२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

अधुरै रह्यो आमालाई सुख दिने भागरथीको सपना

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ माघ।छुट्टी हुनासाथै उनी झोला भिरेर हिँडिहाल्थिन् । अरु साथीहरू यताउता भुल्दा पनि यी किशोरी हतारमै हुन्थिन् । २१ माघमा पनि उनमा यो हतारो छँदै थियो । आमालाई घरमा सघाउनु छ भन्दै साथीहरूलाई समेत छोडेर भागरथी भट्ट अगाडि लम्केकी थिइन् ।

‘घरमा आमा एक्लै हुनुहन्छ । घर पुगेर कति धेरै काम गर्नु छ भन्थिन्,’ भागीरथी पढ्ने स्कुलकै विद्यार्थी तर्कराज भट्टले भने, ‘हामीले २ बजेतिर देखेका थियौँ । उनी सधैँ यसरी नै आमालाई सघाउन छिटोछिटो घर जान्थिन् । त्यस्तै सम्झियौँ ।’

कक्षा १२ मा पढ्ने १७ वर्षीया भागरथी यति हतार गरेर पनि समयमै घर त पुगिनन् नै कहिल्यै नफर्कने गरी बिदा भइन् । आमाको हरेक काममा सहयोगी थिइन्, भागरथी । जसरी हुन्छ आमालाई सुख र सजिलो होस् भन्ने उनको सोच थियो । ‘पढाइ सकाएर काम गर्छु र आमालाई सुखसाथ राख्छु भनेर भागरथी भन्थिन्,’ भागरथीका नातेदारसमेत रहेका स्थानीय सहदेव भट्ट सुनाउँछन् ।

यही सोचले प्रायः ठीक समयमै घरमा टुप्लुक्क देखिने भागिरथी त्यो दिन अबेरसम्म चालचुल भएन । ‘कहीँ कतै अलमलिने केटी होइन ऊ,’ गाउँमा पसल समेत चलाउने सहदेव भन्छन्, ‘त्यो दिन नआउँदा हामी अत्तालियौँ ।’ भागरथी एकाएक भोलिपल्ट अपरान्ह घर र स्कुलबीचमा पर्ने लवलेकको जंगलमा बीभत्स किसिमले हत्या गरिएको अवस्थामा भेटिइन् ।

उनकाे योनीमा घाउ, घाँटीमा नीलडाम छ । जंगलमा घाँस माडिएको डोब देखिएपछि खोजी गर्दा भागरथीको शव भेटिएको थियो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको लख प्रहरीले काटेको छ । ‘तर, चिकित्सकीय परीक्षणपछि मात्रै यसको पुष्टि हुनेछ,’ घटनास्थलमै रहेका सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी भन्छन्, ‘सोमबार बिहानसम्म रिपोर्ट दिने डाक्टरहरूले बताएका छन् ।’

चनाखो प्रहरी

कोरोना भाइरसको महामारीका कारणले बन्द विद्यालय झण्डै एक वर्षपछि खुलेको थियो, बैतडीमा । दोगडाकेदार गाउँपालिका–७ मा अवस्थित श्री सनातन धर्म माविले पनि पुसदेखि मात्रै विद्यालय खोलेको थियो । ११ को नतिजा आएपछि १२ को पढाइ सुरु गरेको विद्यालयका प्राचार्य बलदेव नाथले बताए ।

यो विद्यालयमा कमर्स र शिक्षा संकायमा ११ र १२ कक्षाको पढाइ हुन्छ । १२ कक्षामा कमर्स संकायमा पढ्ने २२ विद्यार्थी छन्, जसमध्ये १६ जना छात्र छन् भने छ जना छात्रा । छात्रामध्येकी एक थिइन्, भागरथी । चडेपानी गाउँबाट भागरथी कमर्सकी एक्ली छात्रा थिइन् । ‘पढाइ राम्रो थियो,’ प्राचार्य भट्ट भन्छन्, ‘मेहनत पनि खुब गर्थिन् । यो घटना हामीलाई त सपनाजस्तो लागिरहेको छ । यस्तो त कहिल्यै देखिएको थिएन ।’

हो, सपनाजस्तै । शान्त गाउँ अहिले शोकमा डुबेको छ । गाउँमा प्रहरीको टोली छपक्कै छ । प्रदेश, जिल्लादेखि प्रहरीको डप्फा दोगडाकेदार गाउँपालिका क्षेत्रमा छ । सुदूरपश्चिमकै अर्को जिल्ला कञ्चनपुरमा दुई वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्तो नलाग्दै सोही प्रकृतिको अर्को आपराधिक घटना हुन पुगेको हो ।

निर्मला हत्या प्रकरण सल्टाउन नसक्दा प्रहरीको क्षमता र छविमै प्रश्न उठिरहने गर्छ । सम्भवतः त्यस्तो गल्ती नदोहोरियोस् भनेर प्रहरी सजग भएको घटनास्थलमा प्रहरीको बाक्लो उपस्थितिले देखाउँछ । ‘घटनास्थलका सबै प्रमाण हामीले सुरक्षित रुपमा प्रयोगशालामा पठाएका छौँ,’ डीआईजी सुवेदी भन्छन्, ‘क्राइम सिन जति सुरक्षित भयो उति अपराध पत्तो लगाउन सहज हुन्छ । यसबाहेक प्राविधिक विश्लेषणबाट हामी अपराधीको पहिचान गरिरहेका छौँ ।’

आज्ञाकारी र मेहनती थिइन्

१० कक्षासम्म ७ वडामै रहेको भूमिराज माविबाट एसईई पास गरेकी हुन्, भागरथीले । विद्यालयका प्रधानाध्यापक प्रजापति भट्ट भागरथीलाई आज्ञाकारी विद्यार्थीका रूपमा सम्झन्छन् । ‘१० वर्ष यो विद्यालयमा बिताउँदा उनलाई सायदै शिक्षकहरूले गुनासो गरे,’ भट्ट भन्छन्, ‘सरल स्वभावकी । पढाइमा पनि सकेसम्म मेहनत गर्थिन् । असल थिइन् । यस्तो घटनाले हामी स्तब्ध छौँ ।’

भागरथीको परिवार सामान्य आर्थिक हैसियत भएकोमा पर्छ । खेती किसानीबाट गुजारा चलाउँथ्यो, परिवारले । सहदेव भट्टका अनुसार दुई महिनाअघि भागरथीले पितालाई चिनी रोगका कारण गुमाएकी थिइन् । त्यसपछि आमा द्रोपती र भागरथीले घरको काम धानिरहेका थिए । भागरथीका दाजु भने मजदुरीका लागि भारत बस्छन् ।

‘बहिनीलाई जसरी पनि पढाउँछु भनेर दाजु भारत गएको थियो,’ सहदेव भन्छन्, ‘अस्ति मात्र बाउको काजक्रिया सकाएर गएको । बहिनीलाई पढाउने उसको इच्छा थियो । अहिले विचरा ऊ बहिनीको मृत्युशोकमा पर्‍यो ।’

शोक त गाउँभरि छ । गाउँपालिकाले २३ गते सार्वजनिक छुट्टी दियो । अनुसन्धानमा दबाब दिन पीडित पक्षले तीन दिन शैक्षिक हड्तालसमेत आह्वान गरेको श्री सनातन धर्म माविका प्राचार्य बलदेव नाथले बताए । ‘विद्यार्थी आउन पनि डराइरहेका छन्,’ उनी भन्छन्, ‘गाउँमा धेरै टाढा-टाढाबाट विद्यार्थी हिँडेर आउनुपर्छ । यस्ता घटनाका दोषीलाई कारबाही भएन भने हामी सबैलाई डर हुन्छ ।’

यस्तो डर हुने अर्को कारण पनि छ । सिर्कोट बजारमा प्रहरी चौकी छ । भागरथी मारिएको ठाउँ प्रहरी चौकीबाट मुस्किलले ४ किलोमिटर टाढा पर्छ । चौकीमा सईको नेतृत्वमा १० जना प्रहरी खटिन्छन् । ‘प्रहरी कार्यालयनजिकै यस्तो घटना भएपछि हामी झन् बढी डराएका छौँ,’ नाथ भन्छन्, ‘जतिसक्दो चाँडो अपराधी पक्राउ परे ढुक्क हुने थियौँ । नत्र डरैडरमा बाँच्नुपर्ने भयो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]