२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

लकडाउनमै क्रसर माफिया विरुद्ध आन्दोलन

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

न्यूजमधेश सम्बादाता
महोत्तरी ,१७ जेठ। कोभिड–१९ सन्त्रास छल्न जारी गरिएको लकडाउनभित्रै नदी उत्खननविरुद्ध आन्दोलन चर्केको छ । जिल्लामा क्रसर उद्योग सञ्चालनमा रहेका भङ्गाहा, गौशाला, बर्दिवास र औरही नगरपालिका क्षेत्रमा सधैँजसो मध्यरातका बेला नदी उत्खनन् तीव्र बनेपछि जारी लकडाउनभित्रै आन्दोलन चर्केको हो ।

पछिल्लोपटक भङ्गाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले संयुक्त सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन चर्काएका छन् । कोरोना सन्त्रास छाएका बेला नगरपालिका नेतृत्वले नदीमा अवैध उत्खनन बढाएको, राहत वितरणलाई राजनीतिकरण गरेको र जनता लकडाउनमा घरमै रहेको मौकाछोपी कोरोना रोकथामका नाउँमा करोडौँ रकम दुरुपयोग गरेकाले आन्दोलनमा उत्रनु परेको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

सङ्घर्ष समितिमा नेकपातर्फका संयोजक मुकुन्द दाहालले भन्नुभयो, “हामीले यसलाई रोकेर माहामारी सामना गर्न एकताबद्ध हाँै भन्यौँ, लिखित ज्ञापनपत्र नै बुझायौँ, तर नगरप्रमुखले कुनै वास्ता नदेखाएपछि आन्दोलनमा उत्रन बाध्य भएका हौँ ।”समितिमा नेपाली काँग्रेसतर्फका संयोजक रुपनारायण सिंहले पनि लकडाउनभित्र नगरपालिका नेतृत्वले मनपरी बढाएपछि संयुक्त सङ्घर्ष बढाउनु परेको बताउनुभयो ।

भङ्गाहामा संयुक्त सङ्घर्ष समितिले जलेश्वर–रौजा–बर्दिवास सडकको आफ्नो नगरक्षेत्रमा पर्ने जमुनियाँ चोकमा पछिल्ला तीन दिनयता लगातार सडक जाम गर्दै आएको छ । “नदी उत्खनन अहिले रोकिएको छ, कसैले अवैध उत्खनन गरेका रहेछन् भने त्यसको नियन्त्रणका कानूनी बाटा छन्”, नगरप्रमुख सञ्जिवकुमार साहले भन्नुभयो, “अहिले हाम्रै नगरक्षेत्रभित्र पनि कोभिड–१९ सङ्क्रमित भेटिएका छन्, क्वारेन्टिन केन्द्रमा दिनहुँ भारतबाट फर्कनेको लर्को छ, यहाँको व्यवस्थापन मिलाउन सबैको एकजुटता आवश्यक छ, आम नागरिकलाई घरमै सुरक्षित बस्न आग्रह गर्न छाडेर उहाँहरु चोेकचोकमा आन्दोलन गर्दै हुनुहुन्छ ।”

नगरप्रमुख साहले नदी उत्खनन रोकिएको बताए पनि क्रसर उद्योग रहेका वडा नं ४ का बासिन्दाले भने प्रत्येक क्रसर सञ्चालकले रातु नदीमा उत्खनन गरेर अजङ्गका खाल्डा बनाइरहेको गुनासो गरेका छन् । को रातु नदी क्षेत्रको करिब चार किलोमिटर दूरीभित्रै नगरपालिकाले १९ भन्दाबढी क्रसर उद्योग सञ्चालनको स्वीकृति दिएको छ । सबैजसो क्रसर उद्योगमा नगरका जनप्रतिनिधि नै सामेल रहेका स्थानीय बासिन्दा नारायण दाहाल बताउनुहुन्छ ।

औरहीमा उत्खनन क्षेत्र खासै नदेखिए पनि बर्दिवास र गौशालामा मात्रै ५० भन्दाबढी क्रसर सञ्चालित छन् । जिल्लाको सुदूर उत्तरपश्चिमवर्ती गौशाला नगरपालिकामा पछिल्लो एक साता यतामरहा नदीमा अवैध उत्खनन बढेको भन्दै सर्वसाधारण आन्दोलित भएका छन् । गौशालामा नदी उत्खननविरुद्ध वडा कार्यालय र नगर कार्यपालिकाकै कार्यालयमा लगातार प्रदर्शन हुँदै आएको छ । क्रसरमा राजनीतिक दलका उच्च तहका नेता र विभिन्न ओहोदामा रहेकाको संलग्नताले यो कहिल्यै नसल्टने विषय जस्तो बनेको सर्वसाधारण बताउँछन् ।

जिल्लामा सबैभन्दा बढी क्रसर सञ्चालनमा रहेका बर्दिवास नगरक्षेत्रका रातु, मरहा, जङ्घा, भब्सी, गणन्ता र टुटेश्वरलगायतका नदी बगरक्षेत्र र नदीउकास क्षेत्रमा ३० फिटभन्दा गहिरा खाल्डा खनेर नदीजन्य पदार्थ (बालुवा, ढुङ्गा) लैजानेक्रम जारी छ । जताततै बढेको उत्खननले भू–क्षयसँगै ठाउँठाउँमा करोडौँ लागतमा बनाइएका तटबन्ध भत्काइरहेको बर्दिवास–६ किसाननगरका बासिन्दा झोकीलाल महतो बताउनुहुन्छ ।

जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा गरि अहिले करिब ७० भन्दाबढी क्रसर उद्योग सञ्चालनमा छन् । यद्यपि वैधानिक तवरले सञ्चालनमा रहेका उद्योगको सङ्ख्या १० भन्दा तल रहेको जिल्ला समन्वय समितिले जनाएको छ । लगातार उठ्दै आएको यो विषय टुङ्ग्याउन सबैभन्दा पहिले स्थानीय तहमा इच्छाशक्ति हुनपर्ने र स्थानीय प्रहरी÷प्रशासनको समन्वयात्मक प्रयत्न हुनुपर्ने जिल्लाका बुद्धिजीवीले सुझाएका छन् ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले […]

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुँदै छ । नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ । बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मत […]