२८ आषाढ २०८१, शुक्रबार
12-07-2024 , Fri
×

घरदेशका परिवार पाल्न परदेशमा भारी बोक्दै नेपाली

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष १२, २०८०

पिथौरागढ । बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन्। उनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन्। पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दैआउनुभएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउछन्।

‘नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ’, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दैआएका बोहराले भने। उनले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गरे।

पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन्। उनले जस्तै सुदूरपश्चिम र कर्णली प्रदेशका सयौँ नेपाली भारतीय सहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन्। ‘यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्’, बोहराले भने। नेपालमै पसिना बगाउने आफ्नो रहर भए पनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो गरे।

‘गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदुरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ’, बोहराले भने। भारतमा पनि मजदुरी गर्न सहज नभएको उनको भनाइ छ। ‘कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ’, उनले भने, ‘यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको सङ्ख्या अत्यधिक छ।’

बोहरासँगै रोजगारीका लागि आएका तीन जना मिलेर रु दुई हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आएका छन्। मजदुरी गर्न आउने जाने क्रम चलिरहन्छ। उनीहरुले घरको खेतीपाती पनि आफैले गर्नुपर्ने बाध्यता छ। ‘यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौँ’, बोहराले भने, ‘पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन।’

बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेहीका परमानन्द जोशी पनि रोजगारीका लागि पिथौरागढ पुगेका छन्। उनी खेतीपातीको काम सकेर रोजागरी खोज्दै पिथौरागढ पुगेका हुन्। ‘मजदुरी गरेबापत दैनिक रु छ सय पाइन्छ’, जोशीले भने, ‘घरबाट आएको केही दिनमात्रै भयो।’ उनले ४० वर्षदेखि भारतमा मजदुरी गर्दै आएको बताए। स्वदेशमा परिवार पाल्नका लागि कुनै सीप नचलेपछि बाध्य भएर विदेशिनुपरेको उनले गुनासो गरे।

जोशीका तीन छोरा छन्। आर्थिक अभावकै कारण उनीहरुलाई पढाउन नसकेको उनी बताउँछन्। ‘एउटा छोरा रोजगारीका लागि भारतकै बैङ्लुरु गएको छ। दुई छोरा घरमै छन्’, जोशीले भने, ‘छोराले पनि नेपालमा रोजगारी पाउन सकेनन्।’

पिथौरागढको बजार पस्दा घरदेश छाडेर मजदुरी गरिरहेका सयौँ नेपाली भेटिन्छन्। तीस वर्षअघि सुदूरपहाडका नेपाली पिथौरागढ पुगेर घिउ बेच्थे। घिउ बेचेर नुन र लत्ताकपडा किन्थे। पहिले वस्तु र बस्त्रको व्यापार हुन्थ्यो। अहिले पसिनाको व्यापार चलेको छ।

बैतडीको पुर्चौंडीका उत्तमसिंह धामीको पनि उही बाध्यता छ। ‘यहाँ मजदुरी गरेर घरखर्चको जोहो गर्न थालेको ३५ वर्ष भयो’, धामीले भने, ‘छ महिना स्वदेशमा घरखेतको काम गरेर छ महिना यहाँ मजदुरी गर्न आउँछौँ।’ बैतडीमा रहेको फलाम खानी उत्खनन गरे आफूहरुले घर नजिकै रोजगारी पाउन सक्ने उनको भनाइ छ।

‘हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन। मेरो जिल्ला बैतडीमा फलाम खानी छ। सरकारले उत्खनन त गर्नुपर्‍यो’, उनले भने, ‘सरकारीस्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुनेछन्।’

पिथौरागढको पुरानो नाम ‘सोर’ हो। कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए। अहिले पनि उपचार र किनमेलका लागि उनीहरु पिथौरागढ धाउँछन्। पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौँ नेपाली भारी बोक्दै गरेका भेटिन्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । जिल्लाको लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरण, जनशक्ति व्यवस्थापन तथा विद्यालयको भौतिक स्तरोन्नतिमा जोड दिएको छ । नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यावहारिक र प्रविधिमैत्री बनाउन एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र कक्षा कोठा सुधारका लागि आर्थिक वर्ष २०७९÷८० मा रु छ करोड र यस […]

मोरङ । जिल्लाको धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा रहेको छ । राजा धनपालको नामबाट गाउँपालिकाको नामाकरण गरिए पनि उक्त स्थानको संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा पर्दै गएको हो । धनपालथान गाउँपालिकाको वडा नं ७ मा अवस्थित छ । यो ठाउँलाई स्थानीय भाषामा राजा धनपालको रजवाडा भनिन्छ । प्राचीन रजवाडा झण्डै चार […]

काठमाडौं । सरकारले जनकपुरको गुठी तथा सार्वजनिक जग्गा अतिक्रमणबारे अध्ययन गर्न पूर्वसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले थपलियाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अन्तर्गतको जग्गा र सम्पत्ति संरक्षण गरी पुरानै अवस्थामा फिर्ता ल्याउनेबारे अध्ययन गर्नेछ । […]