१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

प्रदेश २ को राजधानी र नामका लागि आज मतदान !

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,४ चैत्र । प्रदेश २ को राजधानी र नामका लागि आज (मंगलबार) मतदान हुने भएको छ ।

आज बिहान ८ बजे हुने बैठकमा राजधानी र नामका विषयमा मतदान हुने भएकाले अनिवार्य उपस्थितिका लागि सभामुख सरोजकुमार यादवले सांसद्हरूलाई निर्देशन दिनुभएको छ ।

यसअघि, दुई पटक मतदानको मिति सारिएको थियो । चैत १ गतेका लागि मतदानको कार्यतालिका बनाइए पनि अन्तिम समयमा मिति सारिएको थियो । त्यस्तै, फागुन २३ गते मतदान गर्ने भनिएको थियो ।

प्रदेश २ को राजधानी र नामका लागि २०७६ भदौं ५ गते दलहरूले प्रदेशसभा सचिवालयमा प्रस्तावहरू दर्ता गराएका थिए । राजधानीका विषयमा पाँच र नामका विषयमा चार प्रस्तावहरू दर्ता भएका थिए ।

यी प्रस्तावहरूमाथि सांसद्सहित सरोकारबालासँग छलफल गरी सहमति जुटाउन भदौं २९ गते सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरिएको थियो । पटक–पटक छलफल भए पनि दलहरूबीच सहमति जुट्न नसकेपछि मतदानबाटै राजधानी र नामका विषयमा टुंगो लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन समितिले फागुन ३० गतेको प्रदेशसभा बैठकमा पेश गरिसकेको छ ।

समितिले बुझाएको प्रतिवेदनअनुसार राजधानीका विषयमा पेश भएका पाँच प्रस्तावमा केही सहमति भएर हाल तीन प्रस्ताव कामय रहेका छन् । त्यस्तै, नामाकरणका विषयमा आएका चार प्रस्तावमध्ये कुनैमा सहमति जुट्न नसकेको समितिले जनाएको छ ।

राजधानी जनकपुरधाम राख्ने विषयमा करिब करिब दलहरूबीच सहमति जुटेको छ । तर, नामका विषयमा सबै दल आ–आफ्नै अडानमा बसेपछि सहमति जुट्न नसकेको हो ।

सत्तारुढ समाजवादी पार्टी र राजपाले संयुक्त रूपमा ‘मधेश’, नेकपाले ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ र केही सांसद्ले ‘मध्य मधेश’ नामाकरण गर्नुपर्ने भनेर प्रस्तावहरू पेश गरेका थिए ।

मतदानबाट नामाकरण पेँचिलो

मतदानबाट प्रदेशको राजधानी टुंगो लाग्ने निश्चित भए पनि नामाकरण पेँचिलो बनेको छ । राजधानी र नाम प्रदेशसभाको दुई तिहाई मतबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रदेश २ मा कुनै पनि दलको दुई तिहाई छैन ।

एक सय ७ सदस्य रहेको प्रदेश २ प्रदेशसभाको दुई तिहाई मत ७२ हुन जान्छ । मधेश प्रदेश नाम राख्नुपर्ने अडानमा रहेका सत्तारुढ सपा (३०) र राजपा (२५) सँग कुल ५५ मत मात्र रहेको छ । त्यस्तै, नेकपासँग ३२, नेपाली कांग्रेससँग १९ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीसँग १ मत रहेको छ ।

गणितीय हिसाबले प्रदेश २ का ठूला तीन दल मिले मात्र मतदानबाट प्रदेश २ को नामाकरण हुन सक्छ । यसका साथै क्रस भोटिङ भएको अवस्थामा पनि नामाकरण टुंगो लाग्न सक्छ । नेकपामा जानकी र कांग्रेसमा मिथिला भोजपुरा नामलाई लिएर मतभेद रहेको अवस्थामा क्रस भोटिङसमेत हुन सक्ने सम्भावना रहेको छ ।

क्रस भोटिङ भएको अवस्थामा मतदानबाट नामाकरणको टुंगो लाग्न सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]