न्यूजमधेश डेस्क
जनकपुरधाम ,३० असार।भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति भारतीय जनता पार्टी (भाजपा) ले तिब्र असन्तुष्टि व्यक्त गरेको छ ।
ओलीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै भाजपाले त्यसको आलोचना गरेको हो। भाजपाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धार्मिक आस्थामाथि खेलबाड नगर्न चेतावनी समेत दिएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए ।
नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएपछि भाजपाको यस्तो प्रतिक्रिया आएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित आदिकवि भानुभक्तको २०७ औं जन्म जयन्ती कार्यक्रममा ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादीत अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए ।
सो कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरेका थिए ।