१५ कार्तिक २०८२, शनिबार
01-11-2025 , Sat
×

तरकारीखेतीबाट वार्षिक ५० लाख कमाउँदै ‘बक्सिङ’ प्रशिक्षक थापा

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ १८, २०८१

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गर्नुभएको छ । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारीखेतीलाई दिने गरेको उहाँ बताउनुहुन्छ । “म बक्सिङ प्रशिक्षक हुँ, दिउँसो जागिरतिर जान्छु”, उहाँले भन्नुभयो, “साँझ होटेलतिर पनि हुर्नुपर्छ, बिहान र कहिलेकाहीँ साँझ मात्रै तरकारीलाई समय दिएको छु ।”

कोरोना महामारीको सुरुआतमा भएको ‘लकडाउन’का बेलादेखि उहाँले व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो । सुरुमा पाँच जनाले संयुक्त तरकारीखेती गरेको भए पनि पछिल्लो दुई वर्षयता राजु एक्लैले उक्त तरकारीखेती गर्नुभएको छ । उहाँले करेला, बोडी, काँक्रा, लौका, फर्सीलगायतका खेती गर्नुभएको छ ।

डेढ बिघा क्षेत्रफलमा बोडी, डेढ बिघा क्षेत्रफलमा काँक्रा, १५ कट्ठा क्षेत्रफलमा लौका, एक बिघामा करेला, दुई बिघा जतिमा टमाटर तथा १५ कट्ठामा स्पाइस खेती गरेको राजु बताउनुहुन्छ । तरकारी खेतीमा उहाँले ४५ जनालाई रोजगारीसमेत दिनुभएको छ । दश जना मासिक तलब दिएर कामदार राख्नुभएको छ । उहाँहरुलाई मासिक रु २५ हजारसम्म तलब छ, भने बाँकीलाई ज्यालादारीमा रोजगार दिइएको राजुले बताउनुभयो । उहाँका अनुसार ज्यालादारीलाई दैनिक पाँचसयका दरले दिने गरेको उहाँले बताउनुभयो । रोजगार पाएका सबै गाउँकै हुन् । गाउँमै रोजगारी पाउँदा स्थानीय पनि खुसी भएका छन् । “गाउँमै रोजगारी पायौँ, पहिले लेबर गर्न बजार जानुपथ्र्यो”, ज्यालादारीमा काम गरिरहेकी शर्मिला चौधरीले भन्नुभयो, “तर, अहिले गाउँमै रोजगारी पाएका छौँ ।”

त्यहाँ उहाँले दुई याममा तरकारीखेती गर्दै आउनुभएको छ । हिउँदे र वर्षे तरकारीखेती गर्दै आउनुभएका उहाँले एक सिजनमा रु २० लाखदेखि बढी आम्दानी गर्दै आउनुभएको छ । “एक कुनै समय बजारले भाउ नपाउने, नियमित बर्सात हुँदा तरकारी क्षति हुने गरेको अवस्था पनि छ”, उहाँले भन्नुभयो, “त्योबाहेक राम्रो हुँदै गएमा एक सिजनमा रु २० लाखभन्दा बढी पनि आम्दानी हुने गर्छ ।”

एक याममा रु ४५ लाख खर्च आउने गरेकोसमेत उहाँले बताउनुभयो । वर्षमा दुई सिजन खेती हुँदा वार्षिक रु एक करोड खर्च हुने र त्यो खर्च कटाएर रु ५० लाखको हाराहारीमा आम्दानी हुने गरेको उहाँको भनाइ छ । तरकारीले वैशाख १५ गतेसम्म राम्रो मूल्य पाउने गरेको भएपनि त्योभन्दा पछि भने विस्तारै मूल्य घट्दै जाने गरेको उहाँ बताउनुहुन्छ । “बजार भाउमा सरकारले अलि कति ख्याल गरिदिए हुन्थ्यो, सबैतिर मूल्यमा एकरुपता भएमा सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “तीन दिनअघि मात्रै होलसेलमा रु ७० किलो बिक्री हुने गरेको बोडी हिजोआज मात्रै रु ३० मा बिक्री गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “टमाटर रु ३० थियो, एक्कासि रु २० भयो ।” दिनप्रतिदिन यसरी तरकारीको मूल्य एक्कासि घट्दै गइरहेको उहाँको भनाइ छ ।

उत्पादित तरकारी दाङको बजारमा मात्रै होइन, बाहिरी जिल्लामा समेत निर्यात हुने गरेको छ । सुर्खेत, धनगढीलगायतका बजारमा तरकारी निर्यात हुने गरेको थापाले बताउनुभयो । दश बिघा जग्गालाई वार्षिक रु पाँच लाख तिरेर भाडामा लिइएको प्रशिक्षक थापाको भनाइ छ ।

तरकारीखेतीबाट आम्दानी राम्रै लिन सकिने भए पनि यसमा सरकारले थप सहजता भने बनाउनुपर्ने उहाँको माग छ । “समयमा मल पाइँदैन, मल महँगोमा किनेर ल्याउनु पर्छ”, उहाँले भन्नुभयो, “मूल्यमा पनि एकरुपता ल्याइदिए सहज हुन्थ्यो ।”

उहाँ लामो समय बक्सिङ खेलाडीका रुपमा पनि रहनुभयो । २०४८ देखि ०५४ सम्म बक्सिङ खेलाडीका रुपमा रहेका उहाँ तीनवटा राष्ट्रिय खेल पनि खेल्नुभयो । अहिले प्रशिक्षकका रुपमा रहनुभएका उहाँले उत्पादन गरेका चेला अन्तर्राष्ट्रिय खेलका लागिसमेत छनोट हुनुभएको थियो । तर, उहाँले लकडाउनले गर्दा त्यो खेल खेल्न जान पाउनुभएन । उहाँ ४९ औँ खाद्य दिवसका अवसरमा लुम्बिनी प्रदेशबाट सम्मानितसमेत हुनुभएको छ । तरकारी विधामा उहाँ सम्मानित हुनुभएको हो । उहाँ तुलसीपुर–४ वनहरी निवासी हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]