२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

लामो समयदेखि प्रदेशसभा बैठक नबस्दा ‘प्रदेश परिवहन’ अलपत्र

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

कमलेश ठाकुर
जनकपुरधाम,८ चैत्र । लामो समयदेखि प्रदेशसभा बैठक नबस्दा प्रदेश सरकारले चलाउने प्रदेश परिवहन अलपत्र परेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले फागुनभित्रै प्रदेश परिवहन सञ्चालनमा ल्याउने दाबी गरे पनि प्रदेश सभा बैठक नबस्दा परिवहन अलपत्र परेको हो ।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले फागुन १ गते पत्रकार सम्मेलन गरी प्रदेश परिवहन सेवा सञ्चालनमा ल्याउने दाबी गरेका थिए । तर, प्रदेश सभाबाट कार्यविधि पारित हुन नसक्दा ढिलाई भइरहेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव रामअधार साहले बताए ।

‘मन्त्रालयले कार्यविधि बनाएर सदनमा पठाएको छ । प्रदेश सभामा कार्यविधिमा छलफल हुन्छ,’उनले भने, ‘छलफल गरी पास भएपछि कार्यविधि अनुसार परिवहन सेवा सञ्चालनमा आउँछ ।’

मन्त्रालयको तर्फबाट ढिलाई नभएको प्रष्ट गर्दै कार्यविधि पासभएपछि कर्मचारी भर्ना गरेर छिट्टै परिवहन सञ्चालन हुने उनको भनाइ छ ।

आम नागरिकलाई सहजताको लागि ल्याइएको बस सेवा प्रदेशको सबै जिल्ला सदरमुकाम भएर गुड्ने जनाइएको छ ।

मन्त्रालयले दीपावलीको अवसर पारेर पाँचवटा बस खरिद गरेको थियो । यद्यपि कार्यविधि अभाव तथा भुक्तानी हुन नसकेका कारण केही समय ढिलो भएको थियो ।

तर, अब प्रदेश सभा बैठक बस्न नसक्दा सञ्चालनमा ढिलाइ भइरहेको जनाइएको छ ।

सचिव साहका अनुसार बस सेवा सञ्चालनका लागि एउटा सञ्चालक समिति गठन गरिने छ । प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने उनले बताए ।

५० सिट क्षमता भएको सो बसमा सीसीटीभी क्यामेरा, स्वचालित ढोका र वाइफाईको सुविधा समेत रहने उनले दाबी गरे ।

दलहरूको किचलोका कारण ३ कात्तिक यता प्रदेशसभा बैठक बस्न सकेको छैन । प्रदेशसभा बैठक नबस्दा प्रदेशसभामा दर्ता भएका महत्त्वपूर्ण विधेयक अलपत्र परेका छन् ।

प्रदेश आवश्यक सेवा सञ्चालन, प्रदेश बालिका संरक्षण, खोप सेवा सञ्चालन र प्रदेश परिवहन सेवा सञ्चालन सम्बन्धी विधेयकहरू अलपत्र परेका हुन् ।

मुख्यमन्त्री र मन्त्रीहरूको व्यक्तिगत टकरावका कारण संसदीय दलको नेता छनोटमा समेत समस्या देखिएको छ ।

प्रदेशसभा बैठक नबोलाइएको भन्दै सत्तापक्षसँगै प्रतिपक्षी दलका सांसदहरूले समेत सरकारको आलोचना गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।