१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

कोरोना कहरबीच देवघाट आए तीर्थालु

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

न्यूजमधेश सम्बादाता
नवलपुर, ५ श्रावण। कोरोना कहरकै बीच आज श्रावणको पहिलो सोमबार पूजाआजा गर्न भक्तजन देवघाटधाम आएका छन् । देवघाट क्षेत्र विकास समितिले नदी स्नान र पूजाआजा गर्न आउनका लागि आह्वान गरे पनि नजीकका भक्तजन यहाँ आएका हुन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाट धाममा तीनै जिल्लाका तीर्थालुको उपस्थिति देखिएको छ । गैँडाकोटबाट देवघाट आउनुभएका विष्णुप्रसाद पौडेलले आफू हरेक वर्ष साउनको सोमबार देवघाटमा आउने गरेकाले यस वर्ष पनि आएको बताउनुभयो । “सार्वजनिक सवारी साधन सञ्चालनमा छैनन् तर आफ्नै सवारी साधन भएकाले म यहाँ आएको हुँ”, पौडेलले भन्नुभयो, “मेरो घरबाट देवघाट नजीकै पर्ने भएकाले यहाँ आएर भीडभाड नभएका ठाउँमा स्नान गरेर फर्किँदैछु ।”

गत वर्ष देवघाट क्षेत्रमा निकै भीड हुने स्मरण गर्दै पौडेलले यसपटक कोरोना त्रासका कारण मान्छे कम आएको बताउनुभयो । निजी सवारी साधन भएका व्यक्तिले देवघाट पुगेर स्नान तथा पूजाआजा गर्ने गरेका छन् । यद्यपि केही सार्वजनिक सवारीका साधनले आज देवघाटका लागि तीर्थालु बोकेका छन् ।

यस वर्ष देवघाट क्षेत्र विकास समितिले सूचना नै जारी गरेर तीर्थालुलाई नआउने अनुरोध गरे पनि नजीकैबाट आउने क्रम रहेको विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताउनुभयो । “कोरोना सङ्क्रमणको त्रासका कारण सावधानी अपनाएर यहाँ नआउन भनेका थियौँ”, घिमिरेले भन्नुभयो, “विगतका वर्षहरुमा जस्तो देवघाटमा बोलबम मेला भने लागेको छैन तर नजीकैबाट आउने भक्तजनलाई हामीले रोकेका छैनौँ ।” भौतिक दूरी कायम गरेर स्नान तथा पूजा गर्नका लागि आफूले अवरोध नगरेको घिमिरेले बताउनुभयो ।

देवघाटमा साउने सोमबार स्नानका लागि विगत वर्षमा ५० हजारभन्दा बढी भक्तजन आउने गरेका भए पनि यस वर्ष भने दुईतीन हजारमा सीमित रहने घिमिरेले बताउनुभयो । त्रिशूली र कालीगण्डकी नदीको बहाव उच्च भएका कारण सावधानी अपनाएर स्नान गर्न उहाँले आग्रह गर्नुभयो ।

बोलबल मेला रोक

भरतपुर–पवित्र तीर्थस्थल देवघाटधाम साउनको पहिलो सोमबार भक्तजनको न्यून उपस्थिति छ । विगत वर्षमा लाखौँ भक्तजन स्नानका लागि आउने देवघाट कोभिड –१९ का कारण सुनसान जस्तै बनेको हो । विकास समितिले विगतका वर्षमा नियमित गर्दै आएको बोलबम मेला यस वर्ष रोकेको छ । समितिले स्नानका लागि नआउन भक्तजनलाई आग्रह गरेको छ ।

समितिका अध्यक्ष शिवराज पौडेलले स्नानका लागि खासगरी वृद्धवृद्धा बढी आउने र तिनमा कोरोनाको उच्च जोखिममा रहेकाले रोक लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “देवघाटमै बस्नेहरु पनि अधिकांश वृद्धवृद्धा हुनुहुन्छ, उहाँहरुलाई सङ्क्रमण नफैलियोस् भन्नाका लागि रोक लगाएका हौँ ।” उहाँले चितवन, तनहुँ र नवलपुर प्रशासनले पनि सूचना जारी गरेर देवघाटमा स्नानका लागि नआउन आग्रह गरेको बताउनुभयो । पहिलो सोमबार फाट्टफुट्ट मात्र भक्तजन देवघाट आएको पौडेलले जानकारी दिनुभयो ।

देवघाटमा करीब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । “एक हप्ताअघिदेखि नै मेला नआउन अपिल गर्दै भक्तजनसम्म सूचना प्रवाह गरिरहेका छौँ”, पौडेलले भन्नुभयो, “साउनका हरेक सोमबार हजाराँंैँ तीर्थयात्री देवघाट आउँथे र स्नान, पूजापाठ गरी फर्किन्थे तर अहिले सहज समय नभएपछि पूर्वतयारी पनि नगरिएको विकास समितिले जनाएको छ ।

देवघाट धाम परापूर्वकालदेखि पवित्र तीर्थस्थलका रुपमा परिचित छ । धर्मशास्त्रमा सो भूमिमा परापूर्वकालमा देवता बसोबास गरेकाले यस पवित्र भूमिको नाम देवघाट रहन गएको हो भनी उल्लेख गरिएको छ । हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएअनुसार चारधाम क्षेत्र स्नान गरेर यस तीर्थमा स्नान गरिएको छैन भने मानव जीवन व्यर्थ हुनाका साथै अन्यत्र तीर्थ नगई यस तीर्थमा मात्र स्नान गरे मात्र पनि चारधाम तीर्थ गए बराबरको पुण्य प्राप्त हुन्छ।

साउन भगवान् शिवको प्रिय महिना भएकाले पूर्णरुपमा व्रत बस्नाले चिताएको पुग्ने र पुण्य प्राप्त हुने विश्वास राखेर पूर्ण निष्ठा र आदरका साथ शिवको पूजाआराधना गरिन्छ । विवाहिता तथा अविवाहिताले हातमा हरियो पहेँलो चुरा, मेहन्दी र गेरुवा वस्त्र धारण गरेर शिव महिमा गाउँदै तलाउ, कुण्ड, नदीमा स्नान गरेर पवित्र भई शिवालयमा पुगी बेलपत्र, जल, दूध, भाङ, धतुरोलगायत सामग्री चढाएर भगवान् शिवको पूजा गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]