०१ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

बारीमा तरकारी, घरमै रोजगारी

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, चैत्र २७, २०८०

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो।

टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्।

“मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारीखेती हो । बिहानदेखि साँझसम्म यहीँ काम गर्छु”, आफूले गरेको तरकारीखेती देखाउँदै टेकराजले भने, “आफ्नो घरमा बसेर तरकारीखेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ।”

टेकराजले आफूसँगै घरपरिवारका सदस्यहरुलाई पनि तरकारीखेतीको काममा लगाउने गरेका छन्। तरकारीखेतीबाटै जीवन निर्वाह गर्दै आएका उनले वार्षिक करिब रु १० देखि १२ लाखसम्म कमाई गर्ने गरेको बताए।

व्यावसायिक तरकारीखेतीमा दैनिक श्रम गर्ने उनलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ। विगतमा उनी निर्वाहमुखी खेती गर्दै आएपनि पछिल्लो एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। बाह्रैमास उनको खेतबारी हराभरा देखिन्छ। मौसमी र बेमौसमी तरकारीखेती गर्ने उनको दैनिकी पनि निकै व्यस्त हुन्छ।

“परिवारसँगै हाँसीखेली काम गर्न पाइएको छ, परिवारमा दुःख पर्दा सहयोग हुन्छ”, टेकराजले भने, “कोही बिरामी पर्दा विदेशबाट भनेकै बेला सहयोग गर्न घर आउँछु भन्न पाइँदैन, सबै परिवार घरमा हुँदा एकअर्काका लागि पनि निकै सहयोग पुगेको छ।”

अहिले उहाँको खेतबारीमा काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानीलगायत तरकारी बिक्री गर्ने अवस्थामा छन् भने घिरौँला, तोराय, लौका, तर्भुजलगायत तरकारी तयार हुँदै गएका छन्। रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि टेकराज प्रेरणाको स्रोत बनेका छन्।

उत्पादित कृषि उपज घरबाटै बिक्री हुने गरेको उनले बताए। बारीमा तरकारी रोपेर पनि स्वरोजगार बन्न सकिने भन्दै उनले यसमा सरकारले प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए।

“मेहेनत र काम गर्ने इच्छा शक्ति हुने होभने पैसा कमाउन विदेश नै जानुपर्दैन। यहाँ पनि सम्भावना छन्। मेहेनत गर्न सके बाँझो रहेको जग्गाबाटै लाखौँ आम्दानी गर्न सकिन्छ”, टेकराजले भने “धनआर्जनका लागि सरकारी जागीर खानैपर्छ वा विदेश पुग्नुपर्छ भन्ने सोच मसँग छैन ।”

विगतमा गहुँ, मकै लगाउने जग्गामा टेकराजले अहिले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन्। परिवारका लागि मुख्य आयस्रोत भनेकै तरकारी खेती हो।

“विदेश बसेर भन्दा घरमा बसेर तरकारी खेती गर्दा आनन्द छ। परिवारसँग बस्न पाइएको छ, खान पाइएको छ, मेहेनत गरे घरमै बसेर तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ”, टेकराजले भने, “विदेशमा पसिना बगाएर कमाएको पैसा घरखर्च मै सकिने हुन्छ, तरकारी खेती गरेर वर्षमा लाख रूपैयाँ बचत हुँदा किन विदेश गएर पैसा कमाउने सपना देख्ने रु विदेशमा पनि रुखमा पैसा फल्ने होइन, जहाँ गरेनि दुःख गर्नैपर्ने हो।”

टेकराजको तरकारीखेती देखेर अहिले ललही गाउँका अन्य किसान पनि व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन्। रोजगारीका लागि विदेश नै पुग्नुपर्छ भन्ने मानसिकता युवा पुस्ताले हटाउनुपर्ने अर्का कृषक मधु थारूले बताए।

राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । बगरखेती गर्ने किसानलाई रु पाँच लाखसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले जानकारी दिइन्।

उनका अनुसार यो वर्ष राप्ती सोनारी–५ बिनौनास्थित ललही टेकराज थारूको बगरखेती समूह र वडा नं १ का बगरखेती कृषक मानबहादुर रानामगरलाई रु पाँच लाख बराबरको अनुदानको सम्झौता गरिएको छ।

बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए। उनले बगरखेती किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणका लागि समेत गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]