०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

जब जनप्रतिनिधि दैलामा पुगेपछि सङ्क्रमितका आँखामा खुशीका आँशु

Logo
प्रकाशित मंगलबार, भाद्र ०९, २०७७

निरा गौतम
रुपन्देही,९ भदौ । जिल्लाको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बस्नुभएका रुद्र आचार्यको घरमा पुग्नुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उहाँको परिवारको मनोबल बढाउन उपप्रमुख दैलामा आएपछि आचार्य छक्क पर्नुभयो । उपप्रमुख आचार्यले उहाँलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने भन्दै उहाँको परिवारलाई सुस्वास्थ्यको शुभकामना दिनुभयो ।

“कोरोना लागेको भनेर मानिसहरु टाढाटाढा भाग्छन्, दैलोसम्म आउने आँट कसैले गर्दैनन् तर उपप्रमुख दैलोमै आएर कस्तो छ भनेर सोध्दा साह्रै खुशी लाग्यो”, सङ्क्रमित आचार्यले भन्नुभयो । आचार्यले कोरोना भाइरस सङ्क्रमण भएपछि सामाजिक सञ्जालमै राखेर टोलवासीलाई सचेत रहन अनुरोध गर्नुभएको थियो ।

एक हप्तादेखि उपमहानगरका विभिन्न वडामा प्रमुख शिवराज सुवेदी, उपप्रमुख आचार्य र वडाका प्रतिनिधि कोरोना सङ्क्रमितको मनोबल बढाउन घरघरमा पुग्नुभएको छ । यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुव्र्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरुको मुखसमेत बन्द भएका छन् । जनप्रतिधिहरु आएपछि छरछिमेकीको माया र सद्भाव झन् बढेको सङ्क्रमितको प्रतिक्रिया छ ।

बुटवल­ ११ का सङ्क्रमित परिवारलाई नियमित दूध दिंँदै आएका एक व्यक्तिले सङ्क्रमित भएको थाहा पाएकै दिनदेखि दूध ल्याइदिन छाडे । छेउछाउका घरमा फोन गरेर सङ्क्रमितका दुवै घरमा ताला लगाइदिन, घरमा बस्न नदिन तथा छरछिमेकलाई नजिक नजानसमेत दबाब दिए । यसका कारण छिमेकी पनि दोधारमा परे तर जब नगर प्रमुख र उपप्रमुख सहितको टोली घरदैलोमा पुगेर सङ्क्रमितलाई भेट्नुभएपछि छिमेकीको माया र सद्भाव झन् बढ्यो । “नजिकैका छिमेकीहरुको व्यवहार त एकदम राम्रो थियो बरु अलिक पर बस्ने व्यक्तिहरुले राम्रो व्यवहार गर्न खोजेनन् तर प्रमुख–उपप्रमुखको घरदैलोले निकै सकारात्मक सन्देश दियो”, एक सङ्क्रमितले भन्नुभयो ।

नगर प्रमुख र उपप्रमुखको यो अभियानले नजिक आउन नखोज्ने, हेय भाव राख्ने र असहयोग गर्नेहरुलाई ठूलो शिक्षा दिएको अनुभव सङ्क्रमितका परिवारले गरेका छन् । “अरु बेला नभ्याए पनि दुःख पर्दा आए, हाम्रो लागि त्यही नै ठूलो कुरा हो”, आफूले मतदान गरेका जनप्रतिनिधि घरदैलामा आएको देखेर आँखाभरि खुशीका आँशु झार्दै बुटवल १३ का सङ्क्रमितले भन्नुभयो ।

यही भदौ ५ गते हिन्दू नारीको चाड हरितालिकाका दिनमा समेत उपमहानगरपालिकाले सञ्चालन गरेको एन्फा आइसोलेशन सेन्टरमै पुगेर उपप्रमुख आचार्यले शुभकामना आदानप्रदान गर्नुभयो । “चाडको दिनमा आइसोलेशनमै आएर शुभकामना दिनुभयो, हामी अत्यन्तै उत्साहित भयौँ । हामीप्रति उहाँले देखाउनु भएको स्नेह, माया र सद्भावनाले हौसला प्रदान गरेको छ”, वडा नं १३ का सङ्क्रमित दीपक पन्थीले सामाजिक सञ्जालबाटै उपप्रमुखलाई धन्यवाद दिनुभयो ।

उपप्रमुख आचार्यले तीजको दिनमा आइसोलेशनमा रहेका ३४ सङ्क्रमितलाई भेटेर शुभकामना आदानप्रदान गर्नुभएको थियो । स्वास्थ्य सावधानीका उपायको जानकारीसहित स्वास्थ्यलाभको शुभकामनापत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेदिक ओखती बोकेर जनप्रतिनिधि आइसोलेशनमा पुगेपछि सङ्क्रमितको मनोबल बढेको छ । सङ्क्रमितलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नाका साथै थप सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको उपप्रमुख आचार्यले बताउनुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उपमहानगरपालिकामा अहिलेसम्म १६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यसमध्ये महिला ५४ र पुरुष १११ जना छन् । सबैभन्दा बढी वडा नं ११ मा ४८ सङ्क्रमित देखिएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा अधिकांश सङ्क्रमितमा लक्षण नदेखिएकाले सङ्क्रमण फैलिदै गएको छ । सङ्क्रमण कहाँबाट फैलियो भन्नेबारे खोजी गर्ने काम भइरहेको र कन्ट्याक्ट ट्रेसिङको कामलाई निरन्तरता दिइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उपमहानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि बन्दाबन्दीलाई कडा पारिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]