२९ बैशाख २०८२, मंगलबार
13-05-2025 , Tue
×

एक वर्षमा २०५ जङ्गली जनावरको मृत्यु

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

न्यूजमधेश डेस्क
नवलपुर ,७ श्रावण । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८\७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन १ देखि २०७९ असार ३२ सम्म मरेका जनावरमध्ये चित्तल प्रजातिका जनावर सबैभन्दा बढी रहेका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । तिवारीका अनुसार गत वर्ष ८६ वटा चित्तलको मृत्यु भएको छ । मृत्यु भएका चित्तलमध्ये कुकुरको आक्रमणबाट ५२, प्राकृतिक कारणबाट १५, तारजालीमा परेर १४, सडक दुर्घटनामा चार र एउटा चित्तलको मृत्युको कारण नखुलेको तिवारीले बताए।

त्यस्तै गत वर्ष ३७ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये ३३ वटा प्राकृतिक कारण, दुई वटा चोरी सिकारी, एउटा खाडलमा परेर तथा एउटा गैँडाको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीको भनाइ छ । त्यस्तै गत वर्ष अर्ना, जरायो र बँदेल १०\१० वटा मरेका छन् । दशवटै अर्ना, सातवटा जरायो र आठवटा बँदेल प्राकृतिक कारणबाट मरेका थिए । त्यस्तै एक\एकवटा जरायो र बँदेल तारजालीमा परेर, एउटा जरायो सडक दुर्घटना तथा एउटा जरायो कुकुरको टोकाइबाट मरेको थियो भने एउटा बँदेलको मृत्युको कारण खुलेको छैन ।

यसैगरी सोही वर्ष छवटा बाघ, पाँचवटा रतुवा, पाँचवटा लगुना, चारवटा घडियाल गोही, तीनवटा भुँडीफोर गरुड, तीनवटा निर बिरालो तथा तीनवटा मगर गोहीको मृत्यु भएको छ । अधिकांश जनावरको मृत्यु प्राकृतिक कारणबाट भएको भए पनि केहीको सडक दुर्घटना तथा केहीको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिए । त्यस्तै हात्ती, सर्प, अजिङ्गर, निलगाई, चखेवा तथा बाँदर दुई\दुईवटा मरेका तिवारीले बताए ।

निकुञ्जमा गत आवमा भालु, चितुवा, गिद्ध, मयुर, दुम्सी, पानी हाँस, गोहोरो, मलाहा बिरालो, गौरीगाई, कछुवा तथा बकुल्ला एक÷एकवटा मरेका छन् । गत वर्ष प्रकृतिक कारणबाट ११४ वटा, कुकुरको आक्रमणबाट ५९ वटा, तारजालीमा परेर १६ वटा, सडक दुर्घटनाबाट ११ वटा, चोरी सिकारीबाट दुईवटा, खाडलमा परेर एउटा जनावरको मृत्यु भएको छ भने १२ वटा जनावरको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष नै वन क्षेत्र र मध्यवर्ती क्षेत्रका विभिन्न स्थानबाट २२२ वटा जनावरको उद्धार गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार गत वर्ष १५४ वटा अजिङ्गर १४ वटा चित्तल, नौवटा मगर गोही, आठवटा कछुवा, सातवटा बाघ, तथा एउटा राज गोमन (किङ कोब्रा)सहित सातवटा सर्पको उद्धार गरिएको छ । त्यस्तै चारवटा लगुना, तीनवटा गैँडा, तीनवटा निरबिरालो, दुईवटा निलगाई, दुईवटा चिल र दुईवटा रतुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए ।

निकुञ्जले गत वर्ष नै एक–एक वटा चितुवाको बच्चा, गिद्ध, जरायो, लाटोकसेरो, भुँडीफोर गरुड, बँदेल र मयुरको उद्धार गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँचवटै जिल्लाको ७२९.३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]

काठमाडौँ, १२ भदौ । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा जोड दिनुभयो । सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने वचनबद्धता व्यक्त […]