१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा

Logo
हिमाल लम्साल प्रकाशित मंगलबार, आषाढ ३२, २०८१

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहनुभएको छ। उहाँको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झन्झन् नाजुक बन्दै गइरहेको छ ।

“छोराले चलाएको बस बगाएको खबर सुनेदेखि परिवारका सबै सदस्य विक्षिप्त छन् । त्यसमा पनि बुहारीको स्वास्थ्य अवस्था साह्रै्र खराब भइरहेको छ,” जवाहीरका ६६ वर्षे पिता भगवान् महतोले गहभरि आँसु खसाल्दै भन्नुभयो, “बुहारी भक्कानिएर रुने, कराउने गरिरहेकी छन् । उनको स्वास्थ अवस्था बिग्रिएकाले घरमै डाक्टर बोलाएर उपचार गराउँदै आएका छौंँ ।”

जवाहीरकी पत्नी प्रतिमा अहिले कोहीसँग पनि दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा हुनुहुन्न । “त्यस दिनदेखि मुखमा अन्न, पानी परेको छैन । स्लाइनपानीकै भरमा कतिन्जेल बचाउन सकिएला ? बुहारीको स्वास्थ अवस्था बिगँ्रदै गइरहेको छ,” उहाँले भन्नुभयो ।

जवाहीरका पत्नी प्रतिमा मात्रै होइन, जवाहीरका बुबा, आमा, छोराछोरी, आफन्त इष्टमित्र र छिमेकीहरुको समेत आँखा ओभाएका छैनन् । “जवाहीर घरकै आडभरोसा थियो । उसले बस चलाएर नै घरखर्च चलाउँदै आइरहेको थियो,” बुबा भगवान्ले भन्नुभयो, “छोरा त्रिशूलीको पहिरोमा परेर हराइरहेको छ । मलाई बुढ्यौलीले छोइसक्यो । अब यी ससाना नाति–नातिनालाई कसले पालनपोषण र रेखदेख गर्ला भन्ने चिन्ताले सताइरहेको छ ।”

पहिरोमा परेर आफ्नो माइलो छोरा हराइरहेकामा आमा फुलेनादेवीको रुदाँरुँदै आँखा सुन्निएको छ । आफ्नो छोराका बारेमा अहिलेसम्म कुनै पनि खबर थाहा नपाउँदा निकै चिन्तित भएको बताउनुभयो । “बिहीबार बेलुकापख छोरासँग खासै धेरै कुराकानी भएन । त्यो दिन छोरा बुबासँग मात्रै कुराकानी गरेर बिदा भएर बस चलाउन गए”, उहाँले भन्नुभयो, “अहिलेसम्म छोराको न त श्वास नै पाउन सकेका छौँ, न त लास नै पाउन सकेका छौंँ । पहिरोमा छोरो हराएदेखि मेरो मन बेचैन छ ।”

उहाँले आफ्नो छोरा पहिरोमा हराएपछि सान्त्वना दिनका लागि एञ्जल बसका प्रतिनिधि, स्थानीय नेता, सांसद तथा अन्य कोही पनि नआउँदा दुःख झनै बढेको बताउनुभयो । “छोराले फर्निचर चलाउने भन्दै ५० लाखभन्दा धेरै कर्जा लिएको छ,” उहाँले भन्नुभयो, “छोरा नै नरहेपछि कर्जा कसरी तिर्ने भन्ने पीरले अर्काे चिन्ता थपिरहेको छ ।”

बुबाका अनुसार जवाहीर डेढ दशकदेखि सवारीसाधन चलाउँदै आउनुभएको थियो । जवाहीरले एञ्जल डिलक्स बस चलाउन थालेको पनि चार–पाँच वर्ष भइसकेको छ । उहाँले प्रायः रात्रिबस चलाउँदै आइरहनुभएको थियो ।

जवाहीरका दुई छोरा र एक छोरी रहेकी छन् । जेठी छोरी प्रिती कक्षा आठमा अध्ययनरत छिन्भने जेठो छोरा कक्षा ४ र कान्छो छोरा बिटु युकेजीमा अध्ययनरत छन् । १३ वर्षीय छोरी प्रिती महतोले आफ्नो बुबाको जतिसक्दो छिटो उद्धार गरिदिन अनुनय गर्नुभएको छ । “बुबालाई जतिसक्दो छिटो पानीबाट निकालिदिनूस् । अरू हामीलाई केही चाहिएको छैन,” उहाँले भन्नुभयो ।

जवाहीरका कान्छो भाइ मुन्ना महतो अहिले हराइरहेका दाजुको खोजीमा नारायणगढ–चितवनमा खटिरहेका छन् । आज दिउँसोसम्म जवाहीरको अवस्था पत्ता लाग्न सकिरहेको छैन । हराइरहेका जवाहीरका दिदी सुशीलादेवी महतोले भाइ पहिरोमा हराएसँगै परिवारको खुसी खोसिएको बताउनुभयो ।

भगवान्का चार छोरा र एक छोरी रहेकी छन् । तीमध्ये पहिरोमा परेर हराइरहेका जवाहीर माइलो छोरा हुन् । जेठो सुनिल कतारमा र साइलो हिरालाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् भने कान्छो मुन्ना नेपालमा नै छन् ।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चालकसहित १९ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार एञ्जल बसमा २७ जना यात्रु रहेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले एञ्जल बसमा सवारमध्ये अहिलेसम्म तीन जनाको शव भेटिएर परिवारका सदस्यले सनाखत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीले बेपत्ताहरुको खोजी कार्यलाई तीव्र पारिरहेका छौँ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]