२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

जब पूर्वमन्त्रीले गृहमन्त्रीको कार्यकक्षमै छिरेर कर्मचारीलाई निर्देशन दिए…

Logo
लोकान्तर प्रकाशित मंगलबार, जेठ ०१, २०८१

काठमाडाैं । मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ ।

गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए ।

आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका कर्मचारीलाई बोलाएर विभिन्न निर्देशन समेत दिएको ती कर्मचारीको भनाइ छ ।

‘पूर्व गृहमन्त्रीज्यू हिजो कार्यकक्षमा आएर मन्त्री बस्ने कुर्सीमा बसी फेरि म नै गृहमन्त्री बनेर आउँदैछु भन्नुभयो,’ ती कर्मचारीले लोकान्तरसँग भने, ‘के कति फाइलहरू छन्, सबै ल्याऊ भन्दै निर्देशन दिनुभयो ।’

समिमले आफ्नो कार्यकालमा नियुक्त गरिएका करारका कर्मचारीहरूलाई बोलाएर निर्देशन दिएको उनको भनाइ छ ।

‘निवर्तमान मन्त्री (राजकुमार लेखी)को कार्यकालमा के–के काम भयो, सबै फाइल ल्याऊ भनेर निर्देशन दिनुभयो,’ ती कर्मचारीले भने, ‘सचिवज्यू समेत मन्त्रालयमा नभएका बेला उहाँ आएर त्यसरी निर्देशन दिँदा हामी सबै अलमलमा परेका थियौं ।’

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएपछि मधेशमा गृहमन्त्रालय नेतृत्वविहीन छ । सोमबारको घटनापछि मन्त्रीको कार्यकक्षमा मंगलबारबाट ढोका लगाइएको छ ।

पूर्वमन्त्री समिम सोमबार मन्त्रीको कार्यकक्षमा आएर मन्त्रीकै कुर्सीमा बसेको विषयमा जिज्ञासा राख्दा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद खरेलले आफू काठमाडौंमा रहेको बताए ।

सचिव वीरेन्द्र यादव पनि आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजे ।

‘हिजो क्याबिनेट बैठक थियो । त्यसकारण लामो समय मुख्यमन्त्री कार्यालयमै थिएँ,’ सचिव यादवले लोकान्तरसँग भने, ‘त्यसैले मलाई केही थाहा छैन, सूचना अधिकारीलाई सोध्नुस् ।’

मन्त्रालयका सूचना अधिकारी सन्दीपकुमार सिंहले पूर्वमन्त्री समिम मन्त्रालयमा आएको स्वीकारे । तर, मन्त्रीको कुर्सीमा भने नबसेको उनको भनाइ छ ।

‘उहाँ मन्त्रीको कुर्सीमा बस्नुभएको होइन । मन्त्रालयको इन्जिनीयर तस्वे जुली राइनको कार्यकक्षमा बस्नुभएको हो,’ सूचना अधिकारी सिंहले लोकान्तरसँग भने, ‘करिब १ बजेदेखि २ बजेसम्म उहाँ मन्त्रालयमा हुनुहुन्थ्यो ।’

नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्वमन्त्री समिम भने आफू मन्त्रालयमा चिया खान मात्र गएको बताए ।

‘हिजो नेपाली कांग्रेस मधेश प्रदेशका मुख्य सचिव पनि मसँगै हुनुहुन्थ्यो । शुरूमा मुख्यमन्त्री कार्यालयमा गएको थिएँ । त्यसपछि केहीबेर भौतिक पूर्वाधार मन्त्रालयमा गएको थिएँ,’ समिमले लोकान्तरसँग भने, ‘आएका बेला गृह मन्त्रालयमा पनि जाऊँ भनेर गएको हो ।’

आफू मन्त्रालयमा गए पनि गृहमन्त्रीको कार्यकक्षमा नबसेको उनको जिकिर छ ।

‘राज्यमन्त्री बस्ने कार्यकक्षअगाडि रहेको वेटिङरूममा बसेर कर्मचारीहरूसँग कुराकानी गरेको हो,’ उनले थपे, ‘मैले रक्सी खाएको कुरा पनि हावादारी हो । मैले रक्सी खाएको कसैले प्रमाणित गरिदियो भने सांसदबाट समेत राजीनामा गरिदिन्छु । ‘

समिमले राज्यमन्त्रीको ‘वेटिङ रूम’मा बसेको बताउनु र सूचना अधिकारीले इन्जिनीयरको कार्यकक्षमा बसेको भन्नुले पनि कुरा बाझिएको देखिन्छ ।

यसअघि एमालेका राजकुमार लेखी उक्त मन्त्रालयमा मन्त्री थिए । आइतबार एमाले सरकारबाट बाहिरिएपछि मन्त्रालयको कुर्सी खाली थियो ।

त्यही मौका छोपेर त्यसको भोलिपल्ट सोमबार पूर्वमन्त्री समिम त्यहाँ पुगेर मन्त्रीको कुर्सीमा बसेर कर्मचारीहरूलाई विभिन्न निर्देशन दिएको कर्मचारीहरू बताउँछन् ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेस, लोसपासहितलाई समेटेर सरकार जोगाउन प्रयास गरिरहेका छन् । एमाले र माओवादी भने जसपाका केही सांसदलाई तानेर जनमत पार्टीसहितको सरकार बनाउने प्रयासमा देखिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]