढ-काठमाडौँ रेलसेवा सञ्चालनका लागि रेलमार्गको डिपिआर तयारी भइरहेको महाप्रबन्धक झाले जानकारी दिए ।

केही दिनअघि प्रतिनिधिसभाअन्तर्गतको विकास समितिका सभापति कल्याणी खड्काको नेतृत्वमा समितिका सदस्यको टोलीले निर्माणाधीन सो रेलमार्गको निरीक्षण गरेका थिए । महोत्तरीको बर्दिबासदेखि भारतको जयनगरसम्मको रेलमार्गको निरीक्षण गरी टोलीले कुर्थादेखि बर्दिबाससम्म रेलमार्ग निर्माणका क्रममा देखिएको मुआब्जा विवाद र समाधानका उपायबारे प्रदेशसभाका सदस्य, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झा, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेलमार्गमा पर्ने स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको थियो ।

जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किमी निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किमी रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेलसेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डा देखाएर जयनगर-कुर्था रेल मार्गमा रेलसेवाको उद्घाटन गरेका थिए । त्यसयता रेलसेवा दैनिक दुई पटक सञ्चालन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]