१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

झापा । कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ ।

“राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ”, उहाँले त्यसबेलाको घटना सम्झिँदै भन्नुभयो, “हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौँ”, सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर बस्ती जलमग्न भएकोे स्मरण उहाँले सुनाउनुभयो ।

जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वुसूचना दिन जडान गरिएका साइरन बज्नु सामान्यजस्तै भइसकेको छ । इलाममा वर्षाको मात्रा बढ्नासाथ नदीमा बाढी आउने र बस्तीमा पस्ने घटना बर्सेनि दोहोरिने गरेको छ । बाढी आउनु पहिल्यै जानकारी दिने साइरन यहाँका बासिन्दाका लागि बरदान सावित भएको छ ।

बाढी रोक्न नसकिए पनि त्यसबाट हुनसक्ने क्षति कम गर्न जल तथा मौसम विज्ञान विभागले नेपाल रेडक्रस सोसाइटीको पहलमा जिल्लाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरेको हो । मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढिसकेको किचकडाँगीस्थित सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक राजवंशीले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति हरिकृष्ण खड्काले कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका बाह्रवटा वडाका १५ वटा बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै साइरन जडान गरिएको जानकारी दिनुभयो ।

साइरन जडान भएको स्थानमा कनकाई नगरपालिकाको वडा नं ४ को त्रिवेणी टोल, झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ को मिलन बस्ती, सुगाबथान, उराउ बस्ती, नयाँ बस्ती र टप्पु बस्ती रहेका छन् । खड्काका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नं ४, ५, ७, ८ र १० को किचकडाँगी, बिसनडुब्बा, पुरानो बजार, टोपला बस्ती र सुकुम्बासी बस्तीमा समेत साइरन जडान भइसकेको छ । गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २ स्थित बिर्खे बस्ती, होकलाबारी, भाकुरमारी र होलाडाँगीमा साइरन सञ्चालनमै रहेको छ ।

इलामको माई नगरपालिकाको धोद्रे, चेप्टी, पालटार, भतभते, लक्ष्मी बाँध र बर्जेटार, देउमाई नगरपालिकाको जितपुर, ढोडेनी र मान्द्रे र माङ्सेबुङ गाउँपालिकाको इभाङ र चुनियाटोलमा पहिल्यैदेखि साइरन जडान भएको उहाँले जानकारी दिनुभयो । साइरनबाट जिल्लाको दुई हजार घरका १० हजार जनसङ्ख्या र इलामको चार सय घरका दुई हजार जनसङ्ख्याले बाढीको अग्रिम जानकारी पाउने गरेका छन् ।

बर्सेनि बाढीले आतङ्क मच्चाउने कनकाईको तटीय क्षेत्रमा बाढीको अग्रिम सूचना दिन जडान गरिएको साइरन प्रभावकारी बनेको स्थानीयवासी बताउँछन् । रेडक्रसकर्मी खड्का अनुसार साइरन बजेपछि मानवीय क्षति नहोस् भनेर सतर्कता अपनाउन स्थानीयवासी अभ्यस्त भइसकेका छन् । स्थानीय ५० देखि एक सय ५० वटा घरलाई एउटा ब्लक मानेर एउटा साइरन जडान गरिएको छ । समुदायमा गठन गरिएको विपद् व्यवस्थापन समितिले साइरनको रेखदेख र प्रयोग गर्दै आएको छ ।

झापा र इलामको सिमानामा पर्ने मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने अग्रिम जानकारी मोबाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसमार्फत पठाउने गर्छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन बजाउने गरिएको छ ।

“जलसतहको विश्लेषण गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस पठाउने गरिएको छ”, साइरनबारे जानकारी दिँदै रेडक्रसकर्मी खड्काले भन्नुभयो, “पहिलो साइरनले समुदायको ध्यानाकर्षण गराउँछ भने दोस्रोले सुरक्षित स्थानमा जान तयारीमा रहन सङ्केत गर्छ र तेस्रोपटकको साइरनले बाढी नजिकै आइरहेको जनाउ दिन्छ ।” उहाँले करिब ३० मिनेटमा तीनपटक साइरन बजिसक्दा बस्ती छाड्नुपर्ने बताउनुभयो ।

शिवसताक्षी नगरपालिका–४ का ५५ वर्षीय रेशमान दर्जीले गत वर्ष बाढी बस्तीमा पस्दा साइरन बजेकै कारण थाहा पाएको बताउनुभयो । उहाँले साइरन बजेपछि बस्तीका मानिस सुरक्षित आश्रयस्थलतिर जाने गरेका बताउनुभयो । उहाँले विगतमा बाढी पसेको स्मरण गर्दै भन्नुभयो, “साइरनले जनधनको ठूलो क्षतिबाट जोगाएको छ । ।”

रेडक्रसका सम्पर्क व्यक्ति खड्काले ती साइरनहरू स्वचालित नभएर तोकिएका व्यक्तिले प्रयोग गर्ने मानव सञ्चालित प्रविधियुक्त रहेका जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै जिल्लाका तीन स्थानमा बहुप्रकोपीय क्षेत्रको अध्ययन गरी स्वचालित साइरन जडान प्रक्रियामा रहेको बताउनुभयो । उहाँले कनकाई नदीले प्रभावित पार्ने गौरीगञ्ज गाउँपालिका–२ को कुञ्जिबारी, झापा गाउँपालिकाको कुमरखोदस्थित सडकबारी र विरिङ नदीको प्रभावित क्षेत्र बाह्रदशी गाउँपालिकाको भागडुब्बामा स्वचालित साइरन जडानको तयारी भइरहेको जानकारी दिनुभयो ।

एक महिनाअघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत बाढीमापन उपकरण जडान गरिएको सम्पर्क व्यक्ति खड्काले बताउनुभयो । दुवै नदीमा जडान गरिएका उपकरणका लागि वर्षामापन प्रणाली भने बनाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]