१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० कार्तिक  ।बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ ।धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ ।

मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरूपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने चलन रहेको छ । यस अवसरमा गाउँघरमा भगवती दुर्गाको माटोको प्रतिमा बनाएर श्रद्धापूर्वक पूजापाठ गरी मेला लगाइने गरिन्छ ।

भगवती दुर्गा नौ दिनसम्म माइती आउने र दशमीका दिन विदा भई ससुराली जाने गर्छिन् भन्ने मान्यता मिथिला, बङ्गाल र आसाममामा रहेको पाइन्छ । यसकारण माटोको दुर्गाको प्रतिमा बनाई पूजा गरिने स्थानमा दुबो, धान, सुपारी र बेसारले खोइँछ भरेर यात्राका दिन भगवती दुर्गालाई विदाइ (विसर्जन) गरिने चलन रहेको छ ।

मिथिला क्षेत्र तन्त्र, मन्त्र, टुनामुना, साधना आदिका लागि पनि विख्यात रहेको छ । यस शारदीय नवरात्रको अवधिमा तन्त्र, मन्त्र, टुनामुना र साधनाका क्षेत्रमा उन्मुख हुन चाहने जिज्ञासुका लागि प्रशस्त मानिन्छ । मैथिली भाषामा यस विद्यालाई गुनमन्तर सीखब (मन्त्र सिक्ने) भनिन्छ ।

यस्तै अकाल मत्यु भएका तथा मोक्ष प्राप्ति गरिनसकेका आत्माहरू डुलिरहने तथा तिनीहरूले समाजमा दुःख दिन मान्यता रहेअनुसार तिनीहरूको प्रकोपबाट रक्षाका लागि ढोल बजाइने परम्परा पनि रहेको छ । यसरी ढोल बजाइनुलाई डगहर देव भनिन्छ । यसबाट दुष्टात्माको प्रकोप समाजमा नपर्ने मान्यता रहेको पाइन्छ ।

दशमीका दिन दशओटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभ कार्य गर्न प्रशस्त मानिन्छ । यस दिन जुनसुकै दिशातर्फ यात्रा गर्दा मुहूर्त विचार गरिरहनु नपर्ने भनिन्छ ।

यात्राका दिन भगवतीको प्रसादस्वरूप जयन्ती धारण गर्ने तथा पुरोहितले यजमानलाई जयन्ती लगाएर आशीर्वाद प्रदान गर्ने प्रचलन रहेको छ । यस दिन नीलकण्ठ चराको दर्शन शुभ मानिन्छ । यसका लागि नीलकण्ठ चराको गुँड रहेको रूखलाई पहिले नै ठम्याएर राखिने गरिन्छ । यात्राका दिन आस्थावानहरू कागज, कलम लिएर नीलकण्ठ चरालाई उडाएर दर्शन गरी त्यस स्थानमा केही श्लोक कागजमा लेख्ने परम्परा पनि रहेको छ ।

यस्तै भगवान् रामले दुर्गा भगवतीको आराधना गरी दशमीकै दिन रावण बध गर्न सफल भएकाले यस दिनलाई विजया दशमी पनि भनिएको मान्यताअनुसार प्रतीकात्मक रावण बध गर्ने चलन रहेको छ ।रासस 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]