१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

स्थानीय भन्छन्: झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले?

Logo
न्यूज मधेश प्रकाशित आइतबार, फाल्गुण १३, २०८०

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन।

तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ।

धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिराहा नगरपालिका-१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने अवधि २०८१ साल असार ११ सम्म थियो। निर्माणको जिम्मा पाएको श्री सपना/उमा एण्ड कम्पनी र थानी जेभी बत्तिसपुतली काठमाडौंले समय अगावै अर्थात् गत माघ १८ गते नै पुल निर्माण पूरा गर्‍यो। सोही पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विधिवत् उद्घाटन गरे।

त्यस अवसरमा प्रधानमन्त्री दाहाललाई स्थानीय र जनप्रतिनिधिले अब कमला नदीमाथिको निर्माणाधीन मोटरेबल पुललाई छिटोभन्दा छिटो टुङ्ग्याउने गरी पहलकदमी लिन आग्रह गरे। ‘नदी तर्नका लागि त यो पुलले निकै सजिलो भएको छ तर मोटरगाडी नचल्ने भएकाले हाम्रा ठूला दुःख त बाँकी नै छन्। छिट्टै पुल निर्माण हुन्छ भन्ने आशा छ’, स्थानीय ८३ वर्षीय सत्यनारायण साहले भने।

उनले नजिकैको पुल समय अगावै पूरा हुने र अर्को पुल १२ वर्षसम्म पनि पूरा नहुने भन्दै समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। ‘बजेट छैन भने सरकारले दिनुपर्‍यो। बजेट भएर पनि काम गरेको छैन भने ठेकेदारलाई छिटो गर्न भन्नुपर्‍यो’, उनले भने, ‘हामी झोलुङ्गे पुल बने पनि उताको दुःख कसरी बिर्सिन सक्छौं?’

स्थानीय राजुदेवी दासले पनि झोलुङ्गे पुलले केही राहत भए पनि वर्षौंदेखिको समस्याबाट मुक्तिका लागि उत्तम विकल्प मोटरेबल पुलको निर्माण नै भएको बताए। उनले प्रधानमन्त्री नै आएकाले अब मोटरेबल पुल चाँडो बन्ने आशा जागेको बताए। ‘झोलुङ्गे पुलले नजिकका बस्ती, साइकल, मोटरसाइकलमा जानेलाई केही राहत भयो तर गाडी चल्ने पुल निर्माण नहुँदा सबै समस्या समाधान भएका छैनन्। त्यसैले त्यो पुल चाँडै बनाउनका लागि भन्नुपर्छ’, दासले भने।

दासको जस्तै भनाइ छ स्थानीय सरस्वतीदेवी दासको पनि। कमला नदीमा पानी बढेकाबेला जोखिम मोलेर जानुभन्दा झोलुङ्गे पुलको प्रयोग गर्नु आफूहरूका लागि सुरक्षित भएको उनको भनाइ छ। उनी भने, ‘यो पुल निर्माण भएकोमा सरकारलाई धन्यवाद छ। अब १२ वर्षसम्म बन्न नसकेको पुल पनि चाँडै बनोस भन्ने चाहना छ। प्रधानमन्त्री नै आउनुभएपछि केही आशा पलाएको छ।’

सत्यनारायण, राजुदेवी र सरस्वती मात्रै होइन धनुषा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पनि प्रधानमन्त्री दाहाललाई हुलाकी सडकअन्तर्गतको मोटरेबल पुल चाँडो निर्माणका लागि पहलकदमी लिन आग्रह गरे।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद यादवले हुलाकी सडकअन्तर्गत कमला नदीमाथि बनिरहेको पुल यथाशीघ्र निर्माणका लागि निर्देशन दिन आग्रह गरे। उनले भने, ‘निर्माण सुरु भएको वर्षौसम्म पनि कमला नदीमाथि मोटरेबल पुल बन्न सकेको छैन। प्रधानमन्त्रीले त्यसबारे जानकारी लिइ तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिन आवश्यक छ। त्यसका लागि म ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले कमला नदीकै कारण स्थानीयको उर्वरभूमि काम नलाग्ने अवस्थामा रहेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत तथा मुआब्जाको व्यवस्था, मानवबस्ती तथा बाँकी भूभागको संरक्षणका लागि पक्की तटबन्ध निर्माणका लागिसमेत आग्रह गरे।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री यादवले मधेसमा रहेका बाटो, सिँचाइ तथा नदी कटान, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

‘समथर र उर्बर भूमि भएर पनि मधेस प्रदेशमा समस्यामा छन्। आगामी आवको बजेटमा आवश्यक रकम बिनियोजन गरी यहाँका सम्भावना र समस्या सम्बोधनका लागि पहल हुनेमा विश्वास छ’, मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष आग्रह गरे।

जवाफमा प्रधानमन्त्रीले मधेसको विकास नभई मुलुक विकास नहुने भन्दै मधेसको विकासमा आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए। उनले हुलाकी सडकअन्तर्गत कमला नदीमा निर्माण भइरहेको मोटरेबल पुलको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए।

‘यो झोलुङ्गे पुलले धनुषा र सिरहाका जनतालाई धेरै ठूलो राहत पुर्‍याएको छ। वर्षायाममा यहाँका जनताले भोग्नुपर्ने समस्या अन्त्य भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘भत्केको पुलका विषयमा पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यहाँको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु।’

प्रधानमन्त्री दाहालले कमला नदीमा पक्की तटबन्ध नभएका कारण खेतीयोग्य जमिन बगरमा परिणत भएकाबारे ध्यानाकर्षण भएको बताउँदै तराईमा सिँचाइ विस्तार गरी उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]