१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण रोकियो

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

न्यूज मधेश,राजविराज।सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं.४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको शमशानघाट गृह भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको छ ।

साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । दशगजामै खेती गर्ने र झुप्रा लगाउने गरेका भारतीयले सीमा अतिक्रमण गर्ने ध्येयले सीमा क्षेत्रको नेपाली भूमिमा श्मशानघाट बनाउन रोकेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका धनञ्जय यादवको भनाइ छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामनन्दन पण्डितले दशगजा क्षेत्र देखाउँदै भन्नुभयो, “भारतीयहरूले दशगजामै खेती गरिरहेका छन् तर हामीले आफ्नै भूमिमा श्मशानघाट बनाउन पाएनौंँ ।” एसएसबीले दक्षिणी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिने र उसैको आडमा भारतीयले सीमा अतिक्रमण गर्दै आएको बताइन्छ ।

शुरुमा नापनक्शा हुँदा जग खन्दा नबोलेको एसएसबी पर्खाल ठड्याएपछि कामै गर्न नदिने गरी प्रस्तुत भयो । “त्रियुगा खोला वारिको त्यो नेपालकै भूमिमा पर्छ, जहाँ पुस्ताँैदेखि शव जलाउँदै आएका छौंँ तर जब श्मशानघाटका लागि पर्खाल खडा गरियो, एसएसबीका जवानले अवरोध गरे,” ७३ वर्षीय बमभोली राउतले भन्नुभयो, “धम्क्याउने, बन्दूक देखाउने र काम नरोके जे पनि हुन सक्ने धम्की दिएपछि निर्माण कार्य अधूरो नै छाड्यौंँ ।” चर्को घाम, वर्षा र हावाहुरीबाट शव र मलामीलाई जोगाउने उद्देश्यले बनाउन खोजिएको काम अलपत्र छ ।

सप्तरीको ७८ किलोमिटर भूभाग भारतसँग जोडिएको छ । पूर्व कोशी नदीदेखि पश्चिम बलान खोलासम्म मुख्य, साना र सहायक गरी ६५० सीमास्तम्भ रहनुपर्नेमा अधिकांश छैनन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले ३४ मुख्य स्तम्भ अवस्थित हुनुपर्नेमा २२ मात्र रहेको बताउनुभयो । अधिकांश साना र सहायक स्तम्भ हराएको वा बाढीले बगाएको ठाकुरले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा अतिक्रमण गरी बसोबास तथा खेतीपाती गर्ने कार्य भइरहेको छ । पुराना स्तम्भ हराएपछि नयाँ नबनाइएकाले भएका स्तम्भको दूरीमा लामो भएको छ ।

सीमास्तम्भ हराएकोे, बाढीले बगाएको, गायब पारिएकाले र बाँकी भएका पनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ । सप्तरीका २१ ठाउँमा दशगजा नै नदेखिने सशस्त्र प्रहरी बल ६ नं गणका प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताउनुभयो । सप्तरी क्षेत्रमा २१२ देखि २४५ नं का ठूला मुख्य स्तम्भ अवस्थित रहनुपर्ने हो । न्यौपानेले भन्नुभयो, “पूर्व कोशी नदीमा रहेको २१२ नं को मुख्य स्तम्भ पानीभित्र भएकाले भेटिँदैन भने पश्चिम बलान खोलामा हुनुपर्ने २४५÷१ र २४५÷२ नं को स्तम्भ पनि छैन ।” पश्चिम बेल्हीको दशगजामा २४५ नं को मुख्य स्तम्भ भने यथावत् छ ।

मुख्य, साना र सहायक गरी हुनुपर्ने ६५० स्तम्भमध्ये गत वर्ष २०२ वटा फेला परे जसमध्ये दुई वटा फेरि बाढीले बगाएकाले भेटिएन । रामनगर कोदरकट्टी र पातोमा रहेको दुई स्तम्भ यो वर्ष हराएको उहाँले जानकारी दिनुभयो ।

गाउँले भने केही हराएको र बगाएको तथा केही भारतीयले गायब पारेको बताउँछन् । तिलाठी कोइलाडी गाउँपालिका–१ का दुर्गानन्द झाले तिलाठी कोइलाडीस्थित स्तम्भ ६००÷७०० मिटर उत्तर नेपालतर्फ सारेर गाडिएको बताउनुभयो । पहिले रहेका सखुवा काठका स्तम्भह मक्किएर, बगेर गएपछि नयाँ २२३ नं को स्तम्भ र त्यसका सहायक स्तम्भ संयुक्त सर्भे टोलीले देखाएको स्थानभन्दा भारतीय सीमा सुरक्षा बलले फरक स्थानमा गाडेको उहाँले दावी गर्नुभयो ।

अन्तर्राष्ट्रिय मान्यतानुसार दुई देशबीचको दशगजामा कुनै संरचना बनाउन पाइँदैन तर सखडा, लालापट्टी, तिलाठी कोइलाडी, बेल्ही, रम्पुरा मल्हनिया, गोबरगाढा, रामनगर कोदरकट्टीलगायत १२ स्थानमा भारतीयले खेतीपाती गर्दैआएका छन् भने कतिपय स्थानमा झुप्रो राखेका छन् । दशगजा क्षेत्र मिचेको विषयमा बेलाबेलामा दुई देशका नागरिकबीच विवाद र झडप हुँदै आएको छ ।

लालापट्टीमा भारतीयले हत्या नै गरेको र तिलाठीमा टाउको फुटाएको घटना स्मरण गर्दै लालापट्टी घर भएका पूर्व सिँचाइमन्त्री उमेश यादवले भन्नुभयो, “छिमेकीसँगको सम्बन्ध सुमधुर हुनुपर्ने हो तर युगौंँदेखिको रोटीबेटीको सम्बन्ध भनेर खुला सिमानाको फाइदा उठाउँदै हेप्ने काम भारतले बन्द गर्नुपर्छ ।”

दशगजा क्षेत्रमा घरटहरा बनाउन नपाइने अन्तरराष्ट्रिय नियमको बेवास्ता गर्दै भारतले सप्तरीको साविक बेल्ही गाविस–६ स्थित दशगजामै बनाएको सुरक्षा चेकपोष्टको टहरो नेपालको आपत्तिपछि चार वर्षअघि मङ्सिर १५ गते हटाएको थियो । भारतीय सीमामा रहेको विद्यालयमा बस्दै आएको एसएसबीको चेकपोस्टलाई विद्यालयले खाली गर्न लगाएपछि उनीहरूले दशगजामा टहरो खडा गरेका थिए । सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहितको सुरक्षा टोली दशगजामै गएर आपत्ति जनाएपछि एसएसबीका अधिकृत राजेन्द्र रायले गल्ती स्वीकार्दै टहरो भत्काएको थियो ।

भारत बिहार सुपौलका कुनौलीवासीले २०७३ साउन १४ गते नेपाली भूमि तिलाठी डुबानमा पार्ने गरी जबर्जस्ती २२३ स्तम्भमै बाँध निर्माणको प्रयास गर्दा तिलाठीवासीसँग झडप भएको थियो । तिलाठी कोइलाडी १ निवासी पूर्व जिविस सदस्य देवनारायण यादवसहित आधा दर्जन तिलाठीवासी र केही भारतीय घाइते भएको उक्त घटनापछि बाँध निर्माण रोकिएको छ ।

छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित दशगजामा खेती गर्ने गरेको केही भूभागबाट एसएसबीले भारतीयलाई केही वर्ष अघि हटाएको वडा नं ४ का वडा सदस्य ओली मन्सुरीले बताउनुभयो । भारतीयले खेती गर्ने गरेको खेतका आली देखाउँदै मन्सुरीले अहिले पनि सयौंँ भारतीयले ५०औंँ विघा जमीनमा खेती गरिरहेको बताउनुभयो ।ं

सीमावर्ती क्षेत्रको दशगजा मिच्ने क्रम नेपाल–भारत दुवैतिरबाट भएको भारतीय पक्षको भनाइ छ । भारतीय सीमा सुरक्षा बल सुपौलका प्रमुख एचके गुप्ताले आआफ्नातर्फबाट भएको अतिक्रमण रोक्न दुवै देशले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले आफूहरूले भारतीयलाई एकमहिने अल्टिमेटम दिएको तर धानखेतीको बाली काट्न बाँकी रहेकाले हटाउन नसकिएको भन्दै लाचारी व्यक्त गर्नुभयो । भारतले बारम्बार विभिन्न बहानामा हेपिरहेको ठान्ने स्थानीयवासी भन्छन्, “सीमा क्षेत्रका विभिन्न स्थानमा रहेको विवादको क्रम जारी रहे सीमामा द्वन्द्व बढेर जान्छ । यसअगावै कूटनीतिक पहल गरेर दुवै देशले गम्भीर पहल गर्नुपर्छ ।” (रासस)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]