०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

अझै बनेन सातनाली मोटर पुल

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

विमलबहादुर विष्ट
डोटी, ५ श्रावण। तोकिएको समयमा पुल निर्माण नहुँदा जिल्लाको शिखर नगरपालिका र आदर्श गाउँपालिकाका स्थानीयलाई निकै सास्ती भएको छ ।

वर्षौँदेखि पुलको अभावमा यहाँका स्थानीयवासीले निकै समस्या भएको गुनासो गर्ने गरेका छन् । सामान्य कामका लागि आवतजावत गर्न पनि उनीहरुलाई घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ । निर्माण कार्य शुरु गरेको वर्षाँै बितिसक्यो तर डोटीको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सातनाली–मेल्लेक–बझाङ्ग सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बान्डुंग्रीसैनको सेती नदीमा पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार विसं २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नुपथ्र्याे । तर पुल निर्माण कार्य १० प्रतिशत पनि नभएको स्थानीयवासीको भनाइ छ । सुस्त गतिमै भएको निर्माण कार्य लामो समयदेखि पूर्ण रुपमा रोकिएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करिब ४०० मिटर लम्बाइको उक्त पुल डिभिजन सडक कार्यालय कुलपाते डोटीले डडेल्धुराको पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण कार्य शुरु गरेको थियो ।

पुल निर्माण हुने समयावधि समाप्त भएर थप गरिएको समय पनि दुई वर्ष तीन महिना बितिसक्यो । तर अझै पुलका दायाँबायाँका पिल्लर बनेका छैनन् । उक्त पुलको अभावमा शिखर नगरपालिकाको वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण विसं २०४९ देखि निर्माण कार्य शुरु भएको सातनाली–मेल्लेक–बझाङ्ग सडक अलपत्र परेको छ ।

मोटर पुल नबेनेकै कारण त्यहाँका स्थानीयवासी बिरामीलाई अस्पताल पु¥याउन पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । पुल नबेका कारण उक्त ठाउँमा वर्षौँ पहिले काटिएको सडक ठाउँ ठाउँमा भत्किइसकेको छ । उक्त पुल निर्माणस्थलको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केही महिना पहिले अनुगमन गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए पनि हालसम्म कामको शुरुआत गरिएको छैन । मुख्यमन्त्री भट्टले पुलको काम समयमै सकिनेमा आफू विश्वस्त रहेको अनुगमनका क्रममा बताए पनि काम सम्पन्न त परैजाओस् शुरुआत नगरिदा स्थानीयवासी झन आक्रोसित बनेका छन् । ठेकेदारले जस्तै प्रदेश सरकारले पनि झुठो आस्वासन दिएको त होइन भन्दै त्यहाँका स्थानीय आक्रोसित बनेको दीपकबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल नबनाएर ठेकेदारले त ठगे अब सरकार पनि आश्वासन मात्र दिने पो होकी भन्ने लाग्न थालेको छ ।”

फाउण्डेशनमा समस्या

पुल निर्माणमा ढिलाइ हुनुको कारणबारे सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीले पुलको फाउण्डेशनमा समस्या भएको जानकारी दिनुभयो । उहाँले पिल्लरको फाउण्डेशनमा चट्टान भेटिएपछि डिएमसी मेसिनले काम नगरेको र बोर पाइलिङ मेसिन ल्याउनुपर्ने भएका कारण ढिलाइ भएको बताउनुभयो । डिभिजन सडक कार्यालय डोटीले तत्काल काम शुरु गर्न निर्माण व्यवसायी कम्पनीलाई पत्राचार गरिसकेको इञ्जिनीयर गायीले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल काम शुरु गर्न चेतावनीसहित हामीले निर्माता कम्पनीलाई पत्राचार गरिसकेका छाँै”ं, यदि तोकिएको अवधिमा काम शुरु भएन भने आर्थिक कारवाही हुन्छ ।” लामो समयदेखि रोकिएको काम आफू साइड इञ्चार्ज भएपछि शुरु गराएको र निर्माता कम्पनीले लापरवाही गरिरहेकोले काम ढिलो भएको इञ्जिनीयर गायीले बताउनुभयो । निर्माता कम्पनी पुष्प राजेन्द्र जेभीका इञ्जिनीयर राजेन्द्र साउदले डिएमसी मेसिन आइसकेकाले अब छिट्टै काम शुरु गर्ने बताउनुभयो ।

उहाँले मेसिन आइसकेको र केही समय भित्रैमा काम धमाधम शुरु हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फाउण्डेशनको काम मात्रै समस्या भएको र फाउण्डेशनको काम सकियो भने अरु काम सजिलैसँग हुनेछ ।”

बहाना थप्दै निर्माण कम्पनी

शुरुमा पुलको अलाइनमेण्ट नमिलेकाले ढिलो भयो भन्दै आएको निर्माण व्यवसायी कम्पनीले पुल निर्माण कार्यमा ढिलो हुँदै गर्दा नयाँ नयाँ बहाना खोज्न थालेको छ । फाउण्डेशनमा रक भेटिएको र उक्त रक डिएमसी मेसिनले काट्न नसकेपछि बोर पाइलिङ्ग मेसिन ल्याउनुपर्ने भन्दै केही समय लम्ब्यायो । बोरपाइलिङ्ग मेसिन नेपालमा नपाइने भएकाले बिदेशबाट ल्याउनु पर्ने भन्दै निर्माणको काम थप केही समय लम्बियो । पछिल्लो पटक बोर पाइलिङ मेसिन आइसकेको तर मेसिन ठूलो भएका कारण निर्माणस्थलसम्म ल्याउन समस्या भइरहेको बहाना आएको छ । पुल निर्मण व्यवसायी कम्पनीले अबको एक सातामा काम शुरु गर्ने कुरामा स्थानीयवासीहरु विश्वास्त हुन सकेका छैनन् ।

“कहिले के भनेका हुन्छन् कहिले के सबै यिनीहरुका बहाना मात्रै हुन” शिखर नगरपालिका वडा नं १० का स्थानीय इन्द्रबहादुर बलायरले भन्नुभयो, “अब काम शुरु भएपछि मात्रै विश्वास लाग्छ, बाहना धेरै भए ।” यस्तै आशङ्का व्यक्त गर्नुहुन्छ शिखर नगरपालिका वडा नं ११ का अर्का स्थानीवासी शेरबहादुर बोहरा । उहाँ भन्नुहुन्छ, “यो सब बहाना मात्रै हो, “काम शुरु हुन्छ भन्ने त धेरै पटक सुनेका छौँ हामीले तर काम शुरु हुँदैन ।” ठेकेदार कम्पनीले काम शुरु गर्ने बताएपनि वर्षात लागेको र नदीमा पानीको सतह बढेकाले अब दशैँपछि मात्रै काम शुरु गर्न सकिने स्थानीयवासीहरु बताउँछन् । लगातारको वर्षातका कारण डोटीको सेती नदीमा पानीको सहत अहिले निकै बढेको छ । पानीको सहत बढेका कारण कुनै पनि काम हुन सक्ने सम्भावना निकै कम मात्रमा रहेको छ ।

किन हुँदैन निर्माण व्यवसायी कम्पनीलाई कारवाही ?

विसं २०७४ असार २९ गते पुल सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । पहिलो पटकको सम्झौता अवधि सकिएर विसं २०७५ पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । पुनः म्याद थपिए पनि काम शुरु भएको छैन । यति हुँदा पनि निर्माण व्यवसायी कम्पनीलाई कारवाही भने भएको छैन । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भिमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख हुनुहुन्छ । यही कारणले पनि सम्बन्धित निकायले कानमा तेल हालेको स्थानीवासीको आरोप छ । सातनाली पुल जस्तै सुदूरपश्चिमका अन्य जिल्लामा पनि उक्त कम्पनीले निर्माण गर्न लागेका योजना अलपत्र परेका समाचार पनि पटक पटक आउने गरेका छन् ।

नगरप्रमुख भएकै कारण उहाँलाई कुनै कारवाही नहुँदा यहाँका काम लथालिङ्ग अवस्थामा पुगेको शिखर नगरपालिका–११ का स्थानीयवासी डिबी धामीले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीले हजारौँ ठाउँमा काम लिने तर काम नगर्दा कारवाही नहुने प्रचलन नै बसेका कारण तोकिएको समयमा काम हुन सकेको छैन । काम नगर्नेलाई कालो सूचीमा नराखेसम्म यो समस्या समाधान हुने छैन ।”

समयमै पुल नबन्दा तथा अहिले सेती नदीमा पानीको बहाव बढेका कारण जिल्लाको बानीडुग्रीसैन तथा आदर्श गाउँपालिकाको सातनालीका स्थानीवासीहरु आवतजावतका लागि जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा छिमेकी जिल्ला डडेल्धुराको कोराल खोला भएर जाने आउने गरेका छन् । पुल नबन्दा स्थानीयलाई वर्षौँदेखि पीडा भएको सबै क्षेत्रमा जानकारी भए पनि पुल निर्माणका लागि कसैले पनि पहल नगरेको स्थानीय नागरिकको व्यापक गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]