०१ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

बर्दियामा बाढीले साढे १३ सय घर विस्थापित

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

न्यूजमधेश डेस्क
बर्दिया ,२५ असोज।राजापुर नगरपालिका–३ नंगापुरकी मीराकुमारी थारुले आइतबार राति ९ बजे कर्णाली नदीमा बाढी आएको सूचना पाइन् । नदी किनारमा घर भएकी उनले परिवार सुरक्षित स्थलमा पुर्‍याइन् । तर, जोहो गरी राखेको खाद्यान्न सार्न नसक्दा अहिले कसरी छाक टार्ने भन्ने चिन्तामा छिन् । उनका छिमेकी विश्राम थारुको अवस्था पनि उस्तै छ ।

बाढी पस्नासाथ घरका सामान छाडेर ज्यान जोगाउँदै परिवारलाई सुरक्षित स्थानमा पुर्‍याएको उनले बताए । ‘घरभित्र पानी छ,’ उनले भने, ‘पानी परिरहेको छ, बाढी घटेको छैन ।’

आइतबार राति कर्णालीमा आएको बाढीले राजापुर र गेरुवा गाउँपालिकाका अधिकांश वडा डुबानमा परेका छन् । विकसित सूचना प्रणालीका कारण बाढी आउनुपूर्व जानकारी पाउनासाथ सुरक्षित स्थलमा पुगेर स्थानीयले ज्यान बचाउन सके पनि घरमा राखेको खाद्यान्न, लत्ताकपडा भने उठाउन पाएका छैनन् । पाक्न लागेको धानबाली बाढी र अविरल वर्षाले डुबानमा पारेको छ । धान काट्ने तयारीमा रहेका किसान यस वर्ष पनि डुबानको चपेटामा परेका छन् ।

गत वर्ष कात्तिक २ गते आएको बाढीले करिब तीन हजार हेक्टरमा रहेको धानबालीमा क्षति पुर्‍याएको थियो । राजापुर–३ की लोहारी थारुले बाढीग्रस्त क्षेत्रको भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडित किसानलाई क्षतिपूर्ति दिने आश्वासन दिए पनि आफूहरूले नपाएको बताइन् । अहिले पनि कसैले सहयोग गर्छन् भन्ने विश्वास नलागेको उनले सुनाइन् । ‘चुनाव आउँछ, जान्छ । नेताले केही गर्दैनन्,’ स्थानीय द्रुपती थारुले गुनासो गरिन्, ‘कम्तीमा बलियो र भरपर्दो तटबन्ध बनाए बाढीको चपेटामा बर्सेनि यसरी दुःख पाइँदैन्थ्यो ।’

प्रारम्भिक तथ्यांक अनुसार राजापुर नगरपालिकामा मात्रै १ हजार ३ सय ४२ जनाको घर डुबानमा परेको नगर प्रमुख दिपेश थारुले बताए । ‘बाढीपीडित परिवारलाई सुरक्षित शिविरमा राखिएको छ,’ उनले भने, ‘त्रिपाललगायत खाने व्यवस्था मिलाइएको छ ।’ बाढीले डुबान भएका गाउँ जाने अवस्था छैन । यहाँको अवस्था निकै कहालीलाग्दो छ । लगातार पानी परेकाले यसपालि गत वर्षभन्दा पनि पुनः ठूलो बाढी आउने भन्दै स्थानीय त्रसित भएका छन् । प्रभावित क्षेत्रमा पुगेका माओवादी केन्द्रबाट प्रतिनिधिसभाका उम्मेदवार सुरेश पन्थले खाद्यान्न सहयोग गरिरहेको बताए । उनले बाढीग्रस्त क्षेत्रमा पुग्न समस्या भएकाले पानी पर्न घट्नासाथ थप सहयोग गर्ने सुनाए ।

राजापुरको नदी तटीय क्षेत्र टिहुनी, दौलतपुर, चनौरा, भदालीपुर, नंगापुर, शंकरपुर र बाजुरा टोल डुबानमा परेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । उनका अनुसार सोमबार पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भीषण र मध्यम वर्षा हुने अनुमान गरिएकाले जोखिम टरेको छैन । तटीय क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई परिचालन गरिएको उनले बताए । पहाडी र तराई क्षेत्रमा वर्षात नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]