०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

जनमतलाई मधेस सरकारको नेतृत्व !

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख ३०, २०८१

जनकपुरधाम । मधेस प्रदेश सत्ता परिवर्तन अन्तिम चरणमा पुगेको छ । आइतबार एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिएका छन् । अब सरकारमा जसपा नेपाल मात्रै छ ।

प्रदेश सभामा जसपा नेपालको १९ सिट छ । यो दल आफैँ केही दिनअघि विभाजित भएको थियो । नवगठित जसपामा कति सांसद जानेछन् भन्ने प्रष्ट छैन ।

लोसपा तथा जनमत पार्टीसँग उसको तिक्ततापूर्ण सम्बन्ध रहेका कारण ती दलको साथ पाउने सम्भावना लगभग छैन । उसलाई २२ सिट रहेको कांग्रेस र ७ सिट रहेको एकीकृत समाजवादीले साथ दिन सक्छन् । तर, त्यो अपर्याप्त हुने छ ।

त्यसैले, जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले पद गुमाउने निश्चित भएको छ ।

सरकारबाट बाहिरिएका एमाले र माओवादी केन्द्रले केही दिनयता आफूहरूकै नेतृत्वमा सरकार गठनको प्रयत्न थालिरहेका थिए । तर, कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने निर्णयमा पुग्न नसक्दा राजीनामा धकेलिएको थियो ।

जनमतलाई सरकारको नेतृत्व !

एक जना नेताले अब जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको बताएका छन् । प्रदेश सभामा जनमत पार्टीसँग १३ सांसद छन् । यो प्रदेश सभाको चौथो ठूलो दल हो ।

यद्यपी एमाले र जनमत पार्टीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सम्भावना बढि रहेको ति नेताले बताए । अहिले एमालेको नेतृत्वमा सरकार बनाएर अर्को पटक जनमतलाई दिने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

२०७९ पुसमा तत्कालीन गठबन्धनले संघदेखि प्रदेशसम्म सरकारको नेतृत्व बाँडफाँट गर्दा मधेस प्रदेशमा जसपा नेपाल र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, सरकार गठन भएपछि सो विषय ओझेलमा परेको थियो ।

मुख्यमन्त्री यादवले पनि कहिले एमाले र माओवादी केन्द्र तथा कहिले कांग्रेस र माओवादी केन्द्रको साथ लिएर सरकार चलाएका थिए ।

यसबीचमा जनमत पार्टीले सरकारबाट बाहिरिँदै मुख्यमन्त्री यादवसँग संघर्ष गर्दै आएको थियो । सरकारको नेतृत्व नै आफूहरूले पाउनुपर्ने उसको माग थियो ।

संघीय गठबन्धनमा जोडिनका लागि पनि उसले यो विषयलाई पनि एउटा सर्तको रुपमा प्रस्तुत गरेको थियो । सर्त पूरा नभएकै कारण ऊ अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छैन ।

जसपा विभाजन भएपछि एमाले र माओवादी केन्द्रले उपेन्द्र यादवलाई धकेल्ने र सीके राउतलाई नजिक राख्ने तयारी गरिरहेका छन् । परिणामतः मधेश प्रदेश सरकारको नेतृत्व नै जनमतलाई दिएर संघीय सरकारमा सो दललाई जोड्ने तयारी हुनसक्ने आकलन गरिएको छ ।

प्रदेश सभामा एमालेका २५ (सभामुखसहित), माओवादी केन्द्रका ९, जनमत पार्टीका १३, नागरिक उन्मुक्ति पार्टीका एक गरी ४८ सिट (सभामुखसहित) मात्रै पुग्छ । सरकारमा दाबी गर्न ५४ सिट आवश्यक पर्छ ।

जसपा नेपाल विभाजित भएर गठन भएको जसपाको पक्षमा कति सांसद रहन्छन्, सो पक्षले साथ दिने सम्भावना छ ।

सम्भवतः एमाले र माओवादी केन्द्रले त्यसको आन्तरिक हिसाबकिताब गरेरै आइतबारको कदम उठाएका हुनसक्छन् । नत्र ७ सांसद रहेको एकीकृत समाजवादी, एक सिट रहेको संघीय समाजवादी पार्टी, एक सिट रहेको राप्रपा जस्ता पार्टीको पनि भर पर्नुपर्ने हुनसक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]