१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

कम लागतको छरुवा धानखेतीबाट किसान लाभान्वित

Logo
न्यूज मधेश प्रकाशित बुधबार, कार्तिक २२, २०८०

झापा । झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ उत्साही बनेका छन् ।

कनकाई नगरपालिका–५ का ज्ञानेन्द्र शिवाकोटीले पहिलोपल्ट छरुवा धान लगाएका थिए । “डुब्नु होला, कस्तो फल्ला भनेर सुरुमा गाउँलेले सचेत गराएका थिए”, उनले भने, “अहिले खेतमा अरु प्रविधिबाट गरिएको खेतीले भन्दा बढी उत्पादन दिएको देखेपछि गाउँले हामीलाई पनि सिकाइदिनुपर्यो भन्दै धाउन थालेका छन् ।”

ब्याडमा बेर्ना उमारेर रोप्ने परम्परागत प्रविधिमा नेपालमा धानखेती आधारित छ । तर छरुवा प्रविधिमा धानको बीउ ९बेर्ना० रोप्ने झन्झट नै गर्न पर्दैन । खनजोत गरेको जमिनमा धानको बीउदानालाई मकै छरे जसरी छरिन्छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले छरुवा प्रविधिबाट गरिएको धानखेतीमा परम्परागत रोपुवा धानखेतीको तुलनामा आधा लगानीले पुग्ने बताए । “रोपुवा खेतीमा भन्दा आधा कम लगानीमै खेती हुने भएकाले छरुवा धानखेतीको फाइदै फाइदा छन्”, उनले भने, “परम्परागतरूपमा गरिँदै आएको रोपुवा विधिमै किसान अभ्यस्त भएकाले नयाँ प्रविधिमा जान केही समय लाग्छ । तथापि छरुवा प्रविधिले कम लगानीमा धेरै उत्पादन दिन्छ भन्ने कुरा हामी बुझाउने काम गर्दै छौँ ।”

कनकाई नगरपालिकाका कृषि शाखाका प्रमुख ध्रुवकुमार उप्रेतीले आफ्नै खेतमा यसपालि नयाँ प्रयोगको रूपमा छरुवा धान लगाएका छन् । खेतमा झुलेका धानका बाला देखेर उप्रेती दंग छन् । “छरुवा धानखेतीबाट फाइदा हुन्छ भनेर किसानलाई बुझाउन अब सजिलो भएको छ”, उनी भन्छन्, “किनकि म आफैँले पनि छरुवा प्रविधिबाट धानखेती गरिरहेको छु ।”

एक बिघा १५ कठ्ठा जग्गामा छरुवा धान लगाएको र उत्पादन राम्रै रहेको उनले जानकारी दिए । अर्को वर्ष खेती विस्तार गरेर आठ बिघा जग्गामा छरुवा धान लगाउने सोच रहेको उप्रेती बताउँछन् ।

जोत्ने, हिल्याउने, ब्याड राख्ने, बीउ काड्ने, रोप्ने र गोडमेल गर्नेलगायतका काममा बढी जनशक्ति लाग्ने भएकाले अधिकांश किसान परम्परागत धानखेती घाटादायी भएको गुनासो गर्छन् । कतिपयले महँगो खेती भएकै कारण धानखेत मासेर अन्य बाली र नगदे बालीको बगान लगाउन थालेका छन् । छरुवा धानखेतीमा कम जनशक्ति लाग्ने भएकाले किसानका लागि यो प्रविधि बरदान नै हुने विज्ञको भनाइ छ । यसबाट उत्पादनमा वृद्धि हुने र किसानको पलायन रोक्ने उनीहरू बताउँछन् ।

गौरादहको महारानीझोडा कृषि सहकारी संस्थाले जग्गा लिजमा लिएर धेरै क्षेत्रफलमा नमूनाका रुपमा छरुवा धानखेती गरिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए । बढ्दो वैदेशिक रोजगारीका कारण युवा जनशक्ति विदेश पलायन भएको हुँदा कृषि क्षेत्रमा जनशक्तिको अभाव छ । यस्तो बेला थोरै जनशक्तिले धेरै उत्पादन हुने छरुवा धानखेतीले किसानलाई आकर्षित गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]