२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, बैशाख २०, २०८१

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् ।

मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ ।

गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र यी पशुबस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन् । जिल्लाका सबैजसो स्थानीयतहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । जिल्लाका १५ स्थानीयतहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिले गृहिणीको ‘गुइँठा’ बनाउने काममा व्यस्तता बढेक हो ।

“कि करु रु खाना त खाइपरत, अइकेलेल जोगार त कर परल नई” (के गर्नु ? खानु त परिहाल्छ, त्यसका लागि इन्धनको जोहो त गर्नै पर्याे नि) धमाधम गुइँठा बनाउँदै भङ्गाहा–३ सकरी बस्तीकी रामराजी सदा भन्छन्, “अखैन जोगार नइकरब त बर्खामें दिकत होयत” (अहिले इन्धनको जोहो नगरे बर्खामा अप्ठ्यारो हुन्छ) बर्खामा गुइँठा चाँडै बल्ने र सल्केपछि ननिभ्ने भएपछि गृहिणी यसमा खाना पकाउन अभ्यस्त भएका छन् ।

जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठा (गोरहा)मा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आमविश्वास छ । बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक सुरेश पासवान गोबरका ‘चिपरी’ र ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउनुहुन्छ ।

यहाँका महिला अहिले कृषि कार्य नहुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ बनाउन व्यस्त भएका हुन् । घरमा पशुबस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर लगाउने र गोठमा नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घर वरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ । यसरी दुई-तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई-तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ ।

सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ । यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिना जति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ ।

खासगरी वन क्षेत्र टाढा भएका र ग्यास किन्ने हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाउनुपर्ने बाध्यता छ । तराई क्षेत्रमा गाई, गोरु, भैँसी र राँगाको गोबर इन्धनमा खर्च भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् ।

“खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै बर्दिबास–७ का विन्देश्वर यादव भन्नुहुन्छ, “खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।” अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वरा शक्ति ह्रास भएर यहाँका जग्गा बेकामे बन्ने किसान बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]