१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

शारीरिक अपाङ्गता भएका विपन्न बालबालिकालाई सक्षम परियोजना रुपन्देहीको राहत

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

न्यूजमधेश सम्बादाता
भैरहवा,१७ जेठ ।अपाङ्ग बालबालिकाको सारथीको रुपमा काम गर्दै आएको अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजनाले रुपन्देहीका विभिन्न पालिकाका १२ अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ ।

अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजना बुटवलको आयोजना, सि. बि. एम. को साझेदारी एवं आर्थिक सहयोग तथा विभिन्न नगरपालिका, गाउँपालिकाहरुको समन्वयमा जिल्लाभर रहेका अपाङ्ग बालबालिकामध्ये देवदहका ३, सैनामैनाका ३, कञ्चनका १, बुटवलका १, ओमसतियाका १, सुद्धोधनका १ र सिद्धार्थनगरको २ परिवार गरी १२ अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

कोरोना महामारीको नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समय थपिँदै जाँदा गरिखानेका साथै हुनेखानेलाई पनि जीवन गुजारा गर्न धौधौ पर्न थालेको छ । स्थानीय सरकारले अति विपन्न परिवारहरुलाई लक्षित गरी वितरण गरेको राहत पनि लकडाउनको समयावधि थपिँदै जाँदा अबको पछिल्लो दिनमा परिवारको पेट कसरी पाल्ने भन्ने कुराले पिरोल्न थालेको छ । जसको प्रत्यक्ष मारमा शारीरिक अपाङ्गता भएका बालबालिकाका अभिभावकहरु परेको देखिन्छन् ।

तर अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजनाले वितरण गरेको राहतले ती परिवारहरुको मनमा केही आस पलाएको छ । बन्दाबन्दीका कारण सिर्जना भएको बेरोजगारी र भान्सामा अन्नका गेडाहरु सकिन लागेको भन्दै निन्याउरो भएको अनुहार राहत पाएसंगै हँसिलो देखिएको छ ।

उता स्थानीय निकायका सम्बन्धित जनप्रतिनिधिहरु पनि परियोजनाको राहतले हौसिएका छन् । कोरोनाको महामारीबाट देशकै अर्थतन्त्र खल्बलिएको छ । यो विपतको समयमा स्थानीय निकायलाई संघसंस्था तथा सहयोगी हातहरुको योगदानको खाँचो रहेको अवस्थामा परियोजनाको राहत प्रशंसनीय रहेको ओमसतिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चन्नर प्रसाद यादवले बताए । राहत वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष यादवले प्रत्यक्ष मारमा परेका दैनिकी चलाउन नसक्ने शारीरिक अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई राहत वितरण गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले यस कोरोना महामारीको विपत घडीमा प्रत्यक्ष मारमा परेका अपाङ्ग बालबालिकाका परिवारहरुको चुल्हो बाल्न सहयोग गरेको भन्दै सक्षम परियोजनालाई विशेष आभार प्रकट गरिन् ।

अपाङ्ग बालबालिकाको सारथीको रुपमा काम गर्दै आएको परियोजनाले हालसम्म करिब १४ सय बालबालिकाहरुलाई उपचारपछि नयाँ जीवन दिएको छ । जिल्लाभरका २२ अति विपन्न परिवारलाई लक्षित गरी वितरण गरिने राहतको पहिलो चरणमा १२ परिवारलाई राहत वितरण गरिएको परियोजनाका लेखा तथा प्रशासनका गोबिन्द दवाडीले बताए ।

पहिलो चरणमा १२ घर परिवारका अति विपन्न परिवारलाई प्रति परिवार ३० केजी चामल, ३ केजी दाल, २ केजी चिनी, २ लिटर तेल, २ केजी नुन, ४ पिस साबुन, ५ सय एमएलको सेनिटाइजर वितरण गरिएको हो भने बाँकी १० परिवारलाई यसै साताभित्र वितरण गरिने दवाडीले जानकारी दिए । उनले अपाङ्गता भएका अति विपन्न बालबालिकाको परिवारलाई जीविकोपार्जनमा कुनै समस्या परे दोस्रो चरणमा पनि राहत वितरण गर्न पहल गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]