१५ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
×

कसरी पक्राउ परे टोपबहादुर रायमाझी

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०

काठमाडौं ,१ जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । २० वैशाखमा प्रहरीले रायमाझीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी बुझेको थियो ।

त्यसयता पक्राउबाट बच्न उनी फरार रहँदै आएका थिए । पक्राउ पुँजी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

‘रायमाझी शनिबार काठमाडौं आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले राजधानीसँग भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

रायमाझी २० वैशाखका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको थियो । उनी सोही दिन अर्घाखाँचीबाट बुटवल हुँदै भैरहवासम्म पुगेको सूचना प्रहरीले पाएको थियो । तर, भैरहवा आएपछि उनी सम्पर्कविहीन हुँदै फरार भएका थिए । प्रहरीले रायमाझी पक्राउ नपरेपछि ७७ वटै जिल्लामा उनलाई नियन्त्रणमा लिन सर्कुलर गरेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले रायमाझीलाई प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा उनी शनिबार काठमाडौं प्रवेश गरेको सूचना पाएको र उनलाई पक्राउ गरिएको जानकारी दिएका हुन् । ‘रायमाझीलाई प्रहरीले फ्लो गरिरहेकै थियो, उनी शनिबारसम्म काठमाडौं बाहिरै थिए, शनिबार काठमाडौं आएको सूचनापछि प्रहरी उनको खोजीमा काठमाडौंका सबै क्षेत्रमा खटिएको थियो,’ उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी केसीले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पक्राउ गरिसकेको छ भने गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ । हालसम्म प्रहरीले रायमाझीसमेत गरी सो प्रकरणमा मुछिएका १३ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउपर्ने अन्यमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन् । सन्दीप रायमाझी भने टोपबहादुरका छोरा हुन् ।

पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ । प्रहरीले पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेर खोजी गर्दै आइरहेको छ । यस्तै, पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा पनि प्रहरीको खोजीमा फरार सूचीमा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंले आइतबार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]