२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

कम लागतको छरुवा धानखेतीबाट किसान लाभान्वित

Logo
न्यूज मधेश प्रकाशित बुधबार, कार्तिक २२, २०८०

झापा । झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ उत्साही बनेका छन् ।

कनकाई नगरपालिका–५ का ज्ञानेन्द्र शिवाकोटीले पहिलोपल्ट छरुवा धान लगाएका थिए । “डुब्नु होला, कस्तो फल्ला भनेर सुरुमा गाउँलेले सचेत गराएका थिए”, उनले भने, “अहिले खेतमा अरु प्रविधिबाट गरिएको खेतीले भन्दा बढी उत्पादन दिएको देखेपछि गाउँले हामीलाई पनि सिकाइदिनुपर्यो भन्दै धाउन थालेका छन् ।”

ब्याडमा बेर्ना उमारेर रोप्ने परम्परागत प्रविधिमा नेपालमा धानखेती आधारित छ । तर छरुवा प्रविधिमा धानको बीउ ९बेर्ना० रोप्ने झन्झट नै गर्न पर्दैन । खनजोत गरेको जमिनमा धानको बीउदानालाई मकै छरे जसरी छरिन्छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले छरुवा प्रविधिबाट गरिएको धानखेतीमा परम्परागत रोपुवा धानखेतीको तुलनामा आधा लगानीले पुग्ने बताए । “रोपुवा खेतीमा भन्दा आधा कम लगानीमै खेती हुने भएकाले छरुवा धानखेतीको फाइदै फाइदा छन्”, उनले भने, “परम्परागतरूपमा गरिँदै आएको रोपुवा विधिमै किसान अभ्यस्त भएकाले नयाँ प्रविधिमा जान केही समय लाग्छ । तथापि छरुवा प्रविधिले कम लगानीमा धेरै उत्पादन दिन्छ भन्ने कुरा हामी बुझाउने काम गर्दै छौँ ।”

कनकाई नगरपालिकाका कृषि शाखाका प्रमुख ध्रुवकुमार उप्रेतीले आफ्नै खेतमा यसपालि नयाँ प्रयोगको रूपमा छरुवा धान लगाएका छन् । खेतमा झुलेका धानका बाला देखेर उप्रेती दंग छन् । “छरुवा धानखेतीबाट फाइदा हुन्छ भनेर किसानलाई बुझाउन अब सजिलो भएको छ”, उनी भन्छन्, “किनकि म आफैँले पनि छरुवा प्रविधिबाट धानखेती गरिरहेको छु ।”

एक बिघा १५ कठ्ठा जग्गामा छरुवा धान लगाएको र उत्पादन राम्रै रहेको उनले जानकारी दिए । अर्को वर्ष खेती विस्तार गरेर आठ बिघा जग्गामा छरुवा धान लगाउने सोच रहेको उप्रेती बताउँछन् ।

जोत्ने, हिल्याउने, ब्याड राख्ने, बीउ काड्ने, रोप्ने र गोडमेल गर्नेलगायतका काममा बढी जनशक्ति लाग्ने भएकाले अधिकांश किसान परम्परागत धानखेती घाटादायी भएको गुनासो गर्छन् । कतिपयले महँगो खेती भएकै कारण धानखेत मासेर अन्य बाली र नगदे बालीको बगान लगाउन थालेका छन् । छरुवा धानखेतीमा कम जनशक्ति लाग्ने भएकाले किसानका लागि यो प्रविधि बरदान नै हुने विज्ञको भनाइ छ । यसबाट उत्पादनमा वृद्धि हुने र किसानको पलायन रोक्ने उनीहरू बताउँछन् ।

गौरादहको महारानीझोडा कृषि सहकारी संस्थाले जग्गा लिजमा लिएर धेरै क्षेत्रफलमा नमूनाका रुपमा छरुवा धानखेती गरिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए । बढ्दो वैदेशिक रोजगारीका कारण युवा जनशक्ति विदेश पलायन भएको हुँदा कृषि क्षेत्रमा जनशक्तिको अभाव छ । यस्तो बेला थोरै जनशक्तिले धेरै उत्पादन हुने छरुवा धानखेतीले किसानलाई आकर्षित गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]