१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

विदेशमा रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्रमन्त्रीको आग्रह

Logo
प्रकाशित शनिबार, भाद्र २०, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं,२० भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ । उहाँले देशबाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अनलाइन माध्यमबाट आजदेखि शुरु भएको गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्नुहँदै मन्त्री ज्ञवालीले काँग्रेस, कम्युनिष्ट, गुट–उपगुटको नाममा विदेशमा झगडा नगर्न गैरआवासीय नेपालीसमक्ष आग्रह गर्नुभयो । “काँग्रेस/कम्युनिष्टका नाममा वादविवाद गर्न, आफ्ना वैचारिक मतभिन्नता राख्न त नेपालमै पार्टी र हामी नेताहरु छौँ”, मन्त्री ज्ञवालीले भन्नुभयो, “तपाईँहरुले (गैरआवासीय नेपाली) फेरि किन त्यहाँ गएर त्यस्तो गर्नुप¥यो, नेपालको राजनीतिक विषयमा किन बढ्दा तरङ्गित हुनुप¥यो । तपाईंहरु विदेशमा नेपालीपनमात्र लिएर अघि बढ्नुहोस् ।”

उहाँले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानीमात्र होइन गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि प्राप्त जनादेशअनुसार नै अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै उपलब्धिसमेत हासिल भइरहेको आर्थिक सूचकहरुबाट देखिएको जनाउनुभयो ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री ज्ञवालीले जनताको बलिदानबाट प्राप्त लोकतन्त्र सुदृढ हुने दिशामा अगाडि बढिरहेको अवस्थामा केही विषयहरु ‘अप्स एन्ड डाउन’ भयो भनेर आत्तिहाल्न नहुनेमा जोड दिनुभयो । “व्यवस्थामात्रै लोकतान्त्रिक भएर नहुँदोरहेछ, यसको प्रभावकारिताका लागि यससँग सम्बन्धित दल, नेता, जनता सबै लोकतन्त्रवादी हुनुपर्ने रहेछ”, मन्त्री ज्ञवालीले भन्नुभयो, “यो क्रम भइरहेको छ । यसले समय लिन्छ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।”

पछिल्लो समय कोरोनाको महामारीबाट विश्वसँगै नेपालमा पनि त्यसबाट असर पुगेको बताउँदै मन्त्री ज्ञवालीले अप्रत्याशित विपत्तिबाट देशमा या विदेशमा रहेका नेपाली जनतालाई जोगाउनका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । अर्को प्रसङ्गमा मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको र त्यसका लागि आवश्यक विधेयक तथा कानून निर्माणको प्रक्रिया अबका दिनमा अघि बढ्ने जानकारी गराउनुभयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक पूर्वमन्त्री बालकृष्ण खाँणले नेपालको लोकतन्त्रको सुदृढीकरणका लागि देशबाहिर रहने नेपालीको पनि उत्तिकै भूमिका रहेको बताउनुभयो । उहाँले एक पटकको नेपाली सधैँको नेपाली भन्ने पक्षमा काँग्रेस रहेको उल्लेख गर्नुहँुदै अब कुनै पनि योजना तर्जुमा गर्दा केवल देश भित्रका नेपालीलाई मात्र हेरेर नभई समग्र नेपालीलाई हेर्नुपर्नेमा जोड दिनुभयो । देशबाहिर रहेका नेपाली एक प्रकारले देशका निम्ति सद्भावनादूत जस्तै रहेको बताउनुहँुदै पूर्वमन्त्री खाँणले नेपालको विकास र समृद्धिका लागि एनआरएनको भूमिका र योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

यस्तै, नेकपाका स्थायी समिति सदस्य पूर्वमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीको समस्या समाधानमा आफूहरु गम्भीर रहेको बताउनुभयो । उहाँले संसद्को राज्य व्यवस्था समितिबाट पारित विधेयकले समेत धेरै कुराहरुको सुनिश्चितता गरेको बताउँनुहुँदै संसद्को पूर्ण बैठकमा समेत त्यसमा थप छलफल गरी समेट्नुपर्ने विषयलाई कानूनमा समेत समेटेर जान सकिनेमा जोड दिनुभयो ।

एनआरएनए अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षता, आइसिसी सदस्य प्रमोद सिटौला र डोल्मा शेर्पाको सहजीकरणमा भएको उद्घाटन कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्की, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, एनआरएनए आइसिसीका अध्यक्षकुमार पन्त, महिला नेत्री अञ्जनी श्रेष्ठ, एनआरएनए अमेरिका क्षेत्रका उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, आइसिसी सदस्य तथा कार्यक्रम संयोजक गोपीकृष्ण काफ्ले, विज्ञ भेलाका संयोजक डा लक्ष्मी पाठक लगायतले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीले सकारात्मक ढङ्गबाट सहयोगीको भूमिका निभाउनुपर्नेमा जोड दिनुभएको थियो ।

तीन दिनसम्म चल्ने सम्मेलनका क्रममा विभिन्न विषयमाथि अन्तरक्रियात्मक कार्यशालाहरु सञ्चालन हुनेछन् । सम्मेलनबाट टोरोन्टो घोषणापत्र जारी गर्दै सो घोषणापत्र एनआरएनए आइसिसीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने आयोजकले जनाएका छन् । एनआरएनए आइसिसीले विभिन्न क्षेत्रमा क्षेत्रीय बैठक तथा क्षेत्रीय विज्ञ सम्मेलनको आयोजना गरेपश्चात् अक्टुबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको आयोजना गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]