२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

दुर्गा देवकोटा
टीकापुर, २० फागुन । विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ ।

मोती माविकी छात्रा मुना जिसी आफूलगायत साथीहरुलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको बताउनुहुन्छ । “महिनावारीको समयमा केही साथीलाई पेट दुख्ने समस्या हुन्छ, कसैलाई स्यानिटरी प्याड चाहिएको हुन्छ, विद्यालयमै प्याड पाइन्छ तर साथीहरु शिक्षकसँग माग्न सक्नुहुन्न”, छात्रा जिसीले भन्नुभयो, “कक्षाकै एकजना छात्रालाई प्याड वितरणको जिम्मा दिएको भए साथीहरुले माग्न सक्थे । शिक्षक तथा शिक्षिकासँग म महिनावारी भएँ, मलाई प्याड दिनुस् भन्न सकिँदैन ।” छात्रा आशिका महतो किशोरीमा महिनावारी मात्रै नभएर अन्य खालका समस्या पनि हुने गरेकाले खुलेर समस्या भन्ने वातावरण नभएको बताउनुहुन्छ । “किशोरावस्थामा अन्य शारीरिक परिवर्तन, मानसिक तनाव हुन्छ”, आशिकाले भन्नुभयो, “कुनै साथीलाई महिनावारीको समयमा दुखाइ हुन्छ, यस्तो बेला विद्यालयमा आराम कक्ष भएको भए राम्रो हुन्थ्यो । कोही साथी घरबाटै तनाव बोकेर आउँछन् । उनीहरुका लागि विद्यालयको वातावरण रमाइलो हुन आवश्यक छ ।”

किशोरी सामुदायिक विद्यालयमा छोरीको सङ्ख्या धेरै हुने भएकाले भएका शौचालय पनि किशोरीका लागि पर्याप्त नभएको बताउँछन् । कक्षा ९ मा अध्ययनरत किशोरी सुष्मा विक एकैपटक शौचालयमा चार÷पाँच जना छिनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “शौचालयमा पानी छ तर छोरीहरुका लागि केही मात्र शौचालय छन् । हामी ६०० छोरी छौँ, अनि शौचालय सफा होला त रु”, सुष्माले भन्नुभयो, “महिनावारीको समयमा यी शौचालय प्रयोग गर्न कठिन हुन्छ । महिनावारीको समयमा प्याड व्यवस्थापन कहाँ गर्ने रु पोको पारेर घर ल्याएर फाल्नुपर्ने बाध्यता छ ।” यद्यपि शिक्षिका भने छोरीहरुले आफूलाई समस्या खुलेरै बताए सहयोग गर्ने गरेको बताउँछन् । महिनावारी वा अन्य समस्या भए खुलरै आउन शिक्षिका बेवना केसी आग्रह गर्नुहुन्छ । “हामी महिला भएकाले छोरीहरुका समस्या कस्ता हुन्छन् भन्ने ज्ञान छ । उनीहरुलाई हरेक कक्षामा समस्या खुलेर भन्न भन्छौँ”, शिक्षिका केसीले भन्नुभयो, “भएका सुविधा दिन, उनीहरुका कुरा सुन्ने, उनीहरुका मनमा गलत कुरा नखेलुन् भनी सचेत छौँ ।”

शिक्षिका पद्मा बम आफूले किशोरीसँग साथीजस्तै व्यवहार गर्ने गरेको बताउनुहुन्छ । “उनीहरुका लागि आराम कक्ष, खाजा खाने छुट्टै ठाउँ आवश्यक छ । सामुदायिक विद्यालयमा धेरै सुविधा छैनन्”, उहाँ भन्नुहुन्छ, “छोरीहरुलाई महिनावारीको समयमा साइकल चलाएर विद्यालय आउन कठिन हुन्छ । कसैलाई रगत बढी बगेर कक्षामा बस्नै गाह्रो हुन्छ । उनीहरुका यस्ता समस्या समाधानका लागि अभिभावकसँग पनि छलफल गर्ने गरेकी छु ।” शिक्षिका माया पोखरेल आफूले किशोरीका समस्या बुझेर किशोरीसँग सम्बन्धित क्रियाकलापमा कक्षा लिने गरेको बताउनुभयो । “महिनावारीमा सरसफाइ, यौनजन्य हिंसा, बलात्कार, बालविवाहबारे जनचेतना जगाउने काम गरिरहेकी छु”, पोखरेलले भन्नुभयो, “किशोरावस्थामा हुने गलत विचार, गलत बाटोबाट छोरीहरुलाई जोगाउन पनि यस्ता क्रियाकलाप आवश्यक छन् ।”

विद्यालयलाई छात्रामैत्री बनाउन आफूले पहल गर्ने मोती मावि मोतीनगर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरी बताउनुहुन्छ । “छोरा वा छोरी दुवैका लागि वातावरण सहज हुनुपर्छ । हामी सहज वातावरण बनाउन क्रियाशील छौँ”, अध्यक्ष गिरीले भन्नुभयो, “अब छोरीहरुका समस्याबारे विद्यालयमा नियमित छलफल गर्नेछौँ । हामी विद्यालयमा स्वास्थ्य सचेतनाका लागि पनि गाउँपालिकासँग पहल गर्छौँ ।”

नेपालको संविधानको धारा ३८ मा रहेको महिलाको हकअन्तर्गत उपधारा ९५० मा ‘महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । संविधानमा भनेजस्तै शिक्षा आर्जन गर्न छोरीहरुका लागि विद्यालयमा हुनुपर्ने सुविधा भने पुगेको छैन । छोरीहरुको सिकाइ उपलब्धि बढाउन छोरीहरुका लागि छोरीमैत्री वातावरण हुनुपर्छ । कैलालीका अधिकांश विद्यालय किशोरीमैत्री बन्न सकेको देखिँदैन । जानकी गाउँपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख धर्मानन्द कपाडी छोरीहरुका लागि विद्यालयमा पर्याप्त सुविधा दिन नसकेको बताउनुहुन्छ ।

“पालिकासँग बजेट अभावका कारण हामीले शौचालय, स्यानिटरी प्याडबाहेक अन्य सुविधा दिन नसकेको अवस्था छ । आउँदा दिनमा सबै विद्यालय किशोरीमैत्री बनाउने अभियानमा छौँ”, उहाँ भन्नुहुन्छ, “शिक्षा पाउनु सबैको अधिकार हो । पढाइका लागि विद्यालयको वातावरण सबैका लागि सजिलो हुन आवश्यक छ । अझ छोरीहरुका लागि थप सुविधा आवश्यक पर्छ । छोरीका लागि घर र विद्यालय दुवै ठाउँमा विशेष वातावरण चाहिन्छ भन्ने कुरामा हामी गम्भीर छौँ । हरेक विद्यालयमा जनचेतना जगाउने खालका कार्यक्रम गर्ने तयारी छ ।”

कैलालीको टीकापुर नगरपालिकाले भने छोरीहरुका समस्या समाधानका लागि सामुदायिक विद्यालयमा साथी शिक्षा कार्यक्रम लागू गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा एक पुरुष, एक महिला शिक्षक, एक छात्र र एक छात्रालाई साथी शिक्षकको तालीम दिएर परिचालन गरेको छ । उनीहरुले विद्यालयमा किशोरावस्थाका समस्या समाधानका लागि छलफल चलाउने, सम्झाउने लगायतका काम गर्ने गरेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले बताउनुभयो ।

“हामीले स्वास्थ्य संस्थालाई पनि किशोरकिशोरी मैत्री बनाएका छौँ । हरेक स्वास्थ्य संस्थामा महिलाका लागि महिला र पुरुषका लागि पुरुष स्वास्थ्यकर्मीको व्यवस्था छ”, संयोजक रावलले भन्नुभयो, “किशोरावस्थामा आएका परिवर्तन र स्वास्थ्य समस्या उनीहरुले खुलेर भनुन् र उपचार सेवा लिउन् भन्ने उद्देश्य हो । यो सेवा हरेक साताको शुक्रबार १ बजेदेखि ३ बजेसम्म दिइन्छ ।”

नगरपालिकाले साथी शिक्षक तथा शिक्षिकालाई समस्या भएकालाई उपचारमा ल्याउन, मनो समस्या भएकालाई मनोसामाजिक परामर्शदातासम्म पुर्याउने काम पनि गर्ने गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

जनकपुरधाम । धनुषाको एक विद्यालयले आफ्ना भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। जिल्लाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आयोजना एक कार्यक्रमबिच बिहिवार भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोइत यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको प्रमुख चेत कुमार पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको […]

काठमाडौँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् । मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरूसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् । उनले […]