१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

जनता नमुना सामुदायिक विद्यालय : हजारभन्दा बढी विद्यार्थी भर्ना

Logo
प्रकाशित शनिबार, बैशाख २३, २०८०

धीरेन्द्रप्रसाद साह
जनकपुरधाम, २३ बैशाख । एक शैक्षिक सत्रमा एउटा विद्यालयमा सामान्य एक/दुई सय नयाँ विद्यार्थी भर्ना हुने गरेको हुन्छ। एक सयभन्दा बढी भर्ना हुन आउने विद्यार्थी सङ्ख्या भएको सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयको नाम आउन सक्छ तर एउटा सामुदायिक विद्यालय जहाँ एक हजारभन्दा बढी विद्यार्थी प्रत्येक शैक्षिक सत्रमा भर्ना भइरहेको सुन्दा आश्चर्य लाग्न सक्छ। विद्यार्थीको चाप थेग्न नसकिने अवस्था पनि सिर्जना भएको छ।

गत वर्षको शैक्षिक सत्रमा एक हजार एक सय नयाँ विद्यार्थी भर्ना भएको धनुषा जिल्लाको विदेह नगरपालिका–६, गिद्धा बेलापट्टीस्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा दैनिक भर्ना आउने विद्यार्थीको चापको आधारमा यस वर्ष एक हजार तीन सयभन्दा बढी विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ। अहिलेसम्म करिब एक हजारको हाराहारीमा भर्ना भइसकेका छन् र दैनिक रूपमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या धेरै छ।

बालविकास, कक्षा १ देखिमाथि सबै कक्षामा विद्यार्थी भर्ना भइरहेको भए पनि सबभन्दा बढी कक्षा ६ मा विद्यार्थी भर्ना भइरहेको विद्यालयका प्रधानाध्यापक पवनकुमार मण्डलले जानकारी दिनुभयो। विद्यालय क्षेत्रभित्र बढी सङ्ख्यामा प्राथमिक तह र आधारभूत तहका विद्यालय रहेका छन्। त्यस विद्यालयमा अध्ययन सकिएपछि यस विद्यालयको माथिल्लो कक्षामा भर्ना हुन आउने गरेको उहाँको कथन छ।

कक्षा नर्सरी, बालविकासदेखि कक्षा १२ सम्म अध्यापन भइरहेको यस विद्यालयमा साढे पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको प्रअ मण्डलले बताउनुभयो। विद्यार्थी सङ्ख्याको अनुपातमा कक्षाकोठा अपुग रहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘हामीसँग ६०/६२ वटा मात्र कक्षाकोठा छन्। एउटै कक्षामा तोकिएको मापदण्डभन्दा बढी विद्यार्थी राखेर पढाउनु परेको छ।’’ आसमान नेपालको सिकाइ परियोजनाको सहकार्यमा प्लान इन्टरनेसनल नेपालको सहयोगमा बालविकाससहित चारवटा कक्षाकोठा मर्मतसम्भार, बसाइ व्यवस्थापनसहित खानेपानी, शौचालय, पङ्खालगायतको कार्य गरिदिएकाले तल्लो कक्षालाई ठूलै मद्दत पुगेको उहाँले बताउनुभयो।

जीर्ण रहेको बालविकास, नर्सरी, कक्षा १, २ को कक्षाकोठा, शौचालयको मर्मतसभ्भार गरेर कक्षाकोठामा कार्पेट, बसाइका लागि आधुनिक टेबुल, सु-याक, उपचारात्मक शिक्षणका लागि स्वयंसेवक शिक्षकलगायतको व्यवस्थापन गरिएको आसमान नेपालका कार्यक्रम संयोजक सञ्जीवकुमार साहले जानकारी दिनुभयो।

विद्यालयमा स्थायी शिक्षक दरबन्दीको पनि निकै अभाव रहेको छ। विद्यालयमा कुल शिक्षक सङ्ख्या ७५ छन्। तीमध्ये प्राथमिक तहमा सात, निमावि र मावि तहमा चार/चार जना गरी १५ जना मात्र स्थायी हुन्। राहत दरबन्दीका एक जना शिक्षक र एक जना शिक्षिका कार्यरत हुनुहुन्छ। यसबाहेक नगर शिक्षक १३, प्राविधिकधारका १२, प्लस टु चार, स्टाफ नर्स एक र बाँकी निजी स्रोत र बालविकासका शिक्षक हुनुहुन्छ।

विद्यालयमा प्रार्थना गराउन र घन्टीको आवाज कक्षासम्म सुनाउन चारवटा ठूलो लाउड स्पिकर जडान गरिएको छ भने विद्यार्थीलाई पानी खान १३ वटा ट्युबवेल र अन्य धारा जडान गरिएको छ। विद्यालयमा धनुषा, सिरहा, महोत्तरी र सप्तरीसम्मका विद्यार्थी अध्ययन गर्न आउने गरेको विद्यालयले जनाएको छ।

विद्यालयका गुणस्तरीय अध्ययन अध्यापन, अनुशासन, नियमित कक्षा सञ्चालन र दरिलो व्यवस्थापनका कारण नगरपालिका क्षेत्रभित्रका अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून छ भने यस विद्यालयको वरिपरि रहेको संस्थागत विद्यालयमा विद्यार्थी सङ्ख्या निकै कम रहेको सो वडाका अध्यक्ष जयराम मण्डलले बताउनुभयो।-गोरखापत्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]