१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

बर्दियामा बाढीले साढे १३ सय घर विस्थापित

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

न्यूजमधेश डेस्क
बर्दिया ,२५ असोज।राजापुर नगरपालिका–३ नंगापुरकी मीराकुमारी थारुले आइतबार राति ९ बजे कर्णाली नदीमा बाढी आएको सूचना पाइन् । नदी किनारमा घर भएकी उनले परिवार सुरक्षित स्थलमा पुर्‍याइन् । तर, जोहो गरी राखेको खाद्यान्न सार्न नसक्दा अहिले कसरी छाक टार्ने भन्ने चिन्तामा छिन् । उनका छिमेकी विश्राम थारुको अवस्था पनि उस्तै छ ।

बाढी पस्नासाथ घरका सामान छाडेर ज्यान जोगाउँदै परिवारलाई सुरक्षित स्थानमा पुर्‍याएको उनले बताए । ‘घरभित्र पानी छ,’ उनले भने, ‘पानी परिरहेको छ, बाढी घटेको छैन ।’

आइतबार राति कर्णालीमा आएको बाढीले राजापुर र गेरुवा गाउँपालिकाका अधिकांश वडा डुबानमा परेका छन् । विकसित सूचना प्रणालीका कारण बाढी आउनुपूर्व जानकारी पाउनासाथ सुरक्षित स्थलमा पुगेर स्थानीयले ज्यान बचाउन सके पनि घरमा राखेको खाद्यान्न, लत्ताकपडा भने उठाउन पाएका छैनन् । पाक्न लागेको धानबाली बाढी र अविरल वर्षाले डुबानमा पारेको छ । धान काट्ने तयारीमा रहेका किसान यस वर्ष पनि डुबानको चपेटामा परेका छन् ।

गत वर्ष कात्तिक २ गते आएको बाढीले करिब तीन हजार हेक्टरमा रहेको धानबालीमा क्षति पुर्‍याएको थियो । राजापुर–३ की लोहारी थारुले बाढीग्रस्त क्षेत्रको भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडित किसानलाई क्षतिपूर्ति दिने आश्वासन दिए पनि आफूहरूले नपाएको बताइन् । अहिले पनि कसैले सहयोग गर्छन् भन्ने विश्वास नलागेको उनले सुनाइन् । ‘चुनाव आउँछ, जान्छ । नेताले केही गर्दैनन्,’ स्थानीय द्रुपती थारुले गुनासो गरिन्, ‘कम्तीमा बलियो र भरपर्दो तटबन्ध बनाए बाढीको चपेटामा बर्सेनि यसरी दुःख पाइँदैन्थ्यो ।’

प्रारम्भिक तथ्यांक अनुसार राजापुर नगरपालिकामा मात्रै १ हजार ३ सय ४२ जनाको घर डुबानमा परेको नगर प्रमुख दिपेश थारुले बताए । ‘बाढीपीडित परिवारलाई सुरक्षित शिविरमा राखिएको छ,’ उनले भने, ‘त्रिपाललगायत खाने व्यवस्था मिलाइएको छ ।’ बाढीले डुबान भएका गाउँ जाने अवस्था छैन । यहाँको अवस्था निकै कहालीलाग्दो छ । लगातार पानी परेकाले यसपालि गत वर्षभन्दा पनि पुनः ठूलो बाढी आउने भन्दै स्थानीय त्रसित भएका छन् । प्रभावित क्षेत्रमा पुगेका माओवादी केन्द्रबाट प्रतिनिधिसभाका उम्मेदवार सुरेश पन्थले खाद्यान्न सहयोग गरिरहेको बताए । उनले बाढीग्रस्त क्षेत्रमा पुग्न समस्या भएकाले पानी पर्न घट्नासाथ थप सहयोग गर्ने सुनाए ।

राजापुरको नदी तटीय क्षेत्र टिहुनी, दौलतपुर, चनौरा, भदालीपुर, नंगापुर, शंकरपुर र बाजुरा टोल डुबानमा परेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । उनका अनुसार सोमबार पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भीषण र मध्यम वर्षा हुने अनुमान गरिएकाले जोखिम टरेको छैन । तटीय क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई परिचालन गरिएको उनले बताए । पहाडी र तराई क्षेत्रमा वर्षात नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]