०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

तराई मधेशमा जुडशीतल मनाइँदै

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ बैशाख । तराई मधेशमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई तराई मधेशमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।

तराई मधेशमा मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ । जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।

यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस क्रममा एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ । यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिँदैन ।

त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोढा, सवारी साधनमाथि पानी जुराउने गरिन्छ । त्यस्तै यस पर्वमा गाउँका इनार तथा कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ । जीउभरि हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पङ्क स्नानको महत्व रहेको छ । ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पङ्क स्नानको प्रथा शुरू भएको बताइन्छ ।

जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वका बारेमा भनिन्छ– एक सालको खाना अर्को सालमा खानुपर्छ । त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ । यस पर्वमा तरुवा, बरी ९बेसनको व्यञ्जन० दही विशेष प्रकारले खाइन्छ ।
जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ । त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ । चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिदिने गरिन्छ । यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिने परम्परा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]