२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सघन सहरी विकास कार्यक्रम : कमजोर भौतिक प्रगति, विद्युत् पोल र ट्रान्सफर्मर सडकमै

Logo
प्रकाशित आइतबार, मंसिर २८, २०७७

सुरेन्द्र कुमार कामती
सिरहा,२८ मंसिर ।जिल्लाको सिराहा नगरपालिका २ र १८ जोड्ने सडकमा अहिले सघन सहरी विकास कार्यक्रमअन्तर्गत नाला र सडक निर्माण जारी छ । जनता मावि लक्ष्मीनियाँअगाडिको सडकभित्रै एक सय केभिएको ट्रान्सफर्मरसहितको विद्युतीय पोल छ । दिवा एन्ड शाह जेभी कम्पनीले ट्रान्सफर्मर र पोल नसारी सडक र नाला निर्माण गरिरहेको छ । विद्युत् पोलबीच सडकमै राखेर कालोपत्रे तयारी गरिँदै छ । यस्तै, सिराहा ८ गुलरिया, १० नरैहिया र ११ भलुवाहीको सडकमा कालोपत्रे सकिएको छ । तर, निर्माण कम्पनी रमन कन्स्ट्रक्सन जनकपुरधामले पोल सडकमै राखेर कालोपत्रे सकेको छ ।

सिराहामा सहरी विकास कार्यक्रमअन्तर्गत १७ वटा योजनामा सडक र नाला निर्माण जारी छ । तर, निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको गुनासो पटक–पटक सार्वजनिक हुँदै आएको छ । सिराहा ११ भलुवाहीमा इस्टिमेटअनुसार कालोपत्रे नभएको स्थानीय नागेश्वर साहले बताए । चार इन्च कालोपत्रे गर्ने सडक दुई इन्चमै सकिने गरेको सिराहा १२ सारस्वरका मनोज मण्डलले बताए ।

म्यादभित्र काम सकिने सम्भावना क्षीण
सिराहा नगरपालिका क्षेत्रमा तीन प्याकेजमा सडक र नाला निर्माणाधीन छन् । तीनवटा प्याकेजका १७ योजनाको लागत एक अर्ब एक करोड ९६ लाख रुपैयाँ छ । तर, सम्झौताअनुसार कामले गति लिन सकेको छैन । तीनवटै प्याकेज सम्पन्न गर्न एक वर्ष म्याद थपिएको छ ।

यस्तै, सप्तरीमा तीनवटा प्याकेजमा ७४ करोड ४१ लाख ९४ हजार रुपैयाँ लागतमा काम भइरहेको छ । धनुषामा ८३ करोड ५१ लाख, महोत्तरीमा ८३ करोड २३ लाख ५९ हजार र सर्लाहीमा ८१ करोड ७९ लाख ९८ हजार रुपैयाँको सम्झौता भएर काम भइरहेको छ । सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा र पर्सामा जारी सडक र नाला निर्माण तोकिएको म्यादभित्र सम्पन्न भएको पाइँदैन । सप्तरी राजविराज नगरपालिकामा तीनवटा प्याकेजमा काम भइरहेको छ । प्याकेज एकमा ७०, दुईमा ५० र तीनमा ४५ प्रतिशत भौतिक प्रगति भएको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरी प्रमुख डिई सुरेन्द्रकुमार साहले बताए ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा ७८.९३, महोत्तरीको जलेश्वर नगरपालिकामा ५० प्रतिशत र सर्लाहीको मलंगवा नगरपालिकामा ८५.२३ प्रतिशत भौतिक प्रगति भएको छ । महोत्तरीमा डुबान र साइट क्लियर नहुँदा निर्माणमा प्रगति हुन नसकेको धनुषा आयोजना कार्यालय प्रमुख प्रदीप खनालले बताए । पर्साको वीरगन्ज महानगरपालिकामा प्याकेज नम्बर २ मा २५ प्रतिशत काम मात्र सकिएको छ । उक्त प्याकेजमा १७ वटा सडक र नाला निर्माणको योजना छ । तर, ठेकेदार कम्पनी पप्पु स्वछन्द जेभीले २५ प्रतिशत काम मात्र पूरा गरेको आयोजना कार्यालय पर्साका इन्जिनियर सदरे आलमले जानकारी दिए ।

झापाको भद्रपुर नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, सप्तरीको राजविराज नगरपालिका र सिराहा नगरपालिकामा आयोजनाअन्तर्गत सडक र नाला निर्माणाधीन छन् ।

यस्तै, जनकपुरधाम उपमहानगर, महोत्तरी जलेश्वर नगरपालिका, सर्लाही मलंगवा नगरपालिका, रौटहटको गौर नगरपालिका, बाराको कलैया नगरपालिका, पर्साको वीरगन्ज महानगर, चितवन भरतपुर महानगर, नवलपरासी रामग्राम नगरपालिकामा पनि सडक र नाला निर्माण भइरहेको छ । यस्तै, दाङ घोराही उपमहानगर, बाँके नेपालगन्ज उपमहानगर, बर्दिया गुलरिया नगरपालिका, कैलाली धनगढी उपमहानगर र कञ्चनपुर भीमदत्त नगरपालिकामा पनि निर्माण जारी छ ।

विद्युत् पोल सडकमै, लिंकविना नाला निर्माण
हरेक जिल्ला सदरमुकाममा एक अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन योजनामा कतै ट्रान्सफर्मर त कतै विद्युत् पोल नै सडकमै छ । तिनलाई नसारी आरसिसी र कालोपत्रे निर्माण गरिएको छ । नालाको पानी बग्ने लिंक तयार नपारी अलपत्र छाडिएको छ । आयोजनाका सप्तरी प्रमुख डिई सुरेन्द्रकुमार साहले विद्युत् पोल सार्ने काम विद्युत् प्राधिकरणको अधिकारभित्र परेको बताउँछन् । ‘पोल सार्न हामीले लगातार पत्राचार गर्दै आएको छु,’ आयोजना प्रमुख साहले भने, ‘पोल सार्ने खर्च हामी दिन तयार पनि छौँ । तर पनि, सडक क्षेत्रबाट हटाइएको छैन ।’

सहरी विकास मन्त्रालयले पछिल्लो तीन महिनाको प्रगति सार्वजनिक गरेको छ । तराई–मधेसका २० नगरपालिकामा सहरी पूर्वाधार विकास गर्न विभिन्न प्याकेजमा कार्यक्रम सञ्चालनमा रहेको र ०७६/७७ को असार मसान्तसम्म सडक कालोपत्रे एक सय १० किलोमिटर, नाला एक सय ६० किलोमिटर निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, चालू आवमा सडक एक सय ६० र नाला एक सय ६० किमि निर्माण गर्ने लक्ष्य मन्त्रालयको छ । २० नगरपालिकामा ६ सय ९१ किमी कालोपत्रे सडक र आठ सय २८ किमि नाला निर्माण गर्ने योजना छ ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराज गेलालले ग्रामीण क्षेत्र भएकाले पूर्वाधार निर्माणमा ढिलाइ र समस्या देखिएको बताए । ‘सहरजस्तो सजिलो छैन,’ उनले भने, ‘कतै अदालतमा मुद्दा पर्छ । कतै सडक क्षेत्रका संरचना भत्काउन समय लाग्छ ।’ प्रदेश २ का जिल्लामा आयोजनाको काम राम्रो भए पनि कतै–कतै समस्या देखिएको महानिर्देशकको भनाइ छ । काम गर्न नसक्ने ठेकेदारसँगको सम्झौता तोड्ने गरी प्रक्रिया अगाडि बढाइने पनि उनले बताए ।-नयाँ पत्रीका

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]