१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

धनुषामा भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवन अलपत्र

Logo
लक्ष्मी चौधरी प्रकाशित सोमबार, कार्तिक १३, २०८०

जनकपुरधाम । धनुषामा भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको निर्माण कार्य अधुरो हुँदा उक्त विद्यालयहरूले थप कार्यक्रम पाउन सकेका छैन ।

धनुषा जिल्लाको नगराइन नगरपालिकास्थित भारतीय लगानीमा निर्माण हुन थालेको छ वटा सामुदायिक विद्यालयको भवन १२ वर्ष बित्दा पनि सम्पन्न हुन नसकेपछि विद्यालयमा आवश्यक थप शैक्षिक कार्यक्रम ल्याउन नसकिएको हो ।

पालिकाको ६ वटा सामुदायिक विद्यालयका कक्षा कोठाहरू निर्माण गर्ने भनी आएको बजेटबाट काम सम्पन्न नहुँदा विद्यालयका लागि थप शैक्षिक कार्यक्रम समेत सम्बन्धित निकायले दिन नमानेको प्राध्यापकहरूको भनाइ छ ।

पालिकाको जटहीस्थित राष्ट्रिय आधारभूत विद्यालय बाहेक पाँचवटै विद्यालयको छत ढलानपछि बिचमै काम छाडेर निर्माण कम्पनी भागेपछि भवन अभावमा पठनपाठनमा समेत प्रभाव भएको छ । साथै एउटै कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको जटिहीस्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक अनुजकुमार मिश्रले बताउनुभयो ।

उहाँका अनुसार भवन निर्माण नहुँदा सम्बन्धित निकायले थप कार्यक्रम तथा योजना दिन मानेका छैनन् । कक्षा कोठाको अभावमा एउटै कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन गर्दा पढाइमा समेत असर परेको उहाँ बताउनुहुन्छ । चाँडो भवन निर्माण कार्य सम्पन्न भयो भने विद्यालयलाई थप सुधार गर्न सकिने प्रधानाध्यापक मिश्रको भनाइ छ ।

यस्तै, नगरपालिका वडा नं. २ स्थित राघोपुरमा अवस्थित राघोबाबा आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र मण्डल भन्नुहुन्छ, ‘‘आजभोलि भवन तयारी हुने भन्दाभन्दै यतिका वर्ष बित्यो । कठिनाइमा पनि बालबालिकालाई पढाई रहेका छौँ । कक्षा कोठा नहुँदा बाध्य भएर एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नु परेको छ ।’’

छ वटा विद्यालयमध्ये राष्ट्रिय आधारभूत जटहीको विद्यालयबाहेक पाँच विद्यालयमा ६८ प्रतिशत मात्र निर्माण भएको भने छत ढलानसम्मको काम भएको छ ।

२०६८ सालमा दुई करोड ९१ लाखमा ठेक्का लिएको चेतना युके एण्ड जेभी निर्माण सेवा कम्पनीले १२ वर्षमा पनि काम सम्पन्न नगरेपछि विद्यालय भवन अलपत्र परेका छन् ।

सम्झौताअनुसार निर्माण कम्पनीले दुई पटकसम्म म्याद थप गराई काम नगरेपछि विद्यालयको पठनपाठन समेत प्रभावित बनेको प्राधानाध्यपकहरुको भनाइ छ ।

काम अलपत्र छाडेपछि सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय जनकपुरले निर्माण कम्पनीलाई डेढ वर्षका लागि काँचो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको थियो भने उक्त काम यही साउनमा द डिजाइनर्स नेपाललाई एक वर्षमा काम सम्पन्न गर्नेगरी दुई करोड ६८ लाख रुपियाँमा ठेक्का लगाएको छ ।

सङ्घीय आयोजना कार्यान्वयन इकाई जनकपुरका प्रमुख प्रदीप खनालका अनुसार पुरानो कम्पनीको ठेक्का तोडी, जमानत जफत गरिएको छ भने पछिल्लो समयको जानकारी अनुसार निर्माण कम्पनी युके एण्ड जेभीलाई सार्वजनिक खरिद ऐन अनुसार डेढ वर्षका लागि कालो सूचिमा समेत राखिएको छ ।

सम्झौता अनुसार १८ महिनामा काम सम्पन्न हुनु पर्नेमा निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा भवन अलपत्र परेको हो । काम छाडेको निर्माण कम्पनीलाई सम्झौता भएको रकमको भुक्तानीमध्ये ७७ लाख मात्र भुक्तानी दिन बाँकी रहेको इकाईका प्रमुख खनालले जानकारी दिनुभयो ।

भारतीय लगानीमा निर्माण हुन लागेको उक्त भवनमा पाँच वटा कक्षा कोठासँगै प्रधानाध्यापकको कोठा र महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गर्ने गर्नुपर्ने थियो ।

विद्यालय भवन निर्माणका लागि भारतले चार करोड २३ लाख रुपियाँ सहयोग गरेको थियो । सोही रकममध्येबाट १२ वर्ष पहिला विद्यालय भवनको निर्माण कार्य थालनी भएको थियो ।- गोरखापत्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]