मोरङ । जिल्लाको धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा रहेको छ । राजा धनपालको नामबाट गाउँपालिकाको नामाकरण गरिए पनि उक्त स्थानको संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा पर्दै गएको हो ।
धनपालथान गाउँपालिकाको वडा नं ७ मा अवस्थित छ । यो ठाउँलाई स्थानीय भाषामा राजा धनपालको रजवाडा भनिन्छ । प्राचीन रजवाडा झण्डै चार बिघाह क्षेत्रफलमा फैलिएको छ ।
पुरातात्विक महत्व बोकेको यस स्थानको नामबाट साविकको नोचा, कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग गाविसलाई समेटेर पुनःसंरचना भएको पालिकाको नाम धनपालथान गाउँपालिका राखिएको राजा धनपालथान संरक्षण तथा विकास समितिका अध्यक्ष सञ्जय सिंहले बताउनुभयो ।
रजवाडा परिसरमा निकै अगाडि बनाइएका टहरा जीर्ण अवस्थामा छन् भने २०५७ सालमा गठन भएको संरक्षण समितिले बनाएको देवी रणकाली र राजा धनपालको सिमेन्टको मुर्तिसमेत टुटेर जीर्ण बनेको उहाँले बताउनुभयो । ।
समितिका अध्यक्ष सिंहका अनुसार यहाँ आसपासमा पुरातात्विक महत्वको कयौँ वस्तु तथा मुर्ति भेटिएका छन् । विसं २०७१ मा स्थानीय किसान रघुसिंह नुनियाले रजवाडा नजिकैको खेतमा हलो जोत्ने क्रममा भगवान विष्णुको धातुको प्राचीन मुर्ति भेट्नुभएको थियो । उक्त मुर्ति संरक्षणका लागि ईलाका प्रहरी कार्यालय रङ्गेलीमा जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।
“२०१७ सालमा नजिकै रहेको पोखरी उत्खन्न गर्ने क्रममा धातुका पुराना भाँडावर्तनलगायतका विभिन्न सामग्रि भेटिएपनि हाल ती सामग्री कहाँ छन्, यस विषयमा स्थानीय अनविज्ञ छन्”, अध्यक्ष सिंहले भन्नुभयो ।
धनपालथान–७ का स्थानीय उचितलाल मण्डलले रजवाडा परिसरमा खन्दा करिब डेढ फिट लम्बाइ र चाँैडाइका पुराना माटोका इँटाहरु भेटिने गरेको बताउनुभयो । “यहाँ निकै पुरानो संरचना भेटिने गरेका छन् । यस क्षेत्रको उत्खनन गर्नुका साथै यसको संरक्षण र प्रवर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
स्थानीय राजेन्द्र कामतले उत्खनन र अध्ययनसम्म नगरिएकाले राजा धनपाल कुन कालखण्डका को हुन् भन्नेसम्म खुल्न नसकेको बताउनुभयो । “प्राचीन विराट राजाको राज्यअन्तर्गत पर्ने यस स्थानमा रहेको मन्दिर विराट राजाले निर्माण गरेको किंवदन्ती छ”, उहाँले भन्नुभयो ।
पुरातत्व विभागले यहाँको अध्ययन अन्वेषण गरी तथ्य पत्ता लगाउनुपर्ने गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले बताउनुभयो । धनपालथान क्षेत्रमा गाउँपालिकाले मन्दिर मनाइसकेको भन्दै मन्दिर परिसरमा पर्खाल घेराबारा गरी मुर्ति स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष गच्छदारले स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा पूर्वाधार निर्माण र संरक्षणमा समस्या भएको बताउनुभयो । उहाँले प्रदेश र सङ्घ सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पुरातत्व विभागले यस ठाउँमा १५ वर्षअघि सामान्य अध्ययन गरी मध्यकालीन संरचना भएको हुनसक्ने निष्कर्षसहित विभागमा सूचीकृत गरेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिनुभयो । उहाँले धनपालगढीमा बाहिरबाट संरचना नदेखिने भएकाले सतहमुनिको अध्ययन ‘जियोलोजिकल सर्वे’ गर्दा पौराणिकता तथ्य स्पष्ट हुने बताउनुभयो ।