१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

भरत काफ्लेले यसरी भेटे गाउँकै माटोमा पैसा

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ०६, २०८०

कमलामाई । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ ।

उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्छन्। यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ । व्यावसायिक कृषि कर्मले एउटा परिवारलाई स्वरोजगार मात्रै होइन, देश नै समृद्ध बन्ने बुझाइ भएका काफ्ले परिवारले आकर्षक आम्दानी पनि गरिरहेका छन् ।

“यस वर्ष थोक मूल्यमा प्रतिकिलो पाँच सयका दरले ६ चरणमा २० क्विन्टल फल बेच्दा १० लाख र बिरुवा बेचेर ३ लाख आम्दानी भइसकेको छ । चार हजार बिरुवा ग्राहक पर्खिएर नर्सरीमा बसिरहेका छन्,” युवा किसान काफ्लेले भने। बितेको दुई वर्षमा आठ कट्ठाबाट उत्पादन भएको फल बेचेर १३ लाख आम्दानी भएको उनले बताए। काफ्ले परिवारको १८ कट्ठामा ड्रागन फ्रुटको खेती छ । नौ सय ३० ओटा पोलमा तीन हजार पाँच सय बिरुवा रोपिएको छन् । अहिले नौ सय बोटले फल दिइरहेका छन् । बिरुवा रोपेको पछिल्लो वर्षदेखि प्रतिबोटले वार्षिक १७ पटकसम्म उत्पादन दिने गरेको छ । उनले भने, “जेठदेखि कात्तिकसम्म महिनाको ३ पटकसम्म टिप्न सकिन्छ । रोपेको पहिलो वर्ष प्रतिबोट आठ किलोसम्म उत्पादन भएकोबाट बिरुवा रोपेको तेस्रो वर्षबाट प्रतिबोट ४५ किलोसम्म उत्पादन भइराखेकोे छ ।”

युवा किसान काफ्लेले प्रतिबिरुवा ४ सय ५० मा किनेर रोपेको भए पनि उन्ले अहिले प्रतिबिरुवा २ सयमा बिक्री गर्दै आएका छन्। तीन वर्षअघि आफ्नो ठाउँको वातावरणमा सुहाउँदो जातको तीन सयवटा बिरुवा रोपेका थिए। बिरुवा रोपेको पछिल्लो वर्षदेखि ड्रागन फल फल्न थाल्यो । दुई वर्षमा रु १३ लाख आम्दानी भएपछि काठमाडौंमा खाद्यान्न पसल गरिरहेका काफ्लेलाई गाउँमै फर्किएर खेती विस्तार गर्न प्रेरित गर्यो।

पसल सुरु गरेको दुई महिना बित्न नपाउँदै कोरोना कहरले कारोबार ठप्प भएपछि छोडेर गाउँ फर्किएका काफ्लेलाई फेरि काठमाडौं फर्किन मन लागेन । दुई वर्षदेखि उनी व्यावसायिक ड्रागन फल खेतीमा रमाइरहेका छन्। सुरुमा खेती लगाउन अलि खर्चिलो भए पनि बर्सेनि आम्दानी बढ्दै जाने भएकाले यो व्यवसायमा निराश हुनु नपर्ने उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र सिन्धुलीबाट २ लाखको अनुदान लिएर दुई सय पोल थपेका उनले यसै वर्ष डेढ बिगाहमा खेती विस्तार गर्न लागेको बताए। उनका अनुसार एक पटक रोपेको बिरुवाको आयु २५ वर्षभन्दा धेरै हुन्छ । ड्रागन फलको एक सय ५३ प्रजातिको हुन्छन् । उनले रेड सायन जातको ड्रागन खेती विस्तार गरिरहेका छन्।

व्यावसायिक ड्रागन फल खेती विस्तारदेखि बजारमा पुर्याउनेसम्मका धेरैजसो काम पाँच जनाको परिवारले धानेको छ । ड्रागन फलको बिरुवा उत्पादन, माटो तयार, रोप्ने तरिकादेखि उत्पादित फल र बिरुवाको बजारीकरणका सम्बन्धमा बुझ्न तथा अवलोकनका लागि कतिपय ठाउँबाट उनको मेहनती बहुउद्देश्यीय कृषि फर्म पुग्ने गर्दछन् । युट्युब र गुगलमा अध्ययन गरेकै भरमा पहिलोपटक दुधौलीमा ड्रागनको खेती सुरु गरेका युवा किसान काफ्ले यस खेतीका सम्बन्धमा तालिम नै दिन सक्ने भएका छन्।

ड्रागन खेती सुरु गर्दाको पहिलो सङ्घर्ष सुनाउँदै उनले भने, “आफूहरुले गोरु नपालेको र ट्र्याक्टरले जोतेर खेती गर्न बाटो नभएकाले छ कट्ठा खेत बाँझै बस्थ्यो । जोत्न नपर्ने र एक पटक रोपेपछि २५ वर्षभन्दा बढी ढुक्क हुने ड्रागन खेतीका बारेमा युट्युब र गुगलमा सर्च गरेर अध्ययन गरी काभ्रेको पात्ले खेतमा भेषमान श्रेष्ठले लगाएको खेती हेरेँ र आफूले पनि सुरु गरेँ ।” त्यसपछि अनलाइन फारम भरेर हैदरवादसम्म पुगेर दुईमहिने तालिम लिएपछि व्यावसायिक रुपमा खेती सुरु गरेको उनको भनाइ छ ।

वातावरणमा अनुकूलताका आधारमा ड्रागनको जात पहिचान नगरी खेती गर्नाले कतिपय किसानको व्यवसाय घाटामा गएकाले गुणस्तरीय जातको बिरुवा ठाउँको हावापानी र माटोअनुसार मिल्दो पहिचान गर्न उनको सुझाव छ । उनका अनुसार आफूले बेच्ने गरेको ड्रागनले बिरुवा रोपेको १३ महिनामा फल दिन सुरु गर्छ । उनले वार्षिक ६ लाखको बिरुवा बिक्री गर्दै आएका छन्।

उनको फर्ममा उत्पादन भएका फल र बिरुवा जिल्लाको स्थानीय तथा बाहिरी जिल्ला काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौंका बजारहरुमा बिक्री हुँदै आएको छ । समयको मागअनुसार आधुनिक प्रविधिलाई पछ्याउँदै व्यावसायिक कृषि गरेर बजारको अभाव पूर्ति गर्न सके आफ्नो ठाउँको माटोमै मनग्य आम्दानी र कैयौँ अवसरहरु रहेका किसान युवा काफ्लेको बुझाइ छ ।

सरकारी, गैरसरकारी निकाय तथा सामाजिक रुपमा पनि किसान र कृषि पेसालाई हेपाइको दृष्टिले हेरिने भएकाले युवा पुस्तामा खेती, किसानी कर्ममा आकर्षण नभएको उनले बताए। व्यावसायिक कृषिले मात्र समृद्ध नेपाल बन्ने भएकाले सरकारले देशका बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने तथा दिगो रुपमा व्यावसायिक खेती गर्न सहयोग गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने उनको सुझाव छ ।

पछिल्लो समय ड्रागन फल उत्पादनमा विशेषगरी जिल्लाका पढेलेखेका युवाहरु पनि आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकृत श्रीकृष्ण अधिकारीले स्वादिष्टसँगै स्वास्थ्यवद्र्धक र बहुपयोगी फल ड्रागन जिल्लाका सबै स्थानीय तहहरुमा बिस्तारै फस्टाउँदै गएको र आवश्यक प्राविधि सहयोग प्रदान गरिँदै आएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]