०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

प्रतिनिधिसभा: ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’

Logo
न्यूजमधेश प्रकाशित सोमबार, आषाढ १७, २०८१

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकको विशेष समयम सांसद विद्या भट्टराईले एसइई परीक्षाको नतिजा खस्कनुमा मुलुकको शिक्षा प्रणाली, पठन पद्धति र संरचनागत कमीकमजोरी भएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर खस्कँदो रहेको बताउँदै सामुदायिक विद्यालयमा मागअनुसार दरबन्दी नहुनु, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको अभावले मुलुकको समग्र शिक्षाको गुणस्तर कमजोर बनिरहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी बनाउन जरुरी रहेकामा जोड दिनुभयो ।

सांसद डा चन्द्रकान्त भण्डारीले एसइई परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै उनीहरुलाई सीपमूलक तालिमलगायत प्रोत्साहनमूलक काम दिएर सरकारले आशातीत बनाउनुपर्ने माग गर्नुभयो । उहाँले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार्न सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

सांसद भण्डारीले मुलुकमा भ्रष्टाचार र अनियमितता हुनुमा योजनाविद् र विकासविद्हरु पनि रहेको भन्दै उनीहरुलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक सेवा क्षेत्रमा बन्द हडताल गर्नेलाई कानुनी दायरामा ल्याइनुपर्ने उहाँको भनाइ छ ।

सांसद शिव नेपालीले शिक्षा क्षेत्रको अनियमितताको अन्त्य गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सरोकार भएकाको ध्यानाकर्षण गराउनुभयो । उहाँले विश्वविद्यालयमा राजनीतिकरणले शिक्षाको गुणस्तर खस्केको दाबी गर्दै यसलाई सुधारेर गुणस्तरीय र व्यावहारिक शिक्षा अपनाइनुपर्नेमा जोड दिनुभयो ।

सांसद ज्ञानबहादुर शाहीले देश विकासका लागि जननिर्वाचित सांसद र जनप्रतिनिधिलाई स्वतन्त्र छाड्नुपर्ने जिकिर गर्नुभयो । उहाँले काठमाडौँ महानगरभित्रको बजेट प्रभावकारी कार्यान्वयन हुन नदिन अवरोध खडा गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

सांसद रञ्जुकुमारी झाले मनसुनी वर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढिरहेको बताउँदै सम्भावित जोखिम न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको कार्यलाई चुस्त र प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले राष्ट्रिय परिचयपत्र वितरणलाई सहज र प्रभावकारी बनाउन पनि माग गर्नुभयो ।

सांसद अब्दुल खानले देशका विभिन्न ठाउँमा पुलपुलेसा निर्माणमा ठेकेदारले लापर्बाही गर्दा सर्वसाधरणका जनजीवन प्रभावित भएको, बाढी पहिरोका बेला पनि ढुङ्गामा चढेर नदी खोला पार गर्न र जीवन गुमाउन बाध्य भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रेखा यादवले प्रदेश सरकारमा मन्त्रालय विभाजन गरेर भागबन्डा गरिएकोप्रति आपत्ति प्रकट गर्दै मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी यस्ता कार्य रोकिनुपर्ने बताउनुभयो । उहाँले चुरे संरक्षण भइरहेको कार्यप्रगतिबारे सदनमा जानकारी दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रभु साहले वैदेशिक रोजगार विभागको कामकारबाहीलाई चुस्त र प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । ताहाचलस्थित विभागको कार्यालय जाने बाटोमा शान्तिपूर्ण कार्यक्रम गर्न नदिएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाको न्यायका लागि शान्तिपूर्ण आवाज उठाउँदा बेवास्ता गरिएको उहाँले गुनासो गर्नुभयो ।

सांसद प्रेम सुवालले सहकारी पीडितको माग सम्बोधन गर्न, डेङ्गु महामारी नियन्त्रण तथा सुनतस्करी नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले एसइई परीक्षामा सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा कमजोर रहेको भन्दै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुपर्ने माग गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]