१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

‘निजी विद्यालयलाई सामुदायिक विद्यालयको जिम्मेवारी’बारे शिक्षामन्त्री अनभिज्ञ !

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डू ,१८ जेठ।सङ्घीय संसद्मा विचाराधीन बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्तावबारे अनभिज्ञतासहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यान्वयनका लागि मापदण्ड बनाइने जनाउनुभएको छ ।

यही जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सो बजेटबारे सदनमा छलफल चलिरहेका बेला शिक्षामन्त्री पोखरेलले आज निजी विद्यालयलाई त्यस प्रकारको जिम्मेवारी दिने प्रस्ताव आफ्नो नभएको धारणा सार्वजनिक गर्नुभएको हो ।

संसदीय प्रणालीमा सरकारका निर्णय वा सरकारले संसद्मा प्रस्तुत प्रस्तावबारे सामान्यतः मन्त्रीहरुको सार्वजनिक असन्तुष्टि आउँदैन । बजेटको बुँदा नं १६६ मा रहेको सो विषय शिक्षा मन्त्रालयको प्रस्ताव नभए पनि सार्वजनिक विद्यालयको सबलीकरण, सुदृढीकरणका निम्ति गैह्रसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पूरकका रुपमा विद्यालयको व्यवस्थान र स्वामित्व यथावत् रहने गरी परिचालन गरिने मन्त्री पोखरेलको भनाइ छ ।

“सार्वजनिक शिक्षाको सबलीकरण हामी सबैको साझा दायित्व हो । यस क्रममा निजी शिक्षा क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सार्वजनिक विद्यालयले आवश्यक ठहर गरेका विषयमा सहयोग गर्नेसम्मको दायित्व र भूमिका निर्वाह गर्नु उचित हुन्छ”, मन्त्री पोखरेलले भन्नुभएको छ, “सो प्रयोजनका लागि सरकारले एक मापदण्ड तयार गरी निजी क्षेत्रको साझेदारीमा सार्वजनिक विद्यालयको सुदृढीकरणका लागि आवश्यक कोष स्थापना गर्ने विकल्पमा जान उपयुक्त हुनेछ ।”

बजेटमा माध्यमिक तहको निजी विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक पूूर्वाधारसहित शैक्षिक गुुणस्तर सुधारको जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख छ । हाल कूल ३५ हजार विद्यालयमध्ये करीब साढे छ हजार निजी विद्यालय सञ्चालित छन् । यस प्रावधानबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रै विभिन्न कोणबाट बहस उत्पन्न भएपछि शिक्षामन्त्रीले आज विज्ञप्ति जारी गरेको देखिएको छ । सो प्रस्ताव समाजवादोन्मुख शिक्षा नीतिसँग मेल नखाने र सामुदायिक विद्यालयलाई झन् अपमान गराउने टिप्पणी व्यक्त भएका छन् ।

राष्ट्रियसभामा आजको बैठकमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो कार्यक्रमबारे शिक्षामन्त्री बेखबर रहेको जनाउनुभएको थियो । शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई० नेपालले उक्त प्रस्तावले शिक्षामा व्यापारीकरण थप बढाउने चिन्ता व्यक्त गरेको छ । नेकपानिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि उक्त कार्यक्रमको विरोध गरिसकेको छ । कार्यान्वयनको जिम्मा लिनुपर्ने प्याब्सन र एन प्याब्सन स्वयंले पनि हाल आफूहरु कोरोना महामारीको प्रभावमा परेका बेला त्यस्तो थप जिम्मेवारी लिन नसक्ने जनाएका छन् ।

सार्वजनिक विद्यालय सबलीकरण दशक हाल चालू आर्थिक वर्षकै कार्यक्रममा रहेको र उक्त कार्यक्रम सर्वाधिक महत्वपूण्र्ण र बृहत् स्वरुपको भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम यसैको अङ्ग हुनुपर्ने मन्त्रीको भनाइ छ । बजेटमा भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई सार्वजनिक विद्यालय सबलीकरण कार्यक्रमको अङ्ग भनिएको छ ।

बजेट वृद्धि सकारात्मक
मन्त्री पोखरेलले कूल बजेटको ११ दशमलव ६४ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजित हुनु पुग्नु सकारात्मक रहेको जनाउँदै विद्यमान सीमा र स्रोतका कारण अपेक्षाकृत वृद्धि हुन सकेन र सीप विकास तथा विद्यालय पुनः निर्माणको बजेटले प्रतिशत उक्त प्रतिशत बढ्ने अपेक्षा मन्त्री पोखरेलको छ । चालू आवमा शिक्षा क्षेत्रको बजेट १० दशमलव ६८ प्रतिशत छ ।

उहाँले प्रारम्भिक बाल विकास तथा शिक्षामा काम गर्ने शिक्षक र विद्यालय कर्मचारीको न्यून वेतन भएको स्थितिमा राष्ट्रिय शिक्षा नीति, अदालतको आदेश र प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाबमोजिम गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बाल विकास तथा शिक्षामा काम गर्ने शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउन नेपाल शिक्षक महासङ्घ लगायतले दबाब दिँदै आएका छन् ।

वैकल्पिक प्रणालीको सिकाइ निर्देशिका जारी

मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७७’ जारी भएकाले त्यसलाई आगामी असार १ गतेदेखि कार्यान्वयनका लागि सङ्घ र प्रदेश तथा स्थानीय तहका सबै सम्बद्ध निकाय तथा सरोकारलालाई आग्रह गरेको छ । स्थगित विद्यालय तहको परीक्षाका बारेमा निकट भविष्यमा उपयुक्त निर्णय लिने र उच्चशिक्षाको पठनपाठन र परीक्षाका सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको नेतृत्वमा रहेको कार्यदलले काम गरिरहेको जनाइएको छ । निजी तथा आवासीय विद्यालयले भने यही जेठ २१ गतेदेखि विद्यार्थी भर्ना शुरु गरेको घोषणा गरिसकेका छन् ।

विद्यालयको पुनः सञ्चालनबारे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र विद्यालय खोल्नुपर्ने शिक्षा मन्त्रालयको भनाइ छ । “महामारीको स्थिति र अवस्था हेरी विद्यार्थीहरूको पठनपाठनलाई विभिन्न माध्यम प्रयोग गरी सुचारु राख्ने तथा स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु”, विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]