२१ मंसिर २०८१, शनिबार
07-12-2024 , Sat
×

सप्तरीमा निषेधाज्ञा र लकडाउनका कारण घरमै मनाइयो बकर इद

Logo
प्रकाशित शनिबार, साउन १७, २०७७

नानीमैया कटवाल
राजविराज ,१७ श्रावण । सप्तरीका इस्लाम धर्मावलम्बीले आफ्नै घरघरमा बसेर आज ‘बकर इद ९इदुल जोहा०’ मनाएका छन् । कोरोना महामारीका कारण ठूलो सङ्ख्यामा मस्जिदमा भेला भएर तथा इष्टमित्रलाई घरमा बोलाएर यस वर्षको ‘बकर इद’ मनाउन नपाएपछि इस्लाम धर्मावलम्बीले घरपरिवारमा सीमित भएर पर्व मनाएका हुन् ।

देशमा लकडाउन खुलेपछि दोस्रो महान् पर्व हर्षोल्लासपूर्वक मनाउने आशामा बसेका सप्तरीका इस्लाम धर्मावलम्बीले सप्तरीको राजविराजमा लागेको निषेधाज्ञा र विभिन्न स्थानीय तहमा लागेको लकडाउनका कारण घरमै पर्व मनाएका छन् ।

धेरै जनाले घरमै बकर इद पर्व मनाइरहँदा राजविराज नगरपालिका– ४ स्थित जामे मस्जिदमा फाटफुट पुरुष मात्र नमाज पढन पुगेका थिए । तीन हजारसम्म अटाउनसक्ने सो मस्जिदमा सामाजिक दूरी कायम गरी ६०÷६० जनाका दरले दुई सिफ्टमा नमाज पढिएको राजविराज–४ का सरफराज अन्सारीले बताउनुभयो ।

जिल्लाभरीकै इस्लाम धर्मावलम्बी आउनसक्ने सो जामे मस्जिदमा यो वर्ष राजविराज– ४ का सीमित मानिस मात्र रहेको उहाँले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण पाहुना, अतिथिको उपस्थितिविना नै बकर इद मनाइएको राजविराज नगरपालिका– ११ झल्हीका इमरान अलीले बताउनुभयो ।

यसअघि बकर इदमा अन्य धर्म, जातिका साथीभाइकोसमेत उपस्थितिमा खानपिन गरेर रमाइलो हुने गर्दथ्यो । तर यस वर्ष इद झँै बकर इद पनि इष्टमित्रविना मनाउनुपरेको अलीले बताउनुभयो । सप्तरीको शम्भुनाथ नगरपालिका–२ का अनवर अलीले भन्नुभयो, “देशभरी लकडाउन खोलिँदा शम्भुनाथ नगरपालिकामा बिहीबारदेखि लकडाउन पुनः कडा पारिएकाले बाहिरका कसैलाई पनि बोलाइएन, परिवारका सीमित व्यक्ति बसेर मनायौँ ।”

“कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्थानीय तह र स्थानीय प्रशासनले भेला, जमघट हुन रोक लगाएका कारण पर्व मनाउने शैलीमा फेरबदल गरिएको हो”, सरफराज अन्सारीले भन्नुभयो, “भेला, जमघट नभए पनि कुर्बानी ९बलिदान० को मासु तीन भागमा बाँडेर खायौँ । नमाज पढेर आएपछि खसीको बलि दिएको बताउनुभएका अन्सारीले थप्नुभयो, “काटिएको खसीको १८ किलोलाई तीन भाग लगाई एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग इष्टमित्रलाई र तेस्रो भाग परिवार बसेर खाइरहेका छौँ ।”

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । तर कोरोनाको कहरले अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने र हात मिलाउने प्रचलन हटेको राजविराज–४ का शेरु खानले बताउनुभयो । अङ्कमाल र हात मिलाउनुको साटो अब अदाब गरेर शुभकामना आदानप्रदान गर्न थालिएको खानले जानकारी दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले मुस्लिम आयोग, स्थानीय तह र स्थानीय प्रशासनले विज्ञप्ति र सूचना जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेकाले घरमै मनाइएको कल्याणपुरका ऐयुव राइनले बताउनुभयो ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इस्लामी सङ्घ नेपालको सप्तरी अध्यक्ष कलिम खानले जानकारी दिनुभयो । “इब्राहिमलाई सबैभन्दा नजिकको प्यारो चीज कुर्वान ९बलिदान० दिन अल्लाहको आदेश थियो, जसअनुसार उहाँले छोरा इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफँै आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै खानले भन्नुभयो ।

मौलवी हारुन अन्सारीले ऐतिहासिक बकर इद पर्वका आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउनुभयो । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै ‘हदिस’ नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, अनसारीले भन्नुभयो ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तरराष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएनन् । मक्का मदिना जान नपाएका हजयात्रीलेसमेत घरघरमै बकर इद मनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]