०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

प्रदेश २ मा साना हथियारको विगविगी,के गर्दै छैन डिआइजी 

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

न्यूजमधेश,जनकपुरधाम,२३ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले मंसिर २० गते एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीका अनुसार जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमुनि रहेको खरमा कुनै वस्तु टल्किरहेको देखेपछि नजीकमा गएर हेर्दा त्यहाँबाट पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको हो । उनका अनुसार इन्डियन ओरनान्स कम्पनीबाट सन् २००५ मा बनेको ७.६५ एमएम लेखिएको पेस्तोल थान एक, त्यसमा म्याग्जिन थान एक र म्याग्जिनभित्र पाँच राउन्ड गोली लोड रहेको अवस्थामा फेला परेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुझेलियाका पंकजकुमार चौधरीले सामान्य विवादमा चिनजानकै व्यक्तिमाथि कात्तिक ६ गते पेस्तोल प्रहार गरे । गोली लागि जनकपुरधाम उपमहानगरपालिका–१ मा शिव आयल स्टोर्स चलाउँदै आएका लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४० वर्षीय मनोज साहको मृत्यु भयो । छातीमा दुई गोली लागेर ढलेका साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

लेनदेनको विषयमा भएको सामान्य विवादमा चौधरीले आफूसँग भएको अवैध हतियार निकालेर साहको छातीमा गोली हानेका थिए । साहमाथि गोली हानेर छिमेकीको घरमा लुकी बसेको अवस्थामा चौधरीलाई प्रहरीले पक्राउ गरी एक थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने १९ राउन्ड गोली तथा अर्को एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली बरामद गरेको थियो। साहमाथि गोली प्रहार गर्ने चौधरी निर्माण व्यवसायी हुन् ।

जेठ २ गते साँझ पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ का ४५ वर्षीय सेख फारुकमाथि पेस्तोल प्रहार भयो । नजिककै भाइ नाता पर्ने शेख सेराजुद्दिनको अवैध कटुवा पेस्तोल प्रहारबाट फारुकले ज्यान गुमाए । नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा जेठ ३ गते बिहान फारुकको मृत्यु भयो ।

समयअन्तरमा सशस्त्र समूहको गतिविधि प्रदेश २ मा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन । घरमा अवैध हतियार राखेर छिमेकीमाझ गर्व अनुभव गर्ने मनोविज्ञान हुर्किंदैछ । साउन ३० गते महोत्तरी जलेश्वरबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरियो । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका १ बस्ने ४३ वर्षीय बिजय गुप्ता रहेको थियो । गुप्ताको साथबाट दुई थान पेस्तोल र १७ राउण्ड गोली बरामद भएको थियो ।

जलेश्वर २ बस्ने श्रीराम चौधरीको घरमा डेरा गरी बस्दै आएका गुप्तालाई प्रहरीले सोमबार राती घर धनीसँग झगडा गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पछि थप अनुसन्धानको क्रममा गुप्तासँग हतियारसमेत रहेको भन्ने जानकारीको आधारमा प्रहरीले उनी बस्दै आएको कोठामा खानतलासी गर्दा हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

खानतलासीको क्रममा कागज र पोलिथिनमा प्याक गरी घरको छतमा लुकाइराखेको अवस्थामा हतियार फेला परेको थियो । गुप्ताले घरको छतमा लुकाईराखेको ९ एमएमको मेडईन अमेरिका लेखिएको अटोमेटिक पेस्तोल १ थान, सोमा प्रयोग हुने १५ राउण्ड गोली, २ थान म्याग्जिन, सिक्सर पेस्तोल १ थान, सोमा प्रयोग हुने गोली २ राउण्ड र खुकुरी १ थान लगायतका हतियारहरु बरामद भएको थियो ।

असार १९ गते महोत्तरीको बर्दिबास नगरपालिका–७ मा हतियारसहितको समूहले गाउँलाई नियन्त्रणमा लिएर डकैती ग¥यो । प्रतिकार गर्दा डाँकाले रामसुन्दर महतोसहित पाँचजनालाई कुटपिट गरी घाइते बनाए । डकैतीमा संलग्नमध्ये सर्लाही चन्द्रनगर गाउँपालिका–६ का ४५ वर्षीय देवलाल कापर एक थान नलकटुवा पेस्तोल र गोलीसहित पक्राउ परे ।

२०७५ पुस २४ गते सर्लाहीको हरिपूर्वा नगरपालिका–९ स्थित जयनारायण यादवको घरमा भइरहेको छलफलमा दुईजना युवक प्रवेश गरी पेस्तोल ताके। छलफलमा सहभागीले प्रतिकार गर्न खोज्दा उनीहरू पेस्तोल फालेर मोटरसाइकल चढेर भागे। मेड इन युएसए लेखिएका दुई थान स्वचालित पेस्तोल, दुई राउन्ड गोली र म्यागजिन प्रहरीले बरामद गर्यो ।

२०७५ साउन २४ गते सिरहाको कल्याणपुर नगरपालिका–११ मा सञ्चालित राजाराम मनी ट्रान्सफरका सञ्चालक राजाराम साहलाई चारजनाको समूहले पेस्तोल देखाई २५ लाख ६० हजार रुपैयाँ लुट्यो । सोही वर्ष जेठ महिनामा कल्याणपुरकै शिवम मनी ट्रान्सफरका कर्मचारी धनवीर यादवलाई पेस्तोल देखाएर ११ लाख ३९ हजार रुपैयाँ लुटिएको थियो । २८ भदौमा धनौजी गाउँपालिका २ का मनिष मिश्र जनकपुरधाम २५, लोहनामा हतियारसहित समातिएका थिए । उनीबाट प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको थियो ।

स–साना विवाददेखि रिसइबी, छलफलमा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना प्रदेश २ मा नौलो होइन । अवैध हतियारको बिगबिगीका कारण मुख्य प्रदेश २मा हत्याहिंसाका घटना बढ्ने क्रममा छन् । सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा ‘स्वचालित’ पेस्तोल प्रयोग भएको पाइन्छ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन् । खुला सिमानाका कारण सीमा वारपारको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्रयाएको पाइएको छ । प्रहरीका अनुसार, चालू आर्थिक बर्षको चारमहिनाभित्रै प्रदेश २ बाट बिभिन्न किसिमका १८ वटा साना हतियार सहित ३१ जना पक्राउ परेका छन् ।

उनीहरुबाट ५३ राउण्ड गोली र ३ वटा म्यागेजिनसमेत बरामद भएको प्रदेश २ का प्रहरी प्रबक्ता रहेका प्रहरीनायव उपरीक्षक ज्ञानकुमार महतोले बताए । उनका अनुसार, गत आव २०७५–७६ मा प्रदेशका आठजिल्लाबाट बिभिन्न किसिमका ६८ थान हतियार, १३६ राउण्ड गोली र १० थान म्यागेजिनसहित ६६ जना समातिएका थिए ।

प्रदेश प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्की हतियार नियन्त्रण अभियान जारी रहेको बताउँछन् । ‘यसका लागि सादा पोशाकमा प्रहरी खटिएका छन्’, उनले भने, ‘सिमानाकामा सतर्कता बढाएका छौं । भारतीय प्रहरीसँग पनि समन्वय गरेका छौं ।’

सहज पहुँच

मंसिर ५ गते सिरहाको कल्याणपुर नगरपालिका–२ चतरीबाट स्वचालित पेस्तोलसहित सोही नगरपालिका–३ इटारीका २१ वर्षीय अहमद मियाँ पक्राउ परे । शंकास्पद रूपमा हिँडिरहेका मियाँलाई जाँच गर्दा उनको साथबाट ‘मेड इन युएसए’ लेखिएको सेभेन एमएमको पेस्तोल एक थान र नाइन एमएमको स्वचालित पेस्तोल एक थान बरामद भएको थिया । पेस्तोलसहित पक्राउ परेका मियाँलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार मियाँ सीमापारिका आपराधिक गिरोहबाट खरिद गरेर ल्याएको उक्त हतियार वारिको गिरोहलाई बेच्न जाँदै रहेछन् । सोही क्रममा उनी बीच बाटोबाटै पक्राउ परेका हुन्।

प्रहरीले सानाठूला हतियार बरामद गरिरहे पनि मधेसमा अवैध हतियार प्रयोगबाट आपराधिक क्रियाकलाप पूर्ण रूपमा रोकिएको छैन। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १८ वटा हतियारसहित १७ जना पक्राउ परे। आर्थिक वर्ष २०७६–७७ को मंसिर १३ गतेसम्म पाँचवटा हतियारसहित चारजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती हो । नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ । पारिका अपराधिबाट वारिकाले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएर समेत अपराध कर्म गरेको पाइएको छ ।

यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन् । मान्छे मार्न भन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ । लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको सिरहा प्रहरी प्रमुख चतुर्वेदी बताउँछन् । करिब ४५ किलोमिटर खुला सीमा नाकामा हरप्रहर निगरानी राख्न पनि कठिन छ। अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ । मधेसमा सशस्त्र समूहको बिगबिगी भएको बेला पनि मधेसका जिल्लामा काम गरिसकेका चतुर्वेदीले भने, ‘अहिले त्यति भयावह अवस्था छैन तर चुनौती पनि कम छैन ।’

प्रहरीको सक्रियताले हतियार र हतियारधारी व्यक्ति पक्राउ पर्ने क्रम बढेको देखिन्छ। अवैध हतियार राखेको हुन सक्ने व्यक्ति र स्थानमा खोजी अभियान जारी नै छ । तर अपराधिक सूचना संयन्त्र अपेक्षित सबल नहुँदा पूर्ण सफलता पाउन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

सधैं हतियारकै त्रास

माओवादीको सशस्त्र युद्धका बेलादेखि तराईमा हतियारको बढी त्रास फैलिएको हो । माओवादीको सशस्त्र युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति फैलियो । तर तराईमा अरू नै सशस्त्र समूह जन्मिए । माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेसमा पुनः हतियारको त्रास सुरु भयो । मधेस र मधेसीको मुक्तिका लागि भन्दै उनको संगठनले तराई–मधेसमा सशस्त्र संघर्षको शंखनाद गरेलगतै ज्वाला सिंह उनीबाट अलग्गिए ।

गोइतसँगको विवाद र मतभेदका कारण मोर्चा स्थापनाको दुई वर्षमै दुई चिरा भयो । ज्वाला सिंहले आफ्नै नेतृत्वमा फेरि जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समूह सञ्चालन गरे । त्यसपछि त जनतान्त्रिक नाम यति चल्यो कि यो नामबाट दर्जनौं समूह बाहिर आए । जनतान्त्रिकको नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो कि मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले । मधेस मुक्तिका लागि भनिएको त्यो सशस्त्र संघर्षलाई अवैध हतियारको आडमा कमाइको माध्यम बनाइयो । तर समयान्तरमा सशस्त्र समूहको गतिविधि प्रदेश २ मा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन।साभार: खोजकेन्द्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]