२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

भोकमरीको चिन्ता

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,२० चैत्र । राजविराज नगरपालिका– ५ स्थित भित्री सडकमा पक्की घरका बीचमा एउटा पुरानो फुसको घर छ । निम्न वर्गका तीन÷चार जनाको परिवार डेरा लिइ बहालमा बस्ने सो घरमा अशोक सहनीको सानो एक कोठे डेरा छ । श्रीमती र पाँच छोराछोरीसँगै उहाँ त्यहाँ बस्नुहुन्छ । श्रीमतीले भने छोराछोरीको दिनभर हेरविचार गर्नुहुन्छ । अशोक साँझ बिहान मुखमा माड लगाउने बन्दोबस्तका लागि स्टिलको भाँडोमा चिया बोकेर घर बाहिर निस्कनुहुन्छ ।

बालबालिकाको औषधि उपचारदेखि राजविराज बजारको महँगो डेरा भाडा, बिहान बेलुकीको खाना सम्पूर्ण व्यवस्थापनको जिम्मा अशोककै काँधमा छ । उहाँको ‘लेमन टि’ राजविराजका पारखीका बीच लोकप्रिय भएकाले कमाइ पनि राम्रो छ । चियाको तलतल लागेपछि चियाका पारखी फोन गरेर सहनीलाई बोलाउँछन् ।

बिहान बेलुकी बजार घुमेर बिक्री गर्ने चिया सहनीको नियमित आम्दानीको स्रोत हो । बिहानदेखि बेलुकीसम्म साइकलमा चियाको भाँडो बोकेर चोकचोकमा ‘लेमन टि’ खुवाएपछि साँझ जम्मा भएको पैसाकै भरमा सहनी परिवारको गर्जो टर्दै आएको छ । तर अहिले कोरोना सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि र लकडाउनको अवधि थपिँदै गएपछि उहाँको पेशामा प्रत्यक्ष प्रभाव परेको छ । लकडाउनले उहाँको कमाइ खोसिएको छ । कमाइ खोसिएसँगै भोको पेट भर्ने उपाय पनि सकिएको छ । सरकारले लकडाउनको घोषणा गरेको १० दिन बित्यो ।

सहनीले बिहानदेखि साँझसम्म टण्टलापुर घाममा छाला डढाएर कमाएको पैसा पनि सकिएको चार दिन बितेको छ । चियाका पारखी साहित्यकार सागरवीर कडारीले सहयोगस्वरुप दिनु भएको पाँच÷पाँच किलोको पिठो र भुजा (मुरही) पनि सकिन लागेको छ । छोराछोरीको गाँस पु¥याउन सहनी दम्पतीको भोजन भुजा (मुरही) मा झरेको छ । प्रत्येक साँझ उहाँहरुले नून, खोर्सानीसँग भुजा खाएर पेटभरि पानी पिउने र भोक मेटाउने गरेको बताउनुभयो ।

पहिले काम गर्दा हुने कमाइबाट साँझ र बिहान राम्रैसँग भात खान पुग्थ्यो । आफ्नो बाध्यता सुनाउँदै सहनीले भन्नुभयो, “आज कमायो, आजलाई ठिक्क हुने हामीजस्ता गरिब त भोकै मरिन्छ होला ।” श्रीमान्को कमाइ नहुँदा चन्द्रकलालाई ठूलो चिन्ता छ । “घर जाऔँ कसरी जाने, बाटो बन्द छ, यही बसौँ साँझ, बिहान के खाने, असाध्यै समस्यामा पर्न थालियो”, चन्द्रकला भन्नुहुन्छ, “कहिले कसले के ल्याइदेला र त्यसैबाट टार्ने भनेर आशा गर्नुबाहेक उपाय रहेन, सहयोग गर्नेले पनि एक÷दुई दिन पो हेर्छन्, सधैँ कसले कसलाई हेर्न सक्छन् ।”

यति लामो ‘लकडाउन’ होला भनेर कल्पना नै थिएन सहनी उहाँलाई । बन्द, हड्तालमा पनि बिहान, बेलुका साइकलमा घुमाउँदै चिया बिक्री गर्न रोकटोक नहुने भएकाले सहनीलाई यो पेशा अंगालेर ठिक निर्णय गरे जस्तो लागेको थियो । तर अहिलेको लकडाउनमा तरकारी, फलफूल, दुध, किरानाका पसल खुलेका हुन्छन् । उहाँको चिया बन्द छ । अब कति दिन लकडाउन लाग्छ, कहिलेसम्म लाग्छ ? त्यसको कुनै टुङ्गो छैन । “कहिलेसम्म काम नगरेर घरभित्रै बन्दी बन्नुपर्ने हो, बाहिर निस्कौँ महामारीको डर छ, भित्रै बसौँ भोकमरीले लैजाला जस्तो छ, छोराछोरीको भोको पेट र अँध्यारो अनुहार हेरेर घरभित्र बस्न पनि गाह्रो छ”, सहनीले पीडा सुनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]