०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

सडकका खाल्डाखुल्डीबाट जोगिनै समस्या

Logo
प्रकाशित मंगलबार, आश्विन १८, २०७९

न्यूजमधेश डेस्क
दमौली ,१८ असोज। पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनपर्ने अवस्था पनि छ ।

मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी साधनका यात्रुई खाल्डोबाट बच्नुपर्ने अवस्था छ । सडक खाल्डाखुल्डी पर्दा कष्टपूर्ण यात्रा त छँदैछ दुर्घटनाको जोखिम पनि बढेको छ ।

सडक खाल्डाखुल्डी हुँदा दशैँमा यात्रा गर्ने यात्रुले सास्ती पाएका छन् । मुग्लिन पोखरा सडक विस्तारका क्रममा तनहुँका धेरै ठाउँमा सडक खाल्डाखुल्डी हुँदा दशैँका बेला यात्रा गर्नेले सास्ती पाएको स्थानीयवासी बताउँछन् ।

सडकको दूरावस्थाले गर्दा यात्रा गर्दा सास्ती खेप्नुपरेको व्यास नगरपालिका–११ का भानुभक्त सोतीले बताउनुभयो । सदरमुकाम दमौली नजिकैका अधिकांश ठाउँमा सडक खाल्डाखुल्डी पर्दा यात्रा गर्दा जोखिमका साथै दुर्घटनाको सम्भावना रहेको उहाँ बताउनुहुन्छ । सोती आक्रोश पोख्दै भन्नुहुन्छ, ‘दशैँको बेलामा बाइक र स्कुटरमा हिँड्नेको पीडा सुविधायुक्त गाडीमा हिँड्नेलाई के थाहा ।’

उहाँले दशैँका लागि लक्षित गरी सडक मर्मतका लागि नगरपालिकालाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नगरपालिका र वडासँग स्रोत साधन र बजेट छैन भने जनप्रतिनिधि ज्यूँ, बेल्चा लिएर आउनुस् श्रमदानका लागि हामी तयार छौँ ।’ पृथ्वी राजमार्ग सङ्घीय सरकार मातहत रहेकाले यसमा केही गर्न नसकिने नगरपालिका बताउँछन् ।

पृथ्वी राजमार्गअन्तर्गत ७२ किलोमिटर खण्ड रहेको तनहुँमा मुग्लिन पोखरा सडक विस्तारका लागि काम भइरहेको छ । त्यसले गर्दा सडक सडकमा धुलो बुङबुङ्ती उड्छ । धुलो र खाल्डाखुल्डी सडकले राजमार्गमा यात्रा गर्न जोखिम रहेको म्याग्दे गाउँपालिका–७ का मोहन बरालीले बताउनुभयो । ‘दशैंका बेला त झन आफन्तको जानुपर्छ, सडकको हालत यस्तो छ की यात्रा गर्नै मन लाग्दैन’, उहाँले भन्नुभयो, ‘तर के गर्नु दुःखकष्ट गरेरै भए पनि आफन्तकहाँ पुग्नैपर्यो ।’

मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदी भने दशैँका लागि साना–साना खाल्डा मर्मत गर्ने काम गरिएको बताउनुहुन्छ । ‘साना–साना खाल्डामा एक चरणको मर्मत गरेका छाैं, काम भइरहेका ठाउँमा भने सडक मर्मत गर्न सकेनौँ’, उहाँले भन्नुभयो, ‘बेला–बेलामा पानी हाल्ने काम पनि भइरहेको छ ।’

दशैंमा सर्वसाधारणलाई केही सहज होस् भन्नका लागि फूलपातीसम्म धेरै ठाउँका खाल्डाखुल्डी मर्मत गरिएको उहाँले बताउनुभयो । ‘ठूला खाल्डा परेका ठाउँमा काम भइरहेका थिए त्यहाँ मर्मत गर्न सकेनौँ’, उहाँले भन्नुभयो ।

उक्त खण्डमा दशैँका लागि काम रोकिएको छ । कामदार फूलपातीदेखि घर गएकाले काम रोकिएको उहाँले भन्नुभयो । ‘दशैँपछि मात्र अब काम सुचारु हुन्छ, कामदार घर गएका छन्’, प्रमुख सुवेदीले भन्नुभयो । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून छ । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ ।

पूर्वी खण्डअन्तर्गत मुग्लिनदेखि जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।

मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डमा हालसम्म ३.४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । आर्थिक वर्ष ०७८/७९ मा पूर्वी खण्डका लागि रु दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार रुपैयाँ विनियोजन गरिएको थियो तर यस अवधिमा ५७ करोड ३७ लाख चार हजार रुपैयाँ मात्रै खर्च भएको छ । कूल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताउनुभयो ।

योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७८÷७९ मा यो खण्डका लागि एक अर्ब ९१ करोड ९५ लाख १८ हजार रुपैयाँ विनियोजन भएकामा ४४ करोड ३६ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ ।

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]