१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी मैदानमा

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश डेस्क
काठमाण्डू ,२२ जेठ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि मात्रै करिब १ लाखको संख्यामा जनशक्ति खटाइएको हो ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बाट प्राप्त तथ्यांकअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीतर्फबाट प्रत्यक्ष रुपमा ४६ हजार ८ सय जनशक्ति खटाइएको छ । यसैगरी, ब्याक सपोर्टमा रहने गरी ९ हजार २ सय प्रहरी परिचालन गरिएको छ । उनीहरू सडकदेखि सीमासम्म खटिएका छन् ।

यसैगरी, सशस्त्र प्रहरीतर्फबाट देशभर गरी ३१ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ । जसमध्ये सीमा क्षेत्रमा मात्रै २२ हजार ५ सय जनशक्ति खटिएका छन् । अन्य जनशक्ति भने नेपाल प्रहरीसँगै ब्याक फोर्सका रुपमा खटाइएको छ ।

न गाँसको भर, न बासको
सीमामा खटिएका सुरक्षाकर्मीलाई ‘टर्च लाइट’ अभाव
संक्रमण बढ्दै जाँदा सेना परिचालनको तयारी

यस्तै, नेपाली सेनातर्फबाट ७ हजार ६ सय ३० सैनिकलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रत्यक्ष रुपमा परिचालन गरिएको छ । हालसम्म क्वारेन्टिनको सुरक्षामा सेनातर्फबाट १ हजार ३ सय २८ जना सैनिक खटिएका छन् । यसैगरी, आइसोलेसन सुरक्षा, हेल्थ डेस्क र रेस्पोन्स टिममा समेत सेनाका जनशक्ति खटिएका छन् ।

सेनाबाट २ हजार २ सय ९० जना स्वास्थ्यतर्फका डाक्टरसहितका जनशक्ति छुट्टै परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार सेनाबाट सडक पट्रोलिङका लागि समेत ८ सय २५ जना खटिएका छन् ।

यस्तै, राष्ट्रिय अनुसन्धान विभागबाट समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ हजार ९ सय ९७ जनाको जनशक्ति परिचालन गरिएको छ । उनीहरूले समेत ब्याक सपोर्टका रुपमा काम गरिरहेका छन् । विभागबाट खटिएकाहरू उपत्यकासहित सीमा नाकामा छन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरी प्रहरीतर्फबाट मात्रै सडकदेखि सीमासम्म करिब ५६ हजार सुरक्षाकर्मी परिचालित भएको जानकारी दिए ।

सशस्त्र प्रहरीतर्फबाट सुरक्षामा खटिएका जनशक्तिलाई भने धेरैजसो स्थानमा टर्च लाइटको समस्या भएको छ । कतिपय स्थानमा रहेका सशस्त्रका अस्थायी चेक प्वाइन्टहरू भारततर्फकै एसएसबीको टर्च लाइटको भरमा सुरक्षामा खटिएका छन् । खुला सीमा भएका कारण सशस्त्र प्रहरीले रातको समयमा टर्च बालेर भ्याइनेसम्मको क्षेत्रमा निगरानी गर्ने गरेको छ ।

सीमामा खटिएका एक जना सशस्त्र प्रहरी निरीक्षकले कोरोना सन्त्रासका बीचमा गाँस र बासको भरबिना नै रात दिन नभनी खटिँदै आएको बताए ।

‘न गाँसको भर छ, न बासको, सीमाको पट्रोलिङमा हिँड्दा खाने सुत्ने समय पाउनै मुस्किल छ,’ सशस्त्र प्रहरीका ती निरीक्षकले राजधानीसँग भने ।

सेना परिचालनको तयारी
संक्रमण बढ्दै गएपछि सरकारले सेना परिचालनको तयारी गरिरहेको छ । सरकारले संक्रमण बढेका स्थानमा सबै जिम्मेवारी सेनालाई नै दिने गरी सेना परिचालनको तयारी गरेको हो ।

गत शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा २६७ (६)अनुसार महामारीको बेला नेपाली सेना परिचालन गर्ने निर्णय गरिसकेको छ । संविधानअनुसार संकटको समयमा राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुन सक्नेछ ।

संविधानको धारा २६७ को उपधारा (६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने र सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन हुनुपर्ने उल्लेख छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले समेत शनिबार नै सेनालाई परिचालन गर्ने निर्णय गरिसकेको छ ।

सरकारले स्वदेश फर्किने नेपाली नागरिकको आइसकेपछिको व्यवस्थापनको जिम्मेवारीसमेत सेनालाई दिइसकेको छ । गत १२ जेठको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सेनालाई भारतसहित विदेशबाट ल्याइने नागरिकको व्यवस्थापनको जिम्मेवारी दिएको हो । जसअनुसार विदेशबाट आउनेहरूलाई सेनाले होल्डिङ सेन्टर हुँदै घरसम्म पु-याउनेछन् ।

यसैगरी, क्वारेन्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन गर्ने पहिलो जिम्मेवारी सेनालाई छ भने दोस्रोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तोकिएको छ । जसमा स्थानीय तहलाई पनि राखिएको छ । सीसीएमसीले करिब ९ लाख नेपाली विदेशबाट फर्किने अनुमान गरेको छ ।
(राजधानी दैनिकबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]